ह्यारिसले गरिन क्यालिफोर्नियाको गभर्नर पदमा उम्मेदवारी नदिने घोषणा
प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार
अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले क्यालिफोर्नियाको गभर्नर पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् ।
पूर्व राष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले क्यालिफोर्नियाको गभर्नरका लागि हुने चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन ।
२०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग हार व्यहोरेपछि, ह्यारिसले आफ्नो गृहराज्य क्यालिफोर्नियाको नेतृत्व लिन सक्ने चर्चा चलेको थियो । उनी यसअघि त्यहाँकी अमेरिकी सिनेटर र अभियोजन अधिकृत भइसकेकी थिइन् ।
तर, उनले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा ‘गहिरो आत्ममन्थनपछि, मैले आगामी गभर्नर चुनावमा उम्मेदवारी नदिने निर्णय गरेकी छु ।’ हालका लागि मेरो नेतृत्व र सार्वजनिक सेवा निर्वाचित पदमा रहने छैन’ भनेर उल्लेख गरेकी छिन् ।
कमला ह्यारिसको यो निर्णयले २०२८ को राष्ट्रपति चुनावमा फेरि उम्मेदवारी दिने सम्भावनालाई खुला राखेको छ ।
ह्यारिसको घोषणाले यसले गभर्नर गेभिन न्यूसमको उत्तराधिकारी बन्ने दौडबाट एक बलियो डेमोक्र्याटिक प्रतिस्पर्धी हटेको संकेत पनि गर्छ ।
न्यूसम आफैंलाई भविष्यमा राष्ट्रपतिको आकांक्षीको रूपमा हेरिएको छ । उनले आफ्नो पार्टीको भविष्यप्रति पनि संकेत गरेकी छिन् ।
क्यालिफोर्नियाको आगामी गभर्नरको प्राइमरी निर्वाचन २०२६ को जुनमा, र साधारण निर्वाचन नोभेम्बर २०२६ मा हुनेछ ।
गभर्नर न्यूसम आफ्नो दोस्रो र अन्तिम कार्यकाल सकाउँदैछन् । नयाँ गभर्नर सन् २०२७ मा पद ग्रहण गर्नेछन्। डेमोक्र्याटिक पार्टी क्यालिफोर्नियाको राजनीतिमा बलियो रूपमा हावी रहेको छ । पार्टीको उम्मेदवार जित्ने प्रबल सम्भावना हुन्छ ।
क्यालिफोर्निया अमेरिका भित्रको एक आर्थिक महाशक्ति हो । यदि यो देश हुन्थ्यो भने विश्वकै पाँचौं ठूलो अर्थतन्त्र हुने थियो । कमला ह्यारिसले अब आफ्नो भावी योजनाबारे आउने महिनाहरूमा थप जानकारी दिने बताएकी छन्।








