अमेरिकाद्वारा कोभिड १९ र फ्लु भाइरसविरुद्ध विकसित हुँदै आएका खोपको अनुदान रद्द गर्ने घोषणा
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार
फोटो: गेज स्किडमोर
अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले फ्लु र कोभिड १९ जस्ता भाइरसविरुद्ध विकसित गरिँदै आएका खोपहरूका लागि छुट्याइएको ५०० मिलियन डलर अनुदान रद्द गर्ने घोषणा गरेको छ।
यो निर्णयले फाइजर, मोडेर्ना लगायतका प्रमुख औषधि कम्पनीहरूद्वारा नेतृत्व गरिएको २२ वटा खोप परियोजनाहरू प्रभावित हुनेछ । ती परियोजनाहरू बर्ड फ्लु र अन्य श्वासप्रश्वाससँग सम्बन्धित भाइरसविरुद्ध खोप विकास गर्नका लागि सञ्चालनमा थिए ।
स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले अनुदान फिर्ता लिएको बताएका छन्। उनी स्वयं खोपबिरोधी विचारधारामा विश्वास गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । उनको भनाईमा भाइरसले भन्दा खोपले जोखिम बढाउने धारणा व्यक्त गर्दै आएका छन ।
तर चिकित्सकहरू र स्वास्थ्य विज्ञहरूले केनेडीको खोप सुरक्षाबारेको धारणा र वैज्ञानिक प्रमाणविरुद्धका भनाइहरूलाई आलोचना गरेका छन्।
फिलाडेल्फियाको चिल्ड्रेन हस्पिटलको भ्याक्सिन एजुकेसन सेन्टरका निर्देशक डा पल अफिट भन्छन्, “कोभिड महामारीको समयमा एमआरएनए खोपको विकासले लाखौं जीवन जोगाएको थियो । यो प्रविधिले कम समयमा खोप उत्पादन गर्न सक्ने क्षमता राख्छ । केनेडीको यो निर्णयले भविष्यमा महामारी आउँदा अमेरिका अझ जोखिममा पर्नेछ।”
तर केनेडीले भने ‘हामीले विज्ञानको समीक्षा गर्यौं, विज्ञहरूलाई सुनेर निर्णय गर्यौं’ भन्दै भनेका छन्, “डाटाले देखाउँछ, यी खोपहरूले कोभिड र फ्लु जस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध प्रभावकारी रूपमा सुरक्षा गर्न सक्दैनन्।”
उनले विभागले अब ‘अझ सुरक्षित र व्यापक प्रभाव पार्ने खोप प्रविधिहरू’ मा लगानी गर्ने बताए । तर डा अफिटले खोपहरूलाई ‘अत्यन्तै सुरक्षित’ भन्दै कोभिडजस्ता गम्भीर संक्रमणहरू रोक्नका लागि अत्यावश्यक प्रविधि रहेको स्पष्ट पारे । उनी स्वयंले रोटाभाइरसविरुद्धको खोपको आविष्कार गरेका थिए।
स्वास्थ्य विज्ञहरूका अनुसार, यस्तो निर्णयले खोपमाथिको विश्वास घटाउने, भविष्यका महामारीसँग लड्ने तयारी कमजोर बनाउने र सार्वजनिक स्वास्थ्यमा नकारात्मक असर पार्ने खतरा पैदा गरेको जानकारहरुले बताएका छन ।








