इटालियन समुद्र तटबाट केही चिम्टी बालुवा चोरी गर्दा ३ हजार युरो जरिवाना र जेल हुनसक्ने
प्रकाशित मिति : जेष्ठ १०, २०८१ बिहीबार
आजकल विभिन्न स्थानमा पुगेर छुट्टी मनाउनेहरूले यात्राको सम्झना घरमा ल्याउन विभिन्न उपायहरु अपनाउने गर्छन् । यात्राको सम्झना स्वरुप टोकन, टिसर्ट, पोष्टकार्ड जस्ता सामान ल्याउने चलन पुरानो भएपनि केहीले भने फरक खालका उपायहरु पनि अपनाउँछन् ।
सार्डिनियाको इटालियन आइल्याण्डको सेतो बालुवा निकै चर्चित भएकाले केही पर्यटकले उक्त बालुवा अलिकति भएपनि घरमा ल्याउने चाहना राख्न सक्छन् । तर केही चिम्टीमात्र पनि उक्त सेतो बालुवा घरमा ल्याउँदा ठूलो रकम जरिवाना वा जेलको सजाय पनि हुनसक्छ ।
सार्डिनियाको समुद्र तटको अविश्वसनीय सौन्दर्यले यो टापुमा छुट्टी मनाउन जानेहरुको भींड लाग्छ । साथसाथै द्वीपको प्राकृतिक सम्पदाको चोरी बढ्दै गएपछि सार्डिनियाका अधिकारीहरूले कारवाही सुरु गरेका छन् । टापुबाट बालुवा, ढुङ्गा वा पुरातात्विक वस्तुहरू लगेको पाइएमा ३ हजार युरोसम्म जरिवाना तिर्नु पर्छ।
बालुवा चोरी बढेपछि स्थानीय सरकार कडा कदम चाल्न बाध्य भएको हो । ठूलो मात्रामा बालुवा चोर्ने दोषीहरूलाई एक वर्ष जेल पनि हुन सक्छ। केहीबर्ष अगाडि एक फ्रान्सेली जोडी आफ्नो कारमा ८० पाउण्डभन्दा बढी सार्डिनियन बालुवा हालेको पाइएपछि पक्राउ परेका थिए।
त्यसपछि यो विषय चर्चामा आउन थालेको हो । उनीहरूले बालुवालाई सम्झनाको रूपमा घरमा लैजान खोजेको प्रहरीलाई बताएका थिए । आफूले अपराध गरेको उनीहरुलाई लागेको थिएन । यद्यपि कानुनको अज्ञानताले उनीहरूलाई छ वर्षसम्म जेल सजाय भोग्नबाट जोगाउन सकेन। अर्थात् उनीहरुलाई ६ बर्ष जेल सजाय सुनाइएको थियो ।
एक रिपोर्ट अनुशार अगस्ट २०२१ को मध्यतिर टापुका समुद्री तटबाट कम्तिमा छ टन बालुवा लगिएको अनुमान गरिएको थियो । सार्डिनियाले समुद्र तटहरूमा पहुँचमा नयाँ नियमहरू पनि ल्याएको छ । ला माडालेनाको द्वीपसमूहमा पर्यटक पहुँच दुई समुद्र तटहरूमा मात्र सीमित गरिएको छ।








