लुम्बिनी प्रदेशका होटलमा २ खर्बको लगानी , ६० हजारलाई रोजगारी
प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार
लुम्बिनी प्रदेशमा होटल व्यवसाय क्षेत्रले ६० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
प्रदेशका १२ जिल्लामा रहेका सानाठूलागरी करिब ११ हजार होटल व्यवसायीले प्रत्यक्ष रूपमा ६० हजारलाई रोजगारी प्रदान गर्दै आएको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष भास्कर काफ्लेले जानकारी दिनुभयो ।
उहाँले यस क्षेत्रमा यहाँ करिब दुई खर्ब लगानी भएको बताउनुभयो । होटल व्यवसाय क्षेत्रबाट राज्यलाई करिब ४० करोड वार्षिक करसमेत भुक्तानी हुँदै आएको छ ।
होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ पर्यटन प्रवद्र्धन नै होटल व्यवसायको मुख्य आधार भएकाले होटल व्यवसायीलगायत सरोकार भएकाहरूले यसतर्फ ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
होटल व्यवयासीले सम्बन्धित जिल्लाका संस्कार र संस्कृतिसहित पर्यटकीय सम्पदाको तस्बिर होटलका कोठा र हलमा राख्ने तथा सम्पदाको नामबाट नामकरण गर्ने अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सरकारले होटल तथा पर्यटन व्यवसायमैत्री नीति ल्याउनसके होटल व्यवसाय फस्टाउँदै जाने र थप रोजगारीको सिर्जना हुने विश्वास गरिएको छ । राज्यले होटल व्यवसायलाई उद्योगका रूपमा दर्ता गरे पनि हालसम्म आफूहरूले सोअनुसार कुनै पनि सेवासुविधा नपाएको व्यवसायीले बताएका छन् ।








