आज अमेरिकी इतिहासको कालो दिन


प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार

आज सेप्टेम्वर ११ तारिख । अमेरिकाको न्युयोर्कमा आतंकवादी आक्रमण भएको दिन । सन् २००१ सेप्टेम्वर ११ तारिखमा अमेरिकामा आतंकवादी संगठन अल काइदाले गराएको यो आक्रमण सायदै कसैले सजिलै भुल्न सक्छ  । यो आक्रमण भएको आज पन्ध्र बर्ष पुरा भएको छ ।

विश्वमै सबैभन्दा सुरक्षित मानिने अमेरिकाको प्रमुख सहर न्युयोर्क र रक्षामन्त्रालय रहेको पेन्टागनमाथि गरिएको अकल्पनीय आतंकवादी आक्रमण भएको पन्ध्र वर्ष भएको छ । करिब तीन हजार मानिसको ज्यान लिएको र छ हजारभन्दा बढीलाई घाइते बनाएको साथै अर्बौं डलरको भौतिक क्षति पु¥याएको यो आतंकवादी आक्रमण अमेरिकाकै इतिहासमा कहिल्यै नभएको र कल्पनासम्म पनि नगरिएको घटना हो । यो घटनापछि सुरु गरिएको आतंकवादविरुद्धको विश्वव्यापी अभियान अहिले पनि जारी छ ।

यो अभियानले आतंकवादलाई समाप्त पार्न आतंंकवादलाई संरक्षण दिने तानाशाही अतिवादी सत्ता चलाउने शासकविरुद्ध कारबाही गर्नुका साथै अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदाका प्रमुख ओसामा विन लादेनलाई मार्न सफलता मिलेको छ । तर पनि आतंकवाद र आतंकवादी गतिविधि भने विभिन्न रूपमा प्रकट भएका छन्, यसलाई समाप्त गर्न भने सकिएको छैन ।

सन् २००१ को सेप्टेम्बर ११ अमेरिकाको इतिहासमा सबैभन्दा नराम्रो दिन हो । अमेरिकीहरूले यस दिनलाई कालो दिनका रूपमा स्मरण गर्ने र आतंकवादविरुद्ध लड्ने प्रण गर्ने गर्दछन् । सो आक्रमणअघिसम्म अमेरिकीहरू आफ्नो मुलुकमाथि कुनै पनि बाह्य आक्रमण हुन सक्दैन भन्ने गर्व गर्दथे । उनीहरू बढी विश्वस्त थिए मुलुकको सुरक्षा संयन्त्र र व्यवस्थाप्रति । तर सेप्टेबर ११ को घटनापछि उनीहरू आतंकवादीहरूप्रति बढी चिन्तित भएका छन् । उनीहरूको एउटै मात्र चाहना के छ भने अब सेप्टेम्बर ११ को जस्तो घटना यो मुलुकमा कहिल्यै पनि दोहोरिन नपाओस् ।

त्यसका लागि सरकारले मुलुकको सुरक्षा संयन्त्र र सुरक्षा प्रणालीलाई सबैभन्दा व्यवस्थित र आधुनिक बनाओस् । आम अमेरिकीहरूको यो चाहनालाई सर्वोपरि राख्दै अमेरिकी सरकारले शान्ति, सुरक्षा, स्वाभिमान र राष्ट्रिय हितलाई नै विशेष आफ्नो प्रमुख एजेन्डा बनाएको छ । सेप्टेम्बर ११ को घटना अमेरिकाविरुद्ध मात्र लक्षित थिएन, विश्वकै शान्ति र समृद्धि, विज्ञान र प्रविधिको अधिकतम विकासमाथिको आक्रमण थियो । त्यही भएर नै सो आक्रमणविरुद्ध अमेरिकाले सुरु गरेको आतंकवादविरुद्धको विश्वव्यापी अभियानलाई विश्वका अधिकांश मुलुकले सहयोग र समर्थन गरेका हुन् ।

सेप्टेम्वर ११ को दिन : 

दिन सफा थियो, पुर्वी अमेरिका शान्त थियो र मजाले घाम लागेको थियो । न्युयोर्कको म्यानहाटन टापुमा जेट विमान निकै तल उडेको दृश्य धेरैका लागी असामान्य बनिरहेको थियो । एक्कासी त्यो विमान ठोक्किएको आवाज सुनियो । न्युयोर्कका अग्नी नियन्त्रक टोलीको डकुमेन्ट्री बनाइरहेका एक क्यामराम्यानले आफनो क्यामरा जेट तर्फ फर्काए । अमेरिकी एअरलाइन्सको फ्लाइट ११ वल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा ठोक्कियो । यतीबेला विहानको आठ बजेर ४७ मिनेट गएको थियो । यो विमान बोस्टनबाट लस एन्जलसका लागी उडेको थियो ।

