“जनअपेक्षाअनुसार गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं”: दधिराम भण्डारी,नेपाली महावाणिज्यदूत, न्यूयोर्क


प्रकाशित मिति : असार ७, २०८२ शनिबार

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले नेपाली समुदायको अपेक्षाअनुसार गुणस्तरीय कन्सुलर सेवा प्रदान गर्न आफू र आफ्नो टिम पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। शुक्रबार महावाणिज्यदूतावास न्यूयोर्कमा आयोजित परिचयात्मक कार्यक्रममा सम्बोधन गर्दै उहाँले महावाणिज्यदूतावासले नेपाली डायस्पोराको आवश्यकता र अपेक्षालाई प्राथमिकता दिँदै सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउने बताउनुभएको छ।

नेपाल सरकारले न्यूयोर्कको महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गर्ने निर्णयसँगै भण्डारी यसै महिना नयाँ जिम्मेवारीकासाथ न्यूयोर्क आउनुभएको हो। यसअगाडि न्यूयोर्कमा कार्यवाहक महावाणिज्यदूतमात्र रहँदै आएकोमा अबदेखि परराष्ट्र सेवाबाटै महावाणिज्यदूत नै रहने व्यवस्था भएको हो। २०१७ देखि २०२० सम्म न्यूयोर्कमा अन्य क्षेत्रबाट महावाणिज्यदूत नियुक्त गरिए पनि पछि सरकारले उक्त पद नै खारेज गरेको थियो।

न्यूयोर्क आएर कार्यभार सम्हालेपछि भण्डारीले न्यूयोर्कको नेपाली समुदायसँग परिचयात्मक कार्यक्रम गर्नुभएको हो। न्यूयोर्क र आसपासका राज्यका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्वहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको परिचयात्मक कार्यक्रममा भण्डारीले महावाणिज्यदूतावासलाई नेपाली समुदायको साझा संस्थाको रूपमा प्रस्तुत गर्दै यो समुदायकै प्रतिनिधित्व गर्ने निकाय भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यो संस्था यहाँहरूकै हो। हाम्रो मुख्य उद्देश्य भनेको कन्सुलर सेवालाई यहाँहरूले अपेक्षा गरेको स्तरमा पुर्‍याउनु हो।”

उहाँले समुदायको रचनात्मक सुझाव र आलोचनालाई स्वागत गर्दै सेवालाई निरन्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। न्यूयोर्क र आसपासका नौवटा राज्यमा आफ्नो कार्यक्षेत्र रहेको उल्लेख गर्दै भण्डारीले समुदायका सबै सदस्यलाई समेट्ने प्रयास जारी रहेको बताउनुभयो। यद्यपि, पूर्वाधारको सीमितता र समयको कमीका कारण सबैलाई परिचयात्मक कार्यक्रममा समेट्न नसकिएकोमा उहाँले क्षमायाचना गर्नुभयो। “हामीले यो परिचयात्मक कार्यक्रमलाई एक विनम्र सुरुवातको रूपमा लिएका छौँ। यहाँहरूको साथ र सहयोगले हामी थप प्रभावकारी रूपमा अगाडि बढ्नेछौँ,” उहाँले थप्नुभयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भण्डारीले कन्सुलर सेवालाई उत्कृष्ट बनाउन विशेष जोड दिनुभयो। उहाँले टेलिफोन रिसेप्सन, इमेल जवाफ, र भीड व्यवस्थापनजस्ता क्षेत्रमा सुधार आवश्यक रहेको स्वीकार गर्नुभयो। “हाम्रा केही सीमितताहरू छन्, तर समुदायको सहयोगले हामीले धेरै कुरा सम्भव बनाएका छौँ,” उहाँले भन्नुभयो। कार्यभार सम्हालेपछि आफूले पछिल्लो दुई हप्तामा व्यक्तिगत रूपमा नै फोन कलहरूको जवाफ दिएको उदाहरण दिँदै सेवालाई थप जवाफदेही बनाउने प्रयासमा आफ्नो टिम लागिपरेको उहाँले बताउनुभयो।

