चीनमा जायन चर्चका संस्थापकसहित ३० जना ख्रिष्टियनहरू पक्राउ
प्रकाशित मिति : आश्विन २८, २०८२ बुधबार
तस्बिर : ल्यूक थोर्नटन/अनस्प्ल्यास
जायन चर्चका संस्थापक पादरी जिन मिङ्रीलाई चीनमा पक्राउ गरिएको छ ।
दक्षिणी सहर सञ्जेनमा एक पादरी पक्राउ परेपछि प्रसिद्ध जायन चर्चका संस्थापक पादरी जिन मिङ्री समेत पक्राउ परेको अधिकारीहरूले बताएका छन् । यो पक्राउलाई चीनमा पछिल्ला दशकहरूमा ख्रिष्टियनहरूमाथि भएको सबैभन्दा ठूलो धरपकड भनिएको छ ।
अधिकारकर्मीहरूका अनुसार गत साता चीनका कम्तीमा १० सहरहरूबाट ३० जना ख्रिष्टियनहरूलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा बेइजिङ र साङ्घाई जस्ता सहरका समेत रहेका छन् । प्रहरीले जायन चर्च नेटवर्कसँग सम्बन्धित करिब ३० जना ख्रिष्टियनहरूलाई पक्राउ गरेको बताएको छ ।
पादरी जिनलाई गुआङ्सी प्रान्तको बेइहाई सहरबाट पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेकाहरूमाथि “सूचना सञ्जालको अवैध प्रयोग” गरेको आरोप लगाइएको छ ।
ख्रिष्टियन अधिकार समूह ल्यूक अलायन्सका संस्थापक कोरी ज्याक्सनले यो पक्राउ अभूतपूर्व रहेको बताएका छन् । उनले यो दमन अभियानको सुरुआत हुनसक्ने अनुमान गरेका छन् ।
अमेरिकास्थित जायन चर्चका प्रवक्ता पादरी सीन लङले ‘जायन’लाई उखेल्ने उद्देश्यले गरिएको योजनाबद्ध धरपकड भएको बताए ।
चिनियाँ नागरिकहरूले कानुनअनुसार धर्म मान्ने स्वतन्त्रता पाएका बताउँदै चीनले तर सबै धार्मिक समूह र गतिविधिहरू चीनका कानुन र नियमअनुसार हुनुपर्ने बताएको छ ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले धरपकडको निन्दा गरेका थिए ।
पादरी जिन मिङ्री सन् १९६९ मा हेलोङजियाङ प्रान्तमा जन्मिएका थिए । १९८९ मा बीजिङ विश्वविद्यालयमा अध्ययनरत रहँदा उनी लोकतान्त्रिक आन्दोलनमा सहभागी भएका थिए, जो पछि तियानमेन हत्याकाण्डको रूपमा परिचित छ ।
सरकारद्वारा अनुमोदित थ्री–सेल्फ चर्चको नीतिसँग असहमत भई उनले स्वतन्त्र जायोन चर्च स्थापना गरे । सुरुमा करिब २० सदस्यबाट सुरु भएको चर्च पछि हजारौँ अनुयायीसहित ४० सहरमा फैलिएको छ ।
सन् २०१८ मा सरकारले चर्चमा सीसीटीभी क्यामेरा जडान गर्न माग गरेको थियो । तर चर्चले यसलाई अस्वीकार गरेपछि जायोन चर्च बन्द गरिएको थियो ।
चीनले आधिकारिक रूपमा करिब ३८ मिलियन प्रोटेस्ट्यान्ट र ६ मिलियन क्याथोलिक रहेको बताउँदै आएको छ ।
तर अधिकारकर्मीहरूका अनुसार, यीभन्दा धेरै चिनियाँहरू अनधिकृत भूमिगत चर्चहरूमा सहभागी हुने गरेका छन् ।