केही सेकेण्डमा नै ८१ यात्रु, नौ जना फ्लाइट एटेन्डेन्ट र दुइ जना पाइलटको मृत्यु भयो । त्यती मात्र होइन भवनमा रहेका सयौ जनाको पनि मृत्यु भयो । अन्य सयौ जना मृत्युको प्रतिक्षा गरिरहेका थिए । पहिलो भयावह दृश्य देखेको केही मिनेटपनि वित्न नपाउदै अर्को दोस्रो यात्रुबाहक विमान युनाइटेड एअरलाइन्सको फ्लाइट १७५ वल्ड ट्रेड सेन्टरको दक्षिणी टावर टु मा ठोक्कियो । यो विमानमा ६५ यात्रु थिए । यती बेला विहानको नौ बजेर तीन मिनेट गएको थियो । यो विमान पनि बोस्टनबाट लस एन्जलसका लागी उडेको थियो । तत्काल उद्धार टोली यो क्षेत्रमा खटियो । प्रहरी अधिकारी, अग्नी नियन्त्रक टोली र एम्बुलेन्स टोली यहा तैनाथ भयो । तर यी सवै पक्ष अव के गर्ने भन्ने सोच्न समेत नसक्ने अवस्थमा पुगिसकेका थिए ।

अव के हुदैछ भनेर समेत कसैले अनुमान लगाउन नसक्ने अवस्था उत्पन्न भएको थियो । उद्धार टोलीले वल्ड ट्रेड सेन्टरको वाहिरी क्षेत्रमा रहेका कामदार, स्कुले बालबालिका, पसलेहरु लगायतलाई यो क्षेत्रबाट निकालिरहेका थिए । केही मानिस वल्ड ट्रेड सेन्टरबाट समेत बाहिर निस्कन सफल भइरहेका थिए । तर धेरै ट्रेड सेन्टरको माथिल्ला तल्लामा रहेका मानिसहरु बचाउन अपिल गरिरहेका थिए । तर उनीहरुलाई बचाउन सकिने उपाय थिएन ।

यी घटनाक्रम चलिरहदै गर्दा दक्षिणी टावर विस्तारै ध्वस्त भयो । यती बेला नौ बजेर ५९ मिनेट गएको थियो । ढल्नु अगाडी ५६ मिनेट सम्म यो टावर जलिरहेको थियो । १० बजेर २८ मिनेट जादा अर्को टावर पनि ध्वस्त भयो । यो टावर एक सय दुइ मिनेट जलेको थियो । आसपास रहेका दर्जनौ भवन पनि टावर सगै ध्वस्त भए । यती विभत्स घटना हुदा पनि कोही बाच्न सफल भएका थिए । ४७ औं तलामा रहेको एउटा बैंकमा काम गर्ने यी कामदार टोम कानाभान भाग्यमानी बने । न्यु योर्कमा आतंकवादी घटना भइरहदा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुस फ्लोरिडामा रहेको एउटा एलिमेन्ट्रि स्कुलका बच्चाहरु सग कक्षा कोठामा थिए ।

पढाइ संचालन भइरहदा अमेरिकी एक उच्च अधिकारीले बुसलाई आफनो देशमा भएको आतंकवादी आक्रमणको जानकारी गराउछन् । आफनो संक्षिप्त सम्बोधनमा बुसले आफनो देशमा भएको दुखद घटनाको बारेमा सवैलाई जानकारी गराउछन् । तर यो आक्रमण यतीमा मात्र सीमित रहेन । विहान नौ बजेर ३७ मिनेटमा ५८ यात्रु बोकेको अमेरिकी एअर लाइन्सको फ्लाइट ७७ बोइङ ७५७ पेन्टागन नजिकै दुर्घटनाग्रस्त हुन्छ । पेन्टागन अमेरिकी सेनाको मुख्य केन्द्र हो । मैदानमा रहेका एक सय २५ यात्रुको पनि त्यती बेला नै मृत्यु भएको थियो ।

अपहरण गरिएको अर्को विमान फ्लाइट ९३ पेन्सीलभेनियाको सान्क्सभिल्लेमा दुर्घटनाग्रस्त भयो । ३७ यात्रु सहितको विमान न्युयार्कबाट, न्युयोर्क हुदै सान फ्रँन्सीस्को जादै थियो । यी दुइ विमान भने आफनो लक्ष्यमा पुग्न असफल भएका थिए । चार वटा समुहमा रहेका अपहरणकारीले चार वटा विमान अपहरण गरेका थिए । अनुसन्धानकर्ताहरुका अनुसार १९ जना अपहरणकारी यो घटनामा संग्लग्न भएका थिए ।

विभिन्न ७० वटा भन्दा बढी देशमा दुइ हजार नौ सय ७७ जनाको यो घटनामा मृत्यु भयो । मारिने मध्ये चार वटा विमानमा रहेका २ सय ४६ जना, न्यु योर्कमा २ हजार ६ सय ६ जना र पेन्टागनमा १ सय २५ जना रहेका थिए । आक्रमण पश्चात तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यु बुसले अमेरिकाले यसको उचित जवाफ दिने प्रतिबद्धता ब्यक्त गरे । यो दुखलाई विर्सदै अमेरिकीहरुले आफनो ध्यान ओसामा विन लादेनको नेतृत्वमा रहेको आतंकवादी संगठन अल काइदा तर्फ केन्द्रित गरे ।

अर्बौँ डलर खर्च गरेर लामो समय लगाएर भए पनि आफ्नो सबैभन्दा ठूलो शत्रु विन लादेनलाई मार्न सफल भएकोमा अमेरिकाले यसलाई आतंकवादीवरुद्धको अभियानको सबैभन्दा ठूलो सफल घटनाका रूपमा लिएको छ । अमेरिकी सेनाको विशेष कमाण्डोले २०११ को मे १ मा पाकिस्तानको अबोट्टावादमा लुकी बसेका विन लादेनलाई नाटकीय ढंगले आक्रमण गरी मार्न सफल भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com