बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय माग


प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ। गत वर्षको विद्यार्थी आन्दोलनमा करिब १,४०० जनाको मृत्यु भएको भन्दै अभियोजकहरूले उनीविरुद्ध मृत्युदण्डको माग गरेका हुन्।

उनीमाथि उक्त आन्दोलनको घातक दमनका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ। हसिना हाल भारतमा शरणमा छिन्। ढाकामा उनको अनुपस्थितिमा नै मुद्दा चलिरहेको छ।

एउटा अडियो क्लिपमा उनले सुरक्षा बललाई आन्दोलनकारीमाथि “घातक हतियार प्रयोग गर्न” आदेश दिएको दाबी गरिएको छ, तर हसिनाले भने यी सबै आरोप अस्वीकार गरेकी छिन्। गत वर्षको आन्दोलनका क्रममा झन्डै १,४०० जनाको मृत्यु भएको अनुमान गरिएको छ।

यसलाई बङ्गलादेशको १९७१ को स्वतन्त्रता युद्धपछिको सबैभन्दा भीषण हिंसा मानिएको छ।मुख्य अभियोजक ताजुल इस्लामले हसिनाले १,४०० को हत्या गरेर मृत्युदण्ड पाउन योग्य अपराध गरेको बताएका छन्।

विद्यार्थी आन्दोलन सन् २०२४ को जुलाईमा सुरु भएको थियो। १९७१ को युद्धका सहभागीका सन्तानलाई सरकारी नोकरीमा कोटा दिने नीतिको विरोधबाट आन्दोलनको सुरुवात भएको थियो।

पछि यो आन्दोलन शेख हसिनाको पतनको मागसहितको जनआन्दोलनमा रूपान्तरण भयो । त्यसपछि हसिनाले हेलिकप्टरमार्फत देश छाडेकी थिइन्।हसिनालाई यसअघि नै न्यायालयको अपमान गरेको आरोपमा छ (६) महिनाको जेल सजाय सुनाइसकिएको छ।

उनी भ्रष्टाचारका छुट्टाछुट्टै मुद्दाहरूमा पनि अभियुक्त छिन्। बङ्गलादेशको आगामी आम निर्वाचन २०२५ को फेब्रुअरीमा हुने तय छ। हसिनाको प्रमुख प्रतिद्वन्द्वी बङ्गलादेश नेशनल पार्टी अग्रस्थानमा देखिएको छ।

हसिनाको दल आवामी लिगलाई हाल सबै राजनीतिक गतिविधि र निर्वाचनमा सहभागी हुन प्रतिबन्धित गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com