अमेरिकाको टेक्सासमा मजाक गर्ने क्रममा बालकमाथि गोली प्रहार
प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार
अमेरिकाको टेक्सासमा मजाक गर्ने क्रममा गोली लागेर एक बालक गम्भीर घाइते भएका छन् । छिमेकीको ढोका ढकढक्याउने प्र्याङ्क (मजाक) गर्ने क्रममा गोली लागेर १० वर्षीय बालक गम्भीर रूपमा घाइते भएका हुन् ।
ह्युस्टन प्रहरी विभागका अनुसार ह्युस्टनको दक्षिण-पूर्वी भागमा रहेको मेम्ब्रो स्ट्रिटमा यो घटना भएको हो । प्रहरीले बताएअनुसार, १० वर्षका बालक आफ्ना साथीहरूसँगै प्र्याङ्क गरिरहेका थिए, त्यस क्रममा कसैले गोली चलाएको हो । घटनास्थलबाट एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
बालकलाई ह्युस्टन फायर डिपार्टमेन्टले घटनास्थलमै प्राथमिक उपचार गरी नजिकैको अस्पताल पुर्याएको थियो । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसबारे प्रहरी अनुसन्धान जारी रहे पनि थप विवरण भने सार्वजनिक गरिएको छैन ।
यो घटना अहिले अमेरिकाभर फैलिएको “डोर किकिङ च्यालेन्ज” नामक ट्रेन्डसँग जोडिएको देखिन्छ । यो पुरानो प्र्याङ्क “डिङ डङ डिट्च” बाट विकसित भएको हो, जसमा बालबालिकाले घर वा अपार्टमेन्टको ढोका ढकढक्याएर वा लात हानेर भाग्छन् र त्यसको भिडियो बनाएर टिकटकजस्ता सामाजिक सञ्जालमा राख्छन् ।
जुलाईमा, टेक्सासको फ्रिस्कोमा पनि ५८ वर्षीय एक घरधनीले ढोका ढकढक्याएको भन्दै गोली चलाएपछि पक्राउ परेका थिए । उनले भाग्दै गरेको गाडीमा गोली हानेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।
यसैगरी, एरिजोनाको च्यान्डलरमा प्रहरीले जुन महिनामा सार्वजनिक गरेको एक भिडियोमा किशोरहरूको समूहले एउटै घरमा कम्तीमा १८ पटक “डोर किकिङ च्यालेन्ज” गरेको देखाइएको थियो ।
यसबाट घरधनी नै घर छोडेर बसाइँ सरेका थिए । टेक्सासको फोर्ट वर्थमा पनि प्रहरीले २० भन्दा बढी गुनासो पाएपछि मे महिनामा अभिभावकलाई आफ्ना सन्तान कहाँ छन् र के गर्दैछन् भन्नेमा ध्यान दिन आग्रह गर्दै चेतावनी जारी गरेको थियो ।








