अमेरिकाको एट्लान्टामा गोली हानेर प्रहरी अधिकृतको हत्या
प्रकाशित मिति : श्रावण २४, २०८२ शनिबार
अमेरिकाको जर्जिया राज्यको एट्लान्टा सहरमा एक प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ।
एट्लान्टास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को मुख्यालय र एमोरी विश्वविद्यालयको परिसर नजिकै भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीको मृत्यु भएको हो।
एट्लान्टा प्रहरी विभागका अनुसार, घटनामा संलग्न संदिग्ध व्यक्तिलाई पछि गोली लागेको अवस्थामा मृत फेला पारिएको थियो। प्रहरीले ती व्यक्तिले प्रहरी अधिकारीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ। प्रहरीका अनुसार कुनै पनि सर्वसाधारण गोली लागेर घाइते भएका छैनन्।
मृत्यु हुने प्रहरी डे-काल्ब काउन्टीका अधिकारी डेभिड रोज हुन्। उनलाई गोली लागेपछि अस्पताल पुर्याइएको थियो, तर उपचारका क्रममा उनको निधन भयो। डे-काल्ब काउन्टी प्रहरी विभागले विज्ञप्ति जारी गर्दै रोजको साहस, इमानदारी र कर्तव्यनिष्ठाको प्रशंसा गरेको छ।
डे-काल्ब काउन्टीका प्रहरीहरूले घटनास्थल नजिकै रहेको एमोरी प्वाइन्टको फार्मेसीको दोस्रो तलामा संदिग्धलाई देखेका थिए।
तर, नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच गोली हानाहान भएको थियो। यस क्रममा संदिग्धले सीडीसी भवनतर्फ समेत धेरै राउन्ड गोली हानेर झ्याल फुटाएको एट्लान्टा प्रहरी प्रमुख डारिन स्कियरबाउमले बताए।
घटनाका बेला सीडीसी परिसरको डे-केयर सेन्टरमा रहेका ९२ बालबालिका सुरक्षित रहेको प्रहरीले जनाएको छ। एफबीआई एट्लान्टा र जर्जिया ब्युरो अफ इन्भेस्टिगेसनले घटनाको अनुसन्धान गरिरहेका छन्।
डे-काल्ब काउन्टीका प्रमुख लोरेन कोक्रान-जोन्सनले यो काउन्टीका लागि ‘अँध्यारो दिन’ भएको बताएका छन्।








