झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर


प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार

रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ ।

सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ । झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ । सिङ्गो झ्याङ गाउँका बासिन्दाले लुसुन खेती गरिरहेका छन् । बाइस परिवार रहेको यो गाउँमा सबैले लसुन खेती गरिरहेका छन् । लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ ।

गाउँमा पहिलो पटक २०६२÷६३ सालदेखि लसुन खेती सुरु गर्नभएका स्थानीय ७१ वर्र्षीय झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताउनुभयो । “गाउँमा पहिलो पटक लसुन खेती गर्ने कुषक म नै हुँ, पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ,” खड्काले भन्नुयभो । गहुँबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उहाँ बताउनुहुछ । “गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ ।”

गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट रु एक लाख १० हजार आम्दानी भएको खड्काले बताउनुभयो । एक दशकअघिको कुरा स्मरण गर्दै खड्काले भन्नुभयो, “पहिले डोकामा बोकेर चार घण्टा हिँडेर सदरमुकाम खलङ्गा पुगेर लसुन बिक्री गरेको हुँ, अहिले त गाउँ नजिकै सडक पुगेको छ । त्यही लगेर गाडीमा सजिलै बजार पुर्‍याउन सकिन्छ । धैरै कुरामा सहज भएको छ ।” लसुनबाट मनग्य आम्दानी हुने भएकाले गहुँ लगाएको बारीमा आगामी वर्षदेखि लसुन खेती गर्ने सोच उहाँको छ ।

स्थानीय ६१ वर्षीय कर्णबहादुर खड्का पनि यतिबेला लसुनले फल लगाउने ९गाना० समय भएकाले लसुन खेतीको रेखदेख तथा गोडमेलनमा व्यस्त हुनुन्छ । घर नजिकैको केही जग्गामा गहुँबाट खेती गरे पनि धेरै जग्गामा लसुन खेती गर्नुभएको छ । गत वर्षको भन्दा यसपटक अलि धेरै लसुन खेती गरेको खड्काले बताउनुभयो । विंस २०६८ देखि व्यावसायिक लसुन खेतीमा लाग्नुभएका खड्का लसुन खेतीबाट सन्तुष्ट हुनुहन्छ । “गहुँ खेतीभन्दा लसुन खेतीलाई जोड दिएको छु, गहुँ खेतीबाट परिवारको खर्च व्यवस्थानप गर्न समस्या हुन्थ्यो, व्यावसायिक लसुन खेती गर्न थाले पनि आर्थिक रुपमा सहज भएको छ,” उहाँले भन्नुभयो ।

“पहिले बजारको समस्या हुँदा व्यावसायिक रुपमा खेती गर्न सकिएको थिएन, अहिले त जति उत्पादन भए पनि लसुन खरिद गर्न ठेकेदार किसानकै बारीमा आउने गरेका छन्, यसले गर्दा पनि हामीलाई व्यावसायिक रुपमा लसुन खेती गर्न थप हौसला मिलेको छ”, खड्काले भन्नुभयो । उहाँले गत वर्ष लसुन बिक्रीबाट बीउबाहेक रु ८३ हजार आम्दानी गरेको सुनाउनुभयो ।

खड्काहरुको बसोबास रहेको यो गाउँमा पछिल्लो सयम लसुन खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । उत्पादन र आम्दानी दुवै राम्रो पाउने भएपछि लसुन खेतीमा आकर्षण बढ्दै गएको स्थानीय समेत रहनुभएका मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताउनुभयो । उहाँ पनि शिक्षक पेसासँगसँगै साँझ बिहानको समयम लसुन खेती गर्दै आउनुभएको छ । शिक्षण पेसामा २५ वर्ष खर्चिनुभएका खड्का कृषि पेसालाई पनि सगँसँगै अँगाल्दै आउनुभएको छ । लसुनबाट मनग्य आम्दानी देखेपछि २०६८ सालदेखि व्यावसायिक लसुन खेती गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

