एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने
प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार
एप्पलले अमेरिकामा थप १०० बिलियन डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीमाथि अमेरिकी उत्पादनमा जोड दिन दबाब दिइरहेका बेला एप्पलले यो घोषणा गरेको हो ।
व्हाइट हाउसका अनुसार उक्त लगानी अमेरिकी माटोमै एप्पलका भागहरू उत्पादन गर्न प्रोत्साहित गर्न प्रयोग गरिनेछ । यसले अघिल्लो चार वर्षमा अमेरिका भित्रै ५०० बिलियन डलर खर्च गर्ने एप्पलको प्रतिबद्धतालाई थप बल पुर्याउनेछ।
यसअघि राष्ट्रपति ट्रम्पले एप्पलको नाम उल्लेख गर्दै यदि कम्पनीले आइफोन उत्पादन अमेरिका नल्याएमा त्यसका सामानहरूमा उच्च महसुल लगाइने चेतावनी दिएका थिए । राष्ट्रपति ट्रम्पले घोषणा गरे कि एप्पलले आफ्नो अमेरिकी आपूर्ति शृङ्खलामा ‘विशाल’ खर्च वृद्धि गर्नेछ।
यसमा नयाँ डाटा सेन्टरहरू निर्माण गर्नुका साथै केन्टकी राज्यको ह्यारिसबर्गमा स्मार्ट ग्लास उत्पादन लाइन स्थापना गर्ने योजना छ । जुन आइफोन र स्मार्टवाचहरूमा प्रयोग हुनेछ ।
राष्ट्रपतिले एप्पलको अमेरिकी उत्पादनतर्फको ध्यानलाई स्वागत गर्दै भने, कम्पनीले चिप्स र सेमिकन्डक्टरहरूमा आफूले लगाउन लागेको १०० प्रतिशत महसुलबाट जोगिनेछ । यद्यपि उनले महसुल योजनाको विस्तृत विवरण दिएका छैनन् ।
उनले अन्य कम्पनीहरूलाई पनि यस्तै लगानी गरे महसुल छुट पाउने संकेत दिए। एप्पल प्रमुख टिम कुकले भने, कम्पनीको प्रारम्भिक ५०० बिलियन डलरको लगानीले ‘पहिले नै राम्रो नतिजा दिन थालेको’ बताए।
नयाँ लगानीले ‘विश्वभर प्रयोग हुने एप्पल उत्पादनका महत्त्वपूर्ण पाटपुर्जाहरूको उत्पादन अमेरिकाभित्रै बढाउने’ उनले बताए। टिम कुकले ट्रम्पलाई ओभल अफिसको ‘रेजोल्युट डेस्क’ मा उभिएर आफैंले बनाएको ग्लासको मूर्ति पनि प्रदान गरेका थिए
विश्लेषकहरूका अनुसार, एप्पलले आपूर्ति शृङ्खला परिवर्तन गर्न चाहे पनि त्यो सजिलै वा छिटो सम्भव छैन । तर अमेरिकी उत्पादनतर्फको प्रतिबद्धता देखाएर एप्पलले ट्रम्प प्रशासनबाट केही सहुलियत पाउने सम्भावना भने छ ।
व्हाइट हाउसले एप्पलको यो घोषणालाई ट्रम्पको नीतिहरू सफल हुँदै गएको संकेतका रूपमा व्याख्या गरेको छ। एप्पलले लामो समयदेखि आफ्नो अधिकांश उत्पादनहरू चीनमा बनाउँदै आएको छ।
ट्रम्पको पहिलो कार्यकालमा कम्पनीले अमेरिकी लगानीको घोषणा गरी महसुलबाट जोगिएको थियो । तर सन् २०२५ को जनवरीमा ट्रम्पले नयाँ महसुल नीति ल्याएपछि एप्पलले आपूर्ति शृङ्खलामा फेरबदल गर्न थालेको हो।
हाल एप्पल भारत र भियतनामबाट सामान अमेरिका पठाउँदैछ । त्यहाँ अमेरिकी महसुल तुलनात्मक रूपमा कम छ।
तर कम्पनीले हालैको तीन महिनामा मात्र ८०० मिलियन डलरभन्दा बढी महसुल तिरेको छ । आगामी महिनामा अझै १.१ बिलियन डलर महसुल तिर्नुपर्ने अपेक्षा गरिएको छ।








