युक्रेनको सहभागिता सुनिश्चित गर्न युरोपेली मुलुकहरूको ट्रम्पसँग आग्रह
प्रकाशित मिति : श्रावण २४, २०८२ शनिबार
फोटो : एएफपी/रासस
युरोपेली मुलुकहरूले रूससँग हुने कुनै पनि शान्ति वार्तामा युक्रेनको सहभागिता अनिवार्य हुनुपर्ने स्पष्ट पारेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको तयारी गरिरहेको बेला यो धारणा सार्वजनिक भएको हो।
बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्यान्ड, फिनल्यान्ड र युरोपियन आयोगका नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “युक्रेनमा शान्तिको बाटो युक्रेन बिना तय गर्न सकिँदैन।” यसले युक्रेनलाई वार्ताबाट बाहिर राख्ने कुनै पनि प्रयासको विरोध गरेको देखिन्छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युक्रेनको सहभागिता बिना गरिने कुनै पनि सहमतिहरू “मृत निर्णय” हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार, ट्रम्प पुटिन र जेलेन्स्की दुवैसँग त्रिपक्षीय बैठक गर्न इच्छुक छन्। तर, हालका लागि रूसी नेताको अनुरोधअनुसार वार्ता ट्रम्प र पुटिनबीच मात्रै हुने तय भएको छ।
ट्रम्पले यसअघि नै पुटिनसँग मात्र भेट गर्ने संकेत दिए पनि “हामीसँग दुवैलाई एउटै टेबलमा ल्याउने सम्भावना छ” भन्दै त्रिपक्षीय बैठकको आशा पनि व्यक्त गरेका थिए।
यद्यपि, पुटिन यसमा सहमत हुने-नहुने अझै स्पष्ट छैन। रूसी र युक्रेनी नेताहरूले पछिल्लो पटक तीन वर्षअघि भेट गरेका थिए।
ह्वाइट हाउस युरोपेली सहयोगीहरूलाई पूर्वी युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र र क्राइमिया प्रायद्वीप रूसको नियन्त्रणमा राख्ने प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको छ।
तर, युक्रेन र युरोपेली शक्तिहरूले भने छुट्टै खाका प्रस्तुत गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार, युरोपको योजनामा भूभागको साटासाट केवल परस्पर सहमतिमा मात्रै हुने शर्त राखिएको छ।
युरोपले रूसमाथि कडा रुख अपनाउँदै प्रतिबन्ध र युक्रेनलाई सैन्य सहयोग दिँदै आएको छ।
अलास्का बैठक सन् २०२१ को जेनेभा बैठकपछि अमेरिकी र रूसी राष्ट्रपतिबीचको पहिलो प्रत्यक्ष भेट हुनेछ। ऐतिहासिक रूपमा, रूसले १८६७ मा अमेरिकालाई अलास्का बेचेको थियो।