महावाणिज्यदूतावासले सामाजिक सञ्जाल, विशेषगरी फेसबुक पेज, मार्फत समुदायसँग संवादलाई प्रभावकारी बनाउने योजना बनाएको उहाँले बताउनुभयो। भण्डारीले समुदायका सदस्यहरूलाई सन्देशहरू प्रवर्द्धन गर्न आग्रह समेत गर्नुभयो। “एउटा जानकारी पाउनका लागिमात्र २० वटा फोन कलहरू आउन सक्छन्। यदि हामीले समुदायको सहयोगमा त्यस्ता जानकारीहरू शेयर गर्न सकेमा सेवाग्राहीहरूका लागि सहज हुनेछ,” उहाँले भन्नुभयो।

भण्डारीले नेपाल र अमेरिकाबीचको ७८ वर्ष पुरानो कूटनीतिक सम्बन्ध उल्लेख गर्दै नेपाली डायस्पोरालाई नेपालको सच्चा प्रतिनिधिको रूपमा चित्रण गर्दै आर्थिक, व्यापारिक, र वाणिज्यिक क्षेत्रमा सहकार्यका सम्भावनाहरूलाई उपयोग गर्ने बताउनुभयो। “यो नौवटा राज्यमा नेपाली समुदायको वृद्धि र योगदानले हामीलाई नयाँ अवसरहरू सिर्जना गर्न प्रेरित गरेको छ,” उहाँले भन्नुभयो। उहाँले दक्षिण एसियाली समुदाय र नेपालप्रति माया राख्ने अन्य समुदायलाई नेपालसँग जोड्ने पहललाई पनि प्राथमिकता दिने बताउनुभयो। “नेपालको सांस्कृतिक र साहसिक सम्पदालाई विश्वसामु प्रस्तुत गर्न हामी यहाँहरूकै सहयोगमा काम गर्नेछौँ,” उहाँले थप्नुभयो।

भण्डारीले आफ्नो टिमको उच्च मनोबल र समर्पणको प्रशंसा गर्नुभयो तर स्रोतको सीमितताले काममा बाधा पुगेको स्वीकार गर्नुभयो। यद्यपि, यी चुनौतीहरूलाई समुदायको सहयोग र रचनात्मक समाधानमार्फत पार लगाउने विश्वास व्यक्त गर्नुभयो। “हामी एक्लैले केही गर्न सक्दैनौँ। यो मेरो टिम र यहाँहरूको साझा प्रयासको नतिजा हो,” उहाँले भन्नुभयो।

परिचयात्मक कार्यक्रममा समुदायका विभिन्न व्यक्तिहरूले आफ्नो परिचय र सुझाव प्रस्तुत गरेका थिए, जसलाई भण्डारीले महत्त्वपूर्ण भएको बताउनुभयो। उहाँले विभिन्न विचारधारा र पहिचान बोकेका समुदायका सदस्यहरूलाई एकताबद्ध बनाएर नेपालको हितमा काम गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो। “कुनै पनि कार्यक्रममा सहभागिता जनाउन नसकेको खण्डमा मेरो कार्यतालिका वा अन्य जिम्मेवारीहरू कारण हुन सक्छन्, तर म सधैँ यहाँहरूकै साथमा छु,” उहाँले आश्वासन दिनुभयो।

“हाम्रो ढोका सधैँ खुला छ। यहाँहरूको साथले हामीले गुणस्तरीय सेवा प्रदान गर्न सक्छौँ,” भण्डारीले भन्नुभयो। उहाँले आगामी दिनमा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपाली समुदायको अपेक्षा पूरा गर्ने दिशामा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

कार्यक्रममा विगतमा कार्यवाहक महावाणिज्यदूतका रूपमा खटिनुभएका उपमहावाणिज्यदूत चक्र कुमार सुवेदीले आफूले प्रतिकूल स्वास्थ्यका बाबजुद सेवाग्राहीहरूलाई सेवा दिन अहोरात्र खटेर काम गरेको बताउनुभयो। अस्पतालमा जानुपर्ने दिनमा बाहेक आफूले कार्यालयमा निरन्तर खटेर काम गरेको उहाँले बताउनुभयो।

