युवा साहित्यकार अमृत भुषालको ‘शिखा’ पठनीय


प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार

-विष्णुप्रसाद घिमिरे

दन्तचिकित्सा क्षेत्रमा क्रियाशिल यूवा अमृत भुसालद्वारा लिखित ‘शिखा’ उपन्यास बजारमा आएको छ । उपन्यास विमोचन समारोहमा बुटवलका अग्रज साहित्यकