पेरिसको सङ्ग्रहालयबाट ८ मिनेटमा ८८ मिलियन युरोका गहना चोरी
प्रकाशित मिति : कार्तिक ४, २०८२ मंगलबार
फ्रान्सको पेरिसस्थित लूव्र सङ्ग्रहालयबाट ८८ मिलियन युरोका गहना चोरी भएका छन् । राजधानी पेरिसमा रहेको विश्वप्रसिद्ध लूव्र सङ्ग्रहालयबाट ८८ मिलियन युरो मूल्यका गहना चोरी भएको पुष्टि भएको हो ।
फ्रान्सका सार्वजनिक अभियोजक लोर बेकुआउका अनुसार चोरी भएका गहनाको मूल्यभन्दा पनि फ्रान्सको ऐतिहासिक सम्पदामा परेको क्षति अझ गम्भीर रहेको छ । चोरी गरिएका वस्तुहरूमा ती दुई नेपोलियनले आफ्ना पत्नीहरूलाई दिएका गहना र क्राउन ज्वेल्स (राजमुकुटमा जडित रत्नहरू) समेत रहेका छन्।
‘पावर टुल्स’ बोकेका चारजना नकाबधारीहरूले आठ मिनेटभन्दा कम समयमा चोरी गरेका थिए । यो घटना सङ्ग्रहालय खुलेको केही क्षणमै भएको हो । चोरहरूले ‘रिभर सेन’ नजिकको बालकनीबाट ‘ग्यालेरी अफ अपोलो’ मा प्रवेश गरेका थिए।
दुईजनाले ब्याट्रीबाट चल्ने डिस्क कटर प्रयोग गरी पहिलो तल्लाको सिसाको झ्याल काटेर सङ्ग्रहालयभित्र प्रवेश गरेका थिए । त्यसपछि उनीहरूले सुरक्षा गार्डहरूलाई धम्क्याएर भवन खाली गर्न बाध्य पारेको देखिएको छ । चोरहरूले प्रयोग गरेको ट्रकमा मेकानिकल लिफ्ट थियो, जसको सहायताले उनीहरूले ग्यालेरीमा प्रवेश गरेका थिए ।
भाग्ने क्रममा उनीहरूले ट्रकमा आगो लगाउने प्रयास गरे तर सङ्ग्रहालयका एक कर्मचारीले त्यो रोक्न सफल भए । त्यसपछि चोरहरू स्कूटरमा भागेका थिए । सम्राट नेपोलियनले आफ्नी पत्नीलाई दिएको हीरा र पन्नाको हार, सम्राज्ञी यूजेनीले लगाउने टियारा (मुकुट) र रानी मेरी अमेलियाका गहना चोरी भएका हुन् ।
अनुसन्धानकर्ताहरूले भाग्ने क्रममा चोरहरूले छोडेको क्षतिग्रस्त मुकुट फेला पारेका छन्, जुन सम्राज्ञी यूजेनीकै भएको बताइन्छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंले यस घटनालाई “फ्रान्सको सांस्कृतिक सम्पदामाथिको हमला” भनेका छन् ।
यसपछि देशका अन्य सांस्कृतिक संस्थाहरूमा सुरक्षा कडाइ गरिएको छ । प्रारम्भिक रिपोर्टअनुसार, लूव्र सङ्ग्रहालयका तीनमध्ये एक कोठामा सीसीटीभी थिएन र मुख्य अलार्म प्रणाली पनि सक्रिय हुन नसकेको देखिएको छ । फ्रान्सका न्याय मन्त्री जेराल्ड डार्मानिनले सुरक्षा प्रणाली “असफल भएको” भन्दै दुःख प्रकट गरेका छन्।
उनका अनुसार, “चोरहरूले ट्रक चलाएर सङ्ग्रहालयको ढोका नजिक पुऱ्याउन सक्नु नै फ्रान्सको लागि एक भयावह अवस्था हो।” अनुसन्धानकर्ताहरूले यो चोरी अत्यन्तै छिटो, योजनाबद्ध र सङ्गठित देखिएका कारण पेशेवर गिरोहले गरेको अनुमान गरेका छन् ।








