वाशिङ्टन डीसीको सुरक्षाका लागि नयाँ योजना लागू
प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार
ह्वाइट हाउसले अमेरिकी राजधानी वाशिङ्टन डीसीमा सुरक्षाका लागि सङ्घीय कानुन कार्यान्वयन निकायहरू परिचालन गर्ने घोषणा गरेको छ।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिनअघि मात्र सहरको प्रहरी बललाई आफ्नो नियन्त्रणमा लिने चेतावनी दिएपछि आएको हो।
हालै भएको एक अपहरण प्रयासमा ट्रम्प प्रशासनका एक कर्मचारी घाइते भएपछि उनले यस्तो चेतावनी दिएका थिए।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले एक विज्ञप्तिमा भनिन्, “वाशिङ्टन डीसी एक अद्भुत सहर हो, तर धेरै समयदेखि यो हिंसात्मक अपराधले ग्रस्त छ।”
उनले थपिन्, “राष्ट्रपति ट्रम्पले निर्दोष नागरिकको सुरक्षा गर्न सङ्घीय सुरक्षा बलको उपस्थिति बढाउन निर्देशन दिनुभएको छ। आज रातिदेखि डीसीका हिंसात्मक अपराधीहरूका लागि कुनै सुरक्षित ठाउँ हुने छैन।”
ह्वाइट हाउसका अनुसार, यो अभियान सात दिनका लागि सुरु हुनेछ र “आवश्यक परेमा यसको अवधि बढाइनेछ।” मध्यरातदेखि सडकमा बढाइएको सुरक्षा बलको नेतृत्व अमेरिकी पार्क प्रहरीले गर्नेछ। यसमा राष्ट्रपति ट्रम्पले यस वर्ष मार्चमा गठन गरेको “मेकिङ डीसी सेफ एण्ड ब्युटिफुल टास्क फोर्स”का सबै सदस्यहरू सहभागी हुनेछन्।
विज्ञप्तिमा भनिएअनुसार, यो कारबाहीको मुख्य लक्ष्य “पर्यटकको बढी भीड हुने क्षेत्रहरू” हुनेछन्। यसमा मेट्रोपोलिटन प्रहरी विभाग, क्यापिटल पुलिस र मेट्रो ट्रान्जिट प्रहरी विभाग लगायतका निकायहरू पनि सहभागी हुनेछन्।
डीसी मेयरको कार्यालयले यसबारे कुनै टिप्पणी गरेको छैन। तर, स्थानीय अधिकारीहरूले भने सङ्घीय हस्तक्षेपलाई स्थानीय मामिलामाथिको अतिक्रमणका रूपमा हेर्दै आएका छन्।
यस अभियानमा आइस अन्तर्गतका होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन र इन्फोर्समेन्ट एण्ड रिमुभल प्रोटेक्सन युनिटहरू पनि परिचालन गरिनेछन्। ह्वाइट हाउसले सङ्घीय अधिकारीहरूलाई स्पष्ट पहिचानसहित, परिचित सवारीसाधनमा र देखिने गरी परिचालन गरिने जनाएको छ।
यो घोषणा वाशिङ्टन डीसीका स्थानीय सरकारको हिंसात्मक अपराध नियन्त्रणको प्रयास अपर्याप्त भएको भन्दै ह्वाइट हाउसले आलोचना गरिरहेकै समयमा आएको हो।
सहरको प्रहरी तथ्यांकअनुसार, गत वर्ष डीसीमा हिंसात्मक अपराध ३० वर्षकै न्यून स्तरमा पुगेको थियो।








