कांग्रेसमा अनुशासन उलंघनका २१ सय उजुरी : कसैको वेवास्ता कसैलाई उन्मुक्ति
प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार
काठमाडौं। गत निर्वाचनमा घात भएको भन्दै नेपाली कांग्रेसमा अनुशासन उलंघनसम्बन्धी २१ सय उजुरी परेको छ । कांग्रेसका अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले काठमाडौंमा जारी केन्द्रीय समितिको वैठकमा सो कुराको जानकारी दिनुभएको हो ।
बैठकमा संयोजक ढुंगानाले दिनुभएको जानकारी अनुसार गत निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका, घातप्रतिघातमा संलग्न भएकाहरुको नाममा उजुरी परेको हो । ४६ जिल्लाबाट २१ सय उजुरी परेको र ती उजुरीहरुमाथि निर्णय हुन बाँकी रहेको छ ।
निर्वाचनमा अन्तर्घात भएको र निर्णय बेगर बागी उठेको विषयमा जिल्ला जिल्लाबाट कांग्रेसले उजुरी मागको थियो । जिल्ला तथा अन्य स्रोतबाट प्राप्त उजुरीमाथि छानबिन गरी सोही अनुरुपको निर्णय गरिनुपर्नेमा त्यसो नभएको प्रति कांग्रेसभित्र असन्तुष्टी समेत छ ।
उजुरी परेपनि आफ्ना नजिककोलाई छानबिन नै नगरी उन्मुक्ति दिइएको छ भने अर्का पक्षलाई सोही उजुरीको आधारमा तर्साउने काम भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । के कस्ता उजुरी आएका छन्, त्यसका बारेमा आजको केन्द्रीय समिति बैठकमा विस्तृतमा सदस्यहरुलाई जानकारी दिइएन, बैठकमा सहभागी एक जना केन्द्रीय सदस्यले भन्नुभयो –‘सरसर्ती जानकारी गराउने काम भयो, लिखित रुपमा अलि विस्तृतमा केही पनि जानकारी दिइएको छैन, उहाँले भन्नुभयो ।
कांग्रेसको केन्द्रीय समितिको वैठक आजदेखि राजधानी काठमाडौंमा सुरु भएको हो । झण्डै एक वर्षमा बसेको कांग्रेसको वैठकमा १० वटा एजेण्डा र ४ वटा प्रतिवेदन पेश भएका छन् । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको आजको वैठकमा अनुशासन उलंघनमा प्राप्त उजुरी र त्यसको स्थितिको बारेमा पनि विषयबस्तु प्रस्तुत भएका थिए ।
कांग्रेसले चालु आर्थिक वर्षमा ७ लाख सदस्यता थप्ने कार्य योजना समेत अघि सारेको छ । महामन्त्री गगन थापाले आजको वैठकमा यस्तो योजना अघि सार्नुभएको छ भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले १० वटा एजेण्डाहरु वैठकमा पेश गर्नुभएको छ ।