सहभागीहरूले प्रतिकूल स्वास्थ्यका बाबजुद सुवेदीले सेवाग्राहीलाई दिएको सेवा र नेपाली समुदायसँग स्थापित गरेको सुमधुर सम्बन्धका लागि उहाँको प्रशंसा गरेका थिए। कन्सुलर सेवामात्र नभई व्यापार तथा पर्यटन प्रवद्र्धन, नेपालबाट चोरिएर अमेरिका आएका मूर्ति फिर्ता र समुदायसँगको सम्बन्धमा सुवेदीको योगदानको सहभागीहरूले प्रशंसा गर्नुका साथै उहाँको स्वास्थ्यलाभको कामना समेत गरेका थिए। कार्यक्रमको सञ्चालन वाणिज्यदूत विष्णु कुमारी अधिकारीले गर्नुभएको थियो।

नवनियुक्त महावाणिज्यदूत भण्डारीको अनुभव

नवनियुक्त महावाणिज्यदूत भण्डारी २२ वर्षदेखि परराष्ट्र सेवामा हुनुहुन्छ। सन् २००३ को अप्रिलदेखि नेपालको विदेश सेवामा रहनुभएका परराष्ट्र मन्त्रालयका सहसचिव भण्डारीले १६ अप्रिल २०१८ मा सार्क सचिवालयमा सूचना तथा गरिबी निवारण प्रभागको निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले काठमाडौंस्थित परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न पदमा सेवा गर्नुभएको छ।

उहाँले परराष्ट्र मन्त्रालयको सार्क शाखा (क्षेत्रीय संगठन प्रभाग) मा (अक्टोबर २०१७–अप्रिल २०१८) र उत्तरपूर्वी एसिया प्रभाग मा (फेब्रुअरी २०१६–अक्टोबर २०१७) उपसचिवको रूपमा कार्य गर्नुभयो। सन् २०१४ को जुनदेखि फेब्रुअरी २०१६ सम्म उहाँले परराष्ट्र सचिवको कार्यालयमा अधिकारी र संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठन तथा अन्तर्राष्ट्रिय कानुन प्रभाग मा डेस्क अफिसरको रूपमा काम गर्नुभयो।

उहाँले युरोप–अमेरिका प्रभाग र सामान्य प्रशासन प्रभाग मा पनि डेस्क अफिसरको रूपमा (अक्टोबर २००९–जुन २०१०) सेवा गर्नुभयो।

भण्डारीले  चीनको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासमा कन्सुल को रूपमा (जुन २०१०–जुन २०१४) कार्य गर्नुभयो। यसअघि उहाँले जिनेभास्थित संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि नेपालको स्थायी नियोगमा तृतीय सचिव (मार्च २००६–अक्टोबर २००९), दक्षिण एसिया प्रभाग (भारत र भुटान शाखा) र सामान्य प्रशासन प्रभागमा (अप्रिल २००३–मार्च २००६) काम गर्नुभयो।

उहाँ नेपालका प्रधानमन्त्रीको एसियाली–अफ्रिकी सम्मेलनको ६०औं वार्षिकोत्सव र नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको १०औं वार्षिकोत्सव, जकार्ता (२०१५), बोआओ फोरम फर एसिया (२०१६), हाइनान, साथै नेपालका प्रधानमन्त्रीको चीनको औपचारिक भ्रमण (२०१६ र २०१७) मा प्रतिनिधिमण्डलको सदस्यको रूपमा सहभागी हुनुभयो।

भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट लोक प्रशासनमा स्नातकोत्तर , अर्थशास्त्र र अंग्रेजीमा स्नातक  र कानुनमा स्नातक  डिग्री प्राप्त गर्नुभएको छ। उहाँले अस्ट्रेलियाको नेसनल युनिभर्सिटी (२०१५), इटालीको अन्तर्राष्ट्रिय मानवीय कानुन संस्थान (२००८), जिनेभाको वर्ल्ड ट्रेड अर्गनाइजेशन कानुन सल्लाह केन्द्र (२००७) र संयुक्त राष्ट्रसंघको प्रशिक्षण तथा अनुसन्धान संस्थान (२००६, २००७) बाट क्षेत्रीय र वैश्विक महत्त्वका विविध विषयहरूमा कूटनीतिक तालिमहरू लिनुभएको छ। हाल उहाँ पीएचडीको सिलसिलामा हुनुहुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com