“बारीमा अहिले एक सय २० किलो लसुन लगाएको छु, गत वर्ष बीउबाहेक रु ९० हजार आम्दानी भयो, यो वर्ष लसुनबट राम्रै आम्दानी हुने विश्वास छ । वडामा उत्पादन भएको लसुन बिक्रीमा समस्या छैन्, कृषकले उत्पादन गरेको लसुन बारीमै पुगेर व्यापारीले कृषकसँगै मूल्य निर्धारण गरेर खरिद गर्ने गरेका छन्,” शिक्षक खड्काले भन्नुभयो । प्रचारप्रसार, अनुदानमा बीउ वितरण, बजार व्यस्थापनको सहजीकरण वडाले गरेको छ । लसुन उत्पादन गर्ने किसानलाई प्राविधिक ज्ञान पर्याप्त नभएकाले प्राविधिक ज्ञानको आवश्यक रहेको शिक्षक खड्काले बताउनुभयो । कुन बेला गोडमेल गर्ने, कुन औषधि प्रयोग गर्ने, बीउ कसरी लगाउने, प्राङ्गारिक मल व्यवस्थापनलगायत विषयमा प्राविधिकले किसानको खेतबारीमै पुगेर सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लसुन खेतीलाई व्यवस्थित गर्न वडाको प्रयास

वडामा लसुन खेतीलाई व्यवस्थित गर्न वडा कार्यालय योजना बनाएर अगाडि बढेको वडाअध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको कृषिजन्य वस्तु मूल्य नपाएर त्यतिकै खेर जाले अवस्था आउन नदिन वडाले उत्पादनसँगै बजार व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेको छ । कृषकलाई प्रोत्साहन गर्न अनुदानमा बीउ वितरण, राम्रो उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आएको छ । वडामा उत्पादन भएको कृषिजन्य बस्तु व्यापारीसँग वडाले समन्वय गरेर सल्यान, दाङ, काठमाडाँैसम्म पठाउने गरेको छ ।

झ्याङगाउँमा प्रत्येक कृषकले एक क्विन्टलदेखि माथि लसुन खेती गरिरहेका छन् । झ्याङगाउँमा लसुन खेतीलाई थप व्यवस्थित गर्न आउँदो वर्षदेखि अन्यबाली लगाएका ठाउँमा पनि लसुन खती गर्ने योजना वडाले बनाएको छ । झ्याङगाउँमा पूरै जग्गामा लसुन खेती गर्न करिब दुई सय ५० क्विन्टल बीउ लाग्ने अनुमान गरिएको छ । अहिले झ्याङगाउँबाट वार्षिक दुई सय ५० क्विन्टल लसुन जिल्लाबाहिर जाने गरेको छ । बजार व्यवस्थापनको सहजीकरण वडाले गरिदिएकाले उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न कुनै समस्या नरहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

गाउँ नजिकै सडक पुगे पनि किसानको सजहताका लागि भूगोल अध्ययन गरेर गाउँमै सडक सञ्जाल पु¥याउने वडाको योजना छ । गाउँमै सडक जोडिएमा भने उत्पादन भएका कृषिजन्य वस्तुलाई बोकेर खोलासम्म पुर्‍याउने समस्या हुने छैन । वडाका किसानलाई व्यावसायिक रूपमा लसुन खेतीमा आकर्षित गर्न तथा आर्थिक रूपमा वडालााई सम्पन्न बनाउन वडाले २०७५ सालमा पहिलो पटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेका छन् । झ्याङ गाउँ रहेको वडाका तीन सय ६० किसानले लसुन खेती गर्ने गरेको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०८०÷८१ मा वडाले दुई सय ४५ परिवारलाई २० किलोका दरले ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल लसुन वितरण गरेको थियो ।

गत वर्ष सो वडाबाट पाँच सय क्विन्टल लसुन जिल्लाबाहिर बिक्रीका लागि पठाइएको थियो । उक्त लसुनबाट वडामा रु ५० लाख भित्रिएको छ । लसुन खेतीको सुरुआत भएको झ्याङगाउँमा रु १० लाख खर्चेर गाउँको बीच भागमा लसुनको प्रतिमा सहितको ‘लसुन उद्यान’ निर्माण गरिएको वडाअध्यक्ष खड्काले बताउनुभयो । गाउँमा लसुन उत्पादन भएर जिल्लाबाहिर जाने भएपछि जिल्ला बाहिरबाट बीउको माग बढेको छ । चालू आर्थिक वर्षमा वडालाई लसुन पकेट क्षेत्र घोषणा गरिएको छ । प्राङ्गारिक मल प्रयोग गरेर अग्र्यानिक उत्पादन गर्ने र वडालाई अग्र्यानिक उत्पादनका रुपमा घोषणा गर्ने वडाको लक्ष्य छ । वडामा लसुन खेतीसँगै सुन्तता खेतीको पनि राम्रो सम्भावना रहेकाले वडालाई आर्थिक रुपमा सम्पन्न बनाउन वडामा उत्पादन हुने कृषिजन्य वस्तुलाई पहिलो प्राथमिकतामा राखेर व्यावसायिकीकरणमा जोड दिइएको वडाअध्यक्ष खड्काले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com