के ब्रिफिङ भयो सुन प्रकरणमा प्रधानमन्त्रीलाई, ब्यूरोले पाउँछ कि पाउँदैन जिम्मा
प्रकाशित मिति : श्रावण १९, २०८० शुक्रबार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १०० किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको अनुसन्धान ब्यूरोलाई दिनेबारे आज छलफल भएको छ । विमानस्थलबाट बाहिरिएको सुन प्रकरणको छानबिन केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिनु उचित होला त ?
आज भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजस्व अनुसन्धान विभागका महानिर्देशक नबराज ढुंगानाले सुन तस्करी प्रकरण संगठित अपराधको प्रकृतिको रहेको व्रिफिङ गरेपछि नेपाल सरकारका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले यो प्रकरणको छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिन उचित हुने राय दिनुभएको छ ।
सरकारको प्रमुख कानूनी सल्लाहकारको रुपमा रहने महान्यायाधिवक्ताको यो रायले अब सुन अनुसन्धान प्रकरण ब्यूरोको हातमा जाने अवस्था बनेको छ ।
छलफलमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवर र ब्यूरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पनि सहभागी हुनुहुन्थ्यो ।
सुन कारोबारको प्रकृति संगठित अपराधको देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाको ‘ब्रिफिङ’ र संगठित अपराधको अनुसन्धानको जिम्मेवारी ब्यूरोको भएको महान्यायाधिवक्ता पोखरेलको ‘ब्रिफिङ’ ले अब यसको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हातमा जाने निश्चितजस्तै भएको छ ।
राजस्व अनुसन्धान विभागले ब्यूरोलाई अनुसन्धानका लागि पत्राचार गर्ने वित्तिकै यो प्रकरण प्रहरीको हातमा आउनेछ ।
यस्ता संगठित अपराधको अनुसन्धानको क्षेत्र ब्यूरो हो त्यसो भएकोले यसलाई प्रहरीले नै गर्नुपर्ने हुन्छ, पोखरेलले प्रधानमन्त्रीलाई भन्नुभएपछि अब प्रहरीलाई लेखी पठाउने निश्कर्षमा पुगेको राजस्व विभाग स्रोतले जानकारी दियो ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थलको गेटबाट रेडी ट्रेड प्रालिले नेपाल भित्राएको सुन बरामद गरेको थियो । त्यस यता अनुसन्धान विभागले यस प्रकरणमा अनुसन्धानलाई तिब्र पार्दै आएको छ ।
स्कुटरको ब्रेक प्याडमा लुकाएर ल्याएको सुन सहजै भन्सार पास भई बाहिरिएको थियो । त्यसरी बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गेटैमा समातेको थियो ।
सुन तस्करी प्रकरणमा विभागले १७ जनालाई पक्राउ गरी म्याद थपर अनुसन्धान गरिरहेका छ । चिनियाँ र भारतीय नागरिक सहित पक्राउ परेकाहरुलाई अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको विभागले अब ब्यूरो मार्फत् संगठित अपराधको अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।
विभागसँग भन्दा प्रहरीको अनुसन्धान ब्यूरोसँग संगठित अपराधको अनुसन्धान क्षमता बढी हुने भएकाले पनि सुन प्रकरण ब्यूरोलाई जिम्मा दिने गृहकार्य अन्तिम चरणमा पुगेको स्रोतको भनाई छ । यसलाई ब्यूरोले अनुसन्धान गरेमा थप विवरणहरु बाहिर आउन सक्ने आंकलन पनि गरिएको छ ।






