नेपाली महावाणिज्यदूतावास न्युयोर्कले पासपोर्ट आवेदनको अप्वाइन्टमेन्ट खोल्ने दिन वेवसाइटमा घोषणा गर्ने


प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार

नेपाली पासपोर्ट

नेपाली महावाणिज्यदूतावास न्युयोर्कले पासपोर्ट आवेदनको अप्वाइन्टमेन्ट खुलाउने दिन अब महावाणिज्यदूतावासको वेवसाइटमार्फत नै घोषणा गर्ने भएको छ । अप्वाइन्टमेन्टको स्लटहरु खुलेको केही दिनमा नै बुक भइसक्ने भएकाले कतिपय सेवाग्राहीले पासपोर्ट आवेदनका लागि अप्वाइन्टमेन्ट खुलेको थाहै नपाउने अवस्था आएकाले महावाणिज्यदूतावासले अप्वाइन्टमेन्ट खुलाउने दिन वेवसाइटमा घोषणा गर्ने भएको हो । यसबाट पासपोर्टका लागि अप्वाइन्टमेन्ट लिन चाहनेहरुले अप्वाइन्टमेन्ट खुल्ने समय थाहा पाउने र आफै अप्वाइन्टमेन्ट लिन सहज हुने अपेक्षा गरिएको छ ।

नेपाली दूतावासहरु र महावाणिज्यदूतावासहरुमा पासपोर्टका लागि आवेदन दिने क्रममा लाइभ इनरोलमेन्टका लागि अप्वाइन्टमेन्ट पाउन मुस्किल हुने गुनासो सेवाग्राहीहरुको छ । उपलब्ध अप्वाइन्टमेन्टका स्लटहरुको तुलनामा पासपोर्टका लागि आवेदन दिन चाहनेहरुको संख्या अत्याधिक भएकाले अप्वाइन्टमेन्ट लिनमा समस्या हुने गरेको छ । त्यसैले अप्वाइन्टमेन्टका लागि स्लटहरु खुल्नेबित्तिकै आफ्नो अनलाइनबाट अप्वाइन्टमेन्ट सुरक्षित गरिहाल्न महावाणिज्यदूतावास न्युयोर्कका अधिकारीहरुले सुझाव दिएका छन् ।

महावाणिज्यदूतावास न्युयोर्कका अनुशार सामान्यतया हरेक महिनाको अन्तिमसाता अर्को महिनाका लागि अप्वाइन्टमेन्टका स्लटहरु उपलब्ध गराउने गरिएको छ । अँग्रेजी महिना समाप्त हुनु झण्डै एकसाता अगाडि नै यस्ता अप्वाइन्टमेन्टका स्लटहरु उपलब्ध गराइने भएकाले हरेक महिनाको अन्तिमसाता जतिसक्दो छिटो आफ्नालागि अप्वाइन्टमेन्ट सुरक्षित गर्न सुझाव दिइएको छ । उदाहरणका लागि अप्रिलका लागि मार्चको अन्तिमसाता एकैपटक अप्वाइन्टमेन्ट खोलिने भएकाले र केही दिनमा नै स्लटहरु पूर्ति हुने भएकाले मार्चभरमा नै अप्वाइन्टमेन्ट लिइसक्नुपर्ने हुन्छ ।

हरेक महिनाको अन्तिम साता झण्डै ४ सय अप्वाइन्टमेन्टहरु खुलाइने र ती स्लटहरु एकसाता वा त्योभन्दा पनि छिटो बुक भइसक्ने महावाणिज्यदूतावासका अधिकारीहरु बताउँछन् । कतिपय अवस्थामा अप्वाइन्टमेन्टहरु खुलाएको तीनचारदिनमा नै बुक भइसक्ने र कतिपय अवस्थामा भने केहीदिनसम्म पनि बाँकी रहने गरेको अनुभव रहेको छ । सिमित साधन श्रोतका कारण हरेक दिन पन्ध्रदेखि २० जनासम्मलाईमात्र पासपोर्ट आवेदनमा सेवा दिनसक्ने अवस्था भएको महावाणिज्यदूतावासको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आपतकालिन अवस्थामा रहेका आवेदकहरुलाई स्थीति हेरेर आपतकालिन अप्वाइन्टमेन्टहरु पनि उपलब्ध गराइदै आएको महावाणिज्यदूतावासको भनाई छ । कुनै आपतकालिन परिस्थीतिका कारण यात्रा गर्नुपर्ने भएमा वा पासपोर्ट चाहिएमा आपतकालिन अप्वाइन्टमेन्टहरु पनि उपलब्ध गराइदै आएतापनि पासपोर्ट बनेर आउन झण्डै २ महिनासम्म लाग्ने भएकाले आपतकालिन यात्रा गर्नुपर्ने र पासपोर्टको म्याद सकिन लागेका वा सकिएकाहरुले ट्राभल डकुमेन्ट बनाएर पनि यात्रा गर्न सक्छन् ।

