जयनगर-भङ्गाह रेल सेवा विस्तार


प्रकाशित मिति : असार ३१, २०८० आईतबार

महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । “हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन । आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ । त्यही रेल चढेर भङ्गाहदेखि जनकपुर पुग्दा त खुसीको सीमा नै छैन । कसरी व्यक्त गरुँ ?”, साहले भन्नुभयो ।

उहाँका अनुसार २१ वर्षअघि जयनगरदेखि भङ्गाह विजलपुरासम्म रेल चलिरहेको थियो । त्यही रेलमा सो क्षेत्रका स्थानीयवासी जनकपुर र जयनगरसम्म यात्रा गर्थे तर रेल र रेल गुड्ने लिक तथा विगिही पुल भत्किएपछि सो सेवा अवरुद्ध भयो । “रेल बन्द भएपछि यतिका वर्षसम्म जनकपुर आउन पनि हामीलाई धेरै गाह्रो भएको थियो । जनकपुर पुग्न घन्टौँ लाग्थ्यो । अब रेल सञ्चालन भएपछि ३० मिनेटमै जनकपुर आवतजावत गर्न सहज हुने भयो । त्यसैले हाम्रो क्षेत्रका नागरिक निकै हर्षित छौँ”, साहले रासससँग भन्नुभयो ।

त्यसैगरी भङ्गाहकै ६० वर्षीया बेचनी थरुनीले पनि जीवनको उत्तरार्धमा फेरि आफ्नै आँगनमा रेल देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हो बौवा हमई नई लागल्छलकि अई उमर मे रेल देख पाइब, लेखिन आई अपने आँगनमे रेल देख्के बुझाइए कि हम् स्वर्ग देखरहल छि । आब बहुत जल्दी वही रेल चहड क जानकी मैया के दर्शन करबाक इच्छा अई -यो उमेरमा फेरि रेल हेर्न पाइला भनेर सपनामा पनि सोचेकी थिइनँ तर आज आफ्नै आँगनमा रेल हेर्न पाएकामा ज्यूँदै स्वर्ग देखेजस्तो लागिरहेको छ । अब त्यही रेल चढेर जानकी माताको दर्शन गर्न जनकपुर पुग्ने इच्छा छ) ।”

साह र थरुनी मात्रै होइन, भङ्गाहमा २१ वर्षपछि रेल देख्दा स्थानीयवासी निकै हर्षित छन् । त्यसैले आसपासका गाउँबाट समेत ट्र्याक्टर, मोटरसाइकल र निजी सवारीसाधनमा हजारौँ मान्छे रेल हेर्न आएका थिए । त्यहीबीचमा सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले झण्डा हल्लाएर रेललाई जनकपुरका लागि बिदाई गरेपछि स्थानीयवासीले पनि हात हल्लाएर खुसी व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसअघि रेलसेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले जयनगरदेखि जनकपुर कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएकामा अब थप १७ दशमलव तीन किलोमिटरसहित ५२ दशमलव तीन किलोमिटर लामो दूरीमा सेवा सञ्चालन हुन लागको बताउनुभयो । उहाँले गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्चस्तरीय भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालले संयुक्तरूपमा यो खण्डको भुर्चअल उद्घाटन गर्नुभएअनुसार रेल सञ्चालन भएको बताउनुभयो ।

“हामी भारत सरकारको रु १२ अर्बको अनुदान लागतमा बनेको यो खण्डमा रेल सञ्चालन गर्दैछौँ । त्यसका लागि म भारत सरकार र त्यहाँको जनताप्रति आभार व्यक्त गर्न चाहन्छु । प्रधानमन्त्री दाहालको भारत भ्रमणकै बेला कुर्था–विजलपुरा यात्रुबाहक रेलसेवा र भारतको बथनाहादेखि नेपालको विराटनगरसम्म मालबाहक कार्गो सेवा सञ्चालनका लागि एकैसाथ उद्घाटन भएको हो । अहिले यो खण्डमा रेलसेवा सञ्चालन भइसक्यो, अब बथनाहा–विराटनगर खण्डको प्रक्रिया सुरु भइसकेको छ । चाँडै कार्गो सेवा पनि सञ्चालन गर्नेछौँ”, मन्त्री ज्वालाले भन्नुभयो ।

यसअघि न्यारोगेज रेलसेवा सञ्चालन भएको ठाउँमा अब ब्रोडगेज सेवा सुरु भएको भन्दै मन्त्री ज्वालाले यसले यातायात क्षेत्रमा ‘ब्रेकथ्रु’ को काम गर्ने बताउनुभयो ।

त्यसैगरी नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दोस्रो चरणमा विजलपुरासम्म रेलसेवा विस्तार गरिएको र जग्गाको मुआब्जा विवाद समाधान भएमा चाँडै तेस्रो चरणमा भङ्गाह विजलपुराबाट बर्दिवाससम्मको रेलवे पूर्वाधार निर्माणको काम सुरु हुने बताउनुभयो ।

कार्यक्रममा भारतीय राजदूतावासका डिसिएम प्रसन्न श्रीवास्तवले नेपालका प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भएको सम्झौतानुसार रेलसेवा विस्तार भएको र यसले नेपाल–भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विगत १५ महिनादेखि भारतको जयनगरबाट धनुषाको जनकपुरधाम कुर्थासम्म रेलसेवा सञ्चालनमा थियो । विसं २०७८ चैत १९ गतेदेखि सञ्चालनमा आए पनि सुरुमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउनेजाने गरी चारपटक सेवा दिइरहेको छ ।

आज भङ्गाहसम्म सेवा विस्तार भएसँगै भोलिदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गरिने महाप्रबन्धक झाले बताउनुभयो । यद्यपि भङ्गाहा स्टेशनमा दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने गरी सेवा प्रदान गर्ने झाले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com