टिप्पणी: विश्व राजनीतिमा अमेरिका, ‘सेटब्याक’ कि ‘कमब्याक’ ?
प्रकाशित मिति : माघ ९, २०८१ बुधबार
WASHINGTON, DC – JANUARY 20: U.S. President Donald Trump, first lady Melania Trump, Vice President JD Vance, and second lady Usha Vance dance with service members during the Commander-in-Chief Ball on January 20, 2025 in Washington, DC. President Trump attends some of the inaugural balls after taking the oath as the 47th president. Andrew Harnik/Getty Images/AFP (Photo by Andrew Harnik / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपथ समारोहपछि विश्वलाई अमेरिका ‘नयाँ सोच र गति’ बाट अघि बढ्न खोजेको स्पष्ट सन्देश दिएका छन्। यसअघि राष्ट्रपति हुँदा होस् वा हालको निर्वाचनअघि भएका विभिन्न प्रचारप्रसारका क्रममा उनी ‘एग्रेसिभ ट्रम्प’ को रूपमा देखिएका थिए। निर्वाचनका बेला व्यक्त गरिएका अधिकांश विचारलाई निर्वाचन जित्ने हतारको रूपमा आम मानिसले बुझे पनि कार्यभार सम्हालेको पहिलो दिनमै उनले नयाँ अमेरिकाको ‘कास्टिङ’ देखाएका छन्।
ट्रम्पले दोस्रो कार्यकालका लागि सपथ लिएलगत्तै ह्वाइट हाउसको आधिकारिक वेबसाइटमार्फत् ‘अमेरिका इज ब्याक’ सार्वजनिक भएको छ। विश्वको राजनीतिक एजेन्डाको सेटलमेन्टमा अमेरिकी भूमिका बलियो हुन्छ कि हुँदैन वा अमेरिकाभित्रका विभिन्न ट्रम्प योजनाहरू सफल कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने कुराले चार वर्षपछि ‘अमेरिका इज ब्याक’ श्लोगनको सार्थकतामाथि व्यापक बहस उठाउनेछ।
सपथ समारोहपछि कार्यकारी आदेशहरू जारी गर्दै ट्रम्पले अबको चार वर्ष ‘एग्रेसिभ मुभमेन्ट’ हुने संकेत गरेका छन्। तर, जारी भएका कार्यकारी आदेशहरूको न्यायिक परीक्षणले उनको गतिलाई सुस्त बनाउन सक्छ, किनभने राष्ट्रपतिद्वारा जारी कतिपय आदेशहरू अदालतसम्म पुग्नेछन्।
सुरक्षित र समृद्ध अमेरिकाको परिकल्पना ट्रम्पको मात्र होइन भन्ने कुरा उनको निर्वाचित हुनुले स्पष्ट गरिसकेको छ। उनले निर्वाचनका बेला व्यक्त गरेका कागजपत्रबिहीन आप्रवासीहरूको सामूहिक देशनिकाला (मास डिपोर्टेशन) गर्ने, मेक्सिको सीमामा पर्खाल लगाउने र संकटकाल घोषणा गर्ने जस्ता विषयहरू आफ्नो पहिलो कार्यकारी आदेशमा समेटेका छन्।
ट्रम्पले पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग हुने सम्बन्धी कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्। आगामी दिनमा विश्वको वातावरणीय मुद्दा र मानव स्वास्थ्यमा पर्ने बहुपक्षीय असरहरू ट्रम्पका लागि लामो समयसम्म विवादको विषय बन्न सक्छन्।
ट्रम्पले जन्मसिद्ध नागरिकताको प्रावधानविरुद्ध पनि कार्यकारी आदेश जारी गरेका छन्। संवैधानिक अधिकार भएकाले यसलाई सिधै रद्द गर्ने अधिकार राष्ट्रपतिसँग छैन। तथापि, उनले यसलाई संशोधन गर्नुपर्ने धारणा राखेका छन्, जसले जन्मसिद्ध नागरिकताको अधिकार खतरामा पर्ने देखिन्छ। संविधानको १४ औँ संशोधनद्वारा ग्यारेन्टी गरिएको यो अधिकार खारेज भएमा अमेरिकाभित्र जटिल समस्याहरू निम्तिने निश्चित छ। गैरनागरिकका बालबच्चाले जन्मसिद्ध नागरिकताको अधिकार पाउनु मानवताको आधारमा पनि आवश्यक छ।
ट्रम्पले अमेरिकाभित्रका केही सामाजिक र आर्थिक मुद्दामा पनि ध्यान दिन चाहेका छन्। गर्भपतनको मामिलामा ट्रम्पले कस्ता नीतिहरू ल्याउनेछन् भन्ने अहिले नै भन्न सकिँदैन, तर उनले केही कडाइ गर्ने संकेत दिएका छन्। त्यसैगरी, उनले विदेशी वस्तुको आयातमा करको दर वृद्धि गर्ने योजना समेत अघि सारेका छन्।
युक्रेन, रुस तथा अन्य देशहरूबीच भइरहेका युद्ध र विवादमा ट्रम्पको भूमिका कस्तो हुने हो भन्ने कुराले पनि विश्व राजनीतिमा नयाँ मोडहरू ल्याउनेछ। ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यदि रुस-युक्रेन युद्ध अन्त्य भयो भने त्यसले विश्वलाई नयाँ मोडमा पुर्याउनेछ र अन्य देशहरूबीच भएका युद्ध तथा विवाद समाधान गर्न दबाब बढ्नेछ।
ट्रम्प कार्यकालको अन्त्यमा विश्व राजनीतिमा अमेरिका ‘सेटब्याक’ भोग्नेछ कि ‘अमेरिका इज ब्याक’ भन्ने नारालाई सार्थक बनाउनेछ भन्ने विषयमा अहिले नै निश्चित रूपमा केही भन्न हतार हुनेछ।