न्युयोर्कमा रहेको नेपाली महावणिज्यदूतावास

कनेक्टिकट, न्यूजर्सी, न्यूयोर्क, न्यू हेमशायर, पेन्सिल्भेनिया, भर्मन, मासाच्युसेट्स, मेन वा रोड आइल्याण्ड मध्येका राज्यमा बसोबास गर्नेहरुलाईमात्र न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासले सेवा प्रदान गर्ने भएकाले ती क्षेत्रमा बस्नेहरुलाईमात्र अप्वाइन्टमेन्ट लिन अनुरोध गरिएको छ । अन्य राज्यमा बस्नेहरुलाई वासिंटन डिसीमा रहेको दूतावासमा अप्वाइन्टमेन्ट लिन सुझाव दिइएको छ ।

न्युयोर्क महावाणिज्यदूतावासका लागि तोकिएको कार्यक्षेत्रानुसार जनशक्ति सानो र कार्यचाप उच्च रहेकोले सबै राज्यबाट प्राप्तहुने आवेदन प्रशोधन गर्न कठिनाई हुने महावाणिज्यदूतावासको भनाई छ । हाल न्युयोर्क महावाणिज्यदूतावास नेपाल सरकारको परराष्ट्रमन्त्रालयबाट खटिएका २ जनामात्र कर्मचारीहरु रहेका छन् । कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम सहसचिवमा बढुवा भएर नेपाल फर्किसकेकाले अहिले दूतावासमा वाणिज्यदूत विष्णुकुमारी अधिकारी र उपवाणिज्यदूत संगिता न्यौपानेमात्र रहेका छन् । केहीदिनमा कार्यवाहक महावाणिज्यदूतका रुपमा चक्र सुवेदी आउने तय भएपनि अहिलेसम्म आइसकेका छैनन् ।

पासपोर्टका लागि आवेदन दिंदा राहदानी विभागको वेवसाइटमा गएर लिनुपर्छ । यसरी लिंदा आफ्नो फोन, ल्यापटप वा अन्य डिभाइसमा टाइमजोन काठमाडौंको राख्नुपर्छ । आवेदन दिंदा सबै कागजातहरु तयारी अवस्थामा राख्नुपर्छ । किनभने आवेदन १५ मिनेटभित्र दिनुपर्ने भएकाले र उक्त समयभित्र नदिएमा सेसन सकिने तथा पुन आवेदन सुरु गर्नुपर्ने हुन्छ ।

आवेदन दिंदा अमेरिकाभित्र हुनेहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर हाल्नु अनिवार्य छैन । आवेदन दिने क्रममा नेपाली नागरिकता र पहिलेको पासपोर्टको पृष्ठ २ र ३ तथा ३० र ३१ को स्क्यान कपी अनलाइनबाटै पेश गर्नुपर्छ । थर परिवर्तन भएको भएमा विवाह दर्ता प्रमाणपत्रको कपी पनि पेश गर्नुपर्छ । नागरिकतामा भएको ठेगाना परिवर्तन भएको भएमा बसाईसराईको प्रमाणपत्र पनि पेश गर्नुपर्छ । न्युयोर्कको महावािणज्यदूतावासमा अप्वाइन्टमेन्ट लिइसकेपछि अनलाइनबाट फर्म पेश गरेर डाउनलोड गर्नुपर्छ । त्यसपछि प्री इन्रोलमेन्ट फर्मको कपी क्युआर कोडसहित प्रिन्ट गरेर तोकिएको दिन र समयमा महावाणिज्यदूतावासमा जानुपर्छ ।

प्रिन्ट गरिएको आवेदनका साथमा ओरिजिनल पासपोर्ट र फोटोकपी, ओरिजिनल नागरिक र फोटोकपी, थर परिवर्तन भएको भएमा विवाह दर्ताको फोटोकपी, बसाई सराई गरेको भएमा त्यसको फोटोकपीसहित महावाणिज्यदूतावासमा भौतिक रुपमा उपस्थीत हुनुपर्छ । नियमित नविकरणका लागि १५० डलर र हराएको तथा चोरी भएको अवस्थामा ३ सय डलरको मनी अर्डर वा क्यासियर चेक लैजानुपर्छ । नगद, डेबिट कार्ड, क्रेडिट कार्ड, व्यक्तिगत चेक स्वीकार नगरिने महावाणिज्यदूतावासले जनाएको छ । मनी अर्डर वा चेकमा अँग्रेजीमा कन्सुलेट जनरल अफ नेपाल न्युयोर्क लेख्नुपर्छ । त्यसपछि महावाणिज्यदूतावासमा आवेदकको बायोमेट्रिक्स लिइन्छ ।

महावाणिज्य दूतावासले राहदानी विभागबाट नयाँ राहदानी प्राप्त गरेपछि आवदेकको ठेगानामा पठाइनेछ । तर त्यसका लागि आवेदकले ट्र्याकिङ नम्बरसहितको आफ्नो ठेगाना लेखिएको प्रिपेड रिटर्न खामको व्यवस्था गरेको हुनुपर्छ । आफै पिकअप गर्न चाहनेले महावाणिज्यदूतावासको फ्रन्ट डेस्कबाट लिन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com