अमेरिकी विमानस्थलहरुमा सुरक्षा जाँचको क्रममा अब जुत्ता खोल्नु नपर्ने
प्रकाशित मिति : असार २४, २०८२ मंगलबार
फोटो : क्रिस लेन लु / अनस्प्ल्याश
अमेरिकी विमानस्थलहरूमा अब सुरक्षा जाँचका क्रममा जुत्ता खोल्नु नपर्ने भएको छ ।
विमानस्थलहरूमा अब यात्रुहरूलाई सुरक्षा जाँचको क्रममा जुत्ता खोल्नुपर्ने आवश्यकतालाई हटाइएको हो ।
करिब दुई दशकअघि यो नियम लागू गरिएको थियो । तर यसको आलोचना भइरहेको थियो । यो नीतिलाई अलोकप्रिय मानिएको थियो ।
अमेरिकी डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी मन्त्री क्रिस्टी नोएमले यो परिवर्तन तुरुन्तै लागू हुने घोषणा गरिन्। यात्रुहरूले अझै पनि बेल्ट, ज्याकेट, ल्यापटप र तरल पदार्थहरू अलग राख्नुपर्नेछ ।
तर ती नियमहरू पनि समीक्षाको प्रक्रियामा रहेको नोएमले बताइन । यो नीति सन् २००६ देखि लागू गरिएको थियो । त्यसबेला बेलायती नागरिक रिचार्ड रीडले आफ्नो जुत्तामा विस्फोटक लुकाएर मियामी जाँदै गरेको विमानमा चढेका थिए ।
उनले विस्फोट गराउने प्रयास असफल भएको थियो र यात्रुहरूले उनलाई नियन्त्रणमा लिएका थिए।
डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी मन्त्री नोएमले सुरक्षा प्रविधि धेरै अगाडि बढिसकेको बताइन । अहिले सरकारको विभिन्न तहमा आधारित सुरक्षा रणनीति रहेको उनले बताइन ।
एयरलाइन्स फर अमेरिका नामक अमेरिकी प्रमुख विमान सेवा कम्पनीहरूको संगठनले यो निर्णयको स्वागत गरेको छ ।
संगठनका प्रमुख निकोलस ई क्यालिओले यो नीतिगत परिवर्तनले यात्रुहरूको लागि यात्रा प्रक्रियालाई अझ सहज, सुरक्षापूर्ण र प्रभावकारी बनाउने बताए ।
जुत्ता खोल्नुपर्ने नियम अमेरिकामा भएको आतंकवादी हमलापछि सुरक्षा प्रणाली अन्तर्गत ल्याइएको थियो । अब यात्रुहरूले सुरक्षा जाँचमा सजिलै जुत्ता नखोलिकन यात्रा गर्न पाउनेछन् ।






