म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडक निर्माण


प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई-दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्स्ट्रक्सनले रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको छ । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

गत फागुन महिनामा सम्झौता भएको योजना आगामी २०८१ साल असार २० गते सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका इञ्जिनियर लोकेन्द्र रावलले बताउनुभयो । “दुईवटा डोजर परिचालन गरेको ठेकेदार कम्पनीले लुलाङतर्फबाट करिब नौ सय मिटर सडकको मार्ग खोल्ने काम सकिसकेको छ,” उहाँले भन्नुभयो, “दुई लाख पाँच हजार घनमिटर माटो कटिङ गर्ने सम्झौताअनुसार देउराली डाँडासम्म करिब ६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको छ ।”

गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको छ । गत वर्ष गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङदेखि लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देउरालीदेखि गुर्जातर्फ पनि सडक निर्माणका लागि आगामी वर्षको बजेटमा पनि योजना समेट्नका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।

एउटै बस्ती एकै वडामा समेटिएको दुई सय ६५ घरधुरी रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँचजना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर ’चार्टर‘ गर्नुपर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com