अमेरिकाले सत्तारुढ सिरियाली इस्लामिक समूहलाई आतंकवादी सूचीबाट हटाउने
प्रकाशित मिति : असार २३, २०८२ सोमबार
फोटो : मार्क शिफेलबीन/एपी/रासस
अमेरिकाले सिरियाली इस्लामिक समूह हयात तहरीर अल शामलाई आतंकवादी सूचीबाट हटाउने तयारी गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सिरियाली इस्लामिक समूह हयात तहरीर अल शाम लाई विदेशी आतंकवादी संगठनको सूचीबाट अमेरिकाले हटाउने भएको हो ।
यस समूहले गत डिसेम्बरमा सिरियामा विद्रोही आक्रमणको नेतृत्व गर्दै बासर अल असदको ५४ वर्ष लामो शासन समाप्त गरेको थियो । अहिले एचटीएसका नेता अहमद अल शराआ देशका कार्यवाहक राष्ट्रपति भएका छन्।
एचटीएस लाई पहिले अल नुसरा फ्रन्टको नामले चिनिन्थ्यो । एक समय उसको अल कायदा–सम्बद्ध समूह थियो । तर सन् २०१६ मा अहमद अल शराआले अल कायदासँगको सम्बन्ध तोडेका थिए।
हालका महिनाहरूमा पश्चिमी देशहरूले सिरियासँगको सम्बन्ध पुनः सुधार्ने प्रयास गरिरहेका छन् । बासर अल असदको पुरानो शासनकालमा लगाइएका कडा प्रतिबन्धहरू अहिले हटाउने क्रम सुरु भएको छ।
गत जुन अन्त्यमा, राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अमेरिकाले सिरियामाथि लगाइएको प्रतिबन्धहरू हटाउने घोषणा गरे ।
ह्वाइट हाउसले उक्त निर्णय ‘शान्ति र स्थायित्वको बाटोमा सहयोग पुर्याउने’ उद्देश्यका साथ गरिएको बताएको थियो । अमेरिकाले नयाँ सिरियाली सरकारका गतिविधिहरूलाई बारीकीले निगरानी गर्ने पनि बताएको छ ।
विशेषतः इजरायलसँगको सम्बन्ध सामान्य बनाउन, विदेशी आतंकवादीहरूलाई नियन्त्रण गर्न, र प्यालेस्टाइनी उग्रवादी समूहहरूलाई प्रतिबन्ध लगाउने विषयमा निगरानी गरिने अमेरिकाले बताएको हो ।
सिरियाका विदेश मन्त्री असद अल शिबानीले प्रतिबन्ध हट्यो भने आर्थिक पुनःउत्थानको मार्ग खुलाउने र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तार गर्न मद्दत गर्ने बताएका छन्।
सिरियाले अमेरिका र इजरायलबीच सन् १९७४ मा भएको सीमित सशस्त्रीकरण सम्झौता पुनः कार्यान्वयन गर्न तयार रहेको जनाएको छ।
असद शासन पतन भएपछि १३ वर्ष लामो गृहयुद्धले सिरियाको ९० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि पुगेको थियो। राष्ट्रपति अल शराआले नयाँ सिरिया बनाउने वाचा गरेका छन् । तर देशभित्र धेरै मानिसहरू उनको अतीतप्रति शंकास्पद छन् ।






