अपोलो १३ का नायक अन्तरिक्ष यात्री लोभेल रहेनन्, यस्ता छन् उनका सङ्घर्षका कथाहरू
प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार
अपोलो १३ अभियानलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काउने नेतृत्व गरेका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा निधन भएको छ।
नासाले लोभेलको प्रशंसा गर्दै भनेको छ, “अन्तरिक्षमा विस्फोट भएपछि चन्द्रमामा अवतरणको प्रयास रद्द गर्नुपरेको अवस्थामा उनले सम्भावित दुर्घटनालाई सफलतामा रूपान्तरण गरे।”
पृथ्वीबाट लाखौँ माइल टाढा भएको सो घटनापछि लोभेल र उनका दुई सहकर्मीलाई सुरक्षित रूपमा प्रशान्त महासागरमा अवतरण गराइएको थियो।
लोभेल अपोलो ८ अभियानमा पनि सहभागी थिए। उनी चन्द्रमाको दुई पटक परिक्रमा गर्ने पहिलो व्यक्ति बनेका थिए, तर कहिल्यै चन्द्रमामा अवतरण गर्न पाएनन्।
कार्यवाहक नासा प्रमुख सीन डफीका अनुसार, लोभेलले अमेरिकी अन्तरिक्ष कार्यक्रमलाई “ऐतिहासिक बाटोमा अघि बढाउन” मद्दत गरेका थिए।
१६ वर्षको उमेरमा लोभेलले विस्कन्सिनको खेतमा आफ्नो विज्ञान शिक्षकको सहयोगमा अस्थायी रकेट प्रक्षेपण गरेका थिए। त्यसका लागि उनले पोटासियम नाइट्रेट, सल्फर र कोइला मिसाएर बारुद तयार पारेका थिए।
रकेट करिब ८० फिट माथि उडेर विस्फोट भयो। रासायनिक मिश्रण अलिक फरक भएको भए उनको ज्यान पनि जान सक्थ्यो। तर यो उनको बाल्यकालको रमाइलो मात्र थिएन, यो उनको सपना थियो, जसले उनलाई अमेरिकी नायक बनायो।
२५ मार्च १९२८ मा जन्मेका लोभेल पाँच वर्षको हुँदा उनका बुबाको सडक दुर्घटनामा मृत्यु भयो। त्यसपछि उनकी आमा ब्लाञ्चले परिवार पाल्नका लागि कठिन परिश्रम गर्नुपर्थ्यो, जसले गर्दा उनको विश्वविद्यालय पढाइ सम्भव भएन।
त्यसैले, लोभेल अमेरिकी नौसैनिक कार्यक्रममा सामेल भए। दोस्रो विश्वयुद्धपछि नयाँ पाइलटहरू खोजिरहेको सो कार्यक्रममा उनी लडाकु विमान उडाउँदै पढाइ पनि गर्थे ।
सन् १९५२ मा नौसेना एकेडेमीबाट स्नातक भएपछि उनले आफ्नी हाइस्कुलकी प्रेमिका मेरिलिन गेरलाखसँग विवाह गरे। उनीहरूले ७० वर्षभन्दा बढी समय सँगै बिताएका थिए।
सन् १९५८ मा लोभेलले पहिलो पटक नासामा आवेदन दिए, तर स्वास्थ्य समस्याका कारण छनोट भएनन्। चार वर्षपछि उनको दोस्रो प्रयास सफल भयो र उनी ‘न्यू नाइन’ समूहमा परे, जसमा नील आर्मस्ट्रङ र जोन यङ पनि थिए।
उनको पहिलो अन्तरिक्ष उडान ‘जेमिनी ७’ मिसन थियो, जसले १४ दिनसम्म अन्तरिक्षमा बस्न सकिन्छ भन्ने प्रमाणित गर्यो। त्यसपछि ‘जेमिनी १२’ मा बज एल्ड्रिनसँगै उनले बाहिरी अन्तरिक्षमा काम गर्न सकिने देखाए।
सन् १९६८ मा ‘अपोलो ८’ मिसनमा उनी चन्द्रमाको परिधि पार गर्ने पहिलो टोलीका सदस्य थिए। यही मिसनमा उनले ‘अर्थराइज’ दृश्य क्यामेरामा कैद गर्न मद्दत गरे, जुन दृश्यले विश्वलाई एकताबद्ध भएको महसुस गरायो।








