इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मृत्यु, मन्त्रीहरू पनि मारिए
प्रकाशित मिति : भाद्र १३, २०८२ शनिबार
इजरायली आक्रमणमा परेर यमनको हुथी-नियन्त्रित सरकारका प्रधानमन्त्री अहमद गालिब अल-राह्वीको मृत्यु भएको छ।
हुथी सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मसातले प्रधानमन्त्रीसहित धेरै मन्त्रीहरू मारिएको पुष्टि गरेका छन्। यमनका वरिष्ठ अधिकारीहरू इजरायली हवाई आक्रमणमा मारिएको यो पहिलो घटना हो।
इजरायलले इरान-समर्थित हुथी समूहका चिफ अफ स्टाफ र रक्षामन्त्रीसहितका वरिष्ठ अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ।
राहवी र अन्य वरिष्ठ हुथी अधिकारीहरू “निशाना” बनाइएको दाबी गर्दै सानाको क्षेत्रमा भएको एक जमघटमा लडाकु विमानहरूले आक्रमण गरेको इजरायली सेनाले बताएको छ ।
हुथीहरूले राहवीसँगै अन्य केही मन्त्रीहरू पनि मारिएको बताएका छन्, तर उनीहरूको नाम सार्वजनिक गरेका छैनन्।
प्रधानमन्त्री अल-राह्वीलाई एक वर्षअघि मात्रै नियुक्त गरिएको थियो। तर, उनी हुथी नेतृत्वको आन्तरिक घेरामा नपर्ने केवल औपचारिक पदाधिकारी मानिन्थे।
उनको वास्तविक शक्ति भने उनका डेपुटी मोहम्मद मिफ्ताहसँग रहेको थियो, जसलाई अहिले प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
राह्वी यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेहका सहयोगी थिए, तर उनले पछि हुथीहरूसँग हातेमालो गरेका थिए।
सन् २०१४ मा सुरु भएको दशक लामो गृहयुद्धपछि यमन सानास्थित हुथी प्रशासन र अदनस्थित साउदी-समर्थित सरकारबीच विभाजित छ।
अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि हुथीहरूले प्यालेस्तिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै रेड सीमा जहाजहरूलाई बारम्बार आक्रमण गर्दै आएका छन्।
उनीहरूले इजरायलतर्फ मिसाइल प्रहार गर्ने गरेका छन्, जसको जवाफमा इजरायलले हुथी नियन्त्रित क्षेत्रहरूमा आक्रमण गर्दै आएको छ।
प्रधानमन्त्रीको मृत्यु पुष्टि भएपछि रक्षामन्त्री मोहम्मद अल-आतिफीले इजरायलको सामना गर्न तयार रहेको चेतावनी दिएका छन्। उनी हुथीहरूको मिसाइल ब्रिगेड समूहका प्रमुख र उनीहरूका प्रमुख मिसाइल विशेषज्ञ मानिन्छन्।
इजरायली सुरक्षा स्रोतहरूका अनुसार आक्रमणका बेला हुथी नेताहरू अब्दुल मलिक अल-हुथीको टेलिभिजन सम्बोधन हेर्नका लागि विभिन्न स्थानहरूमा भेला भएका थिए।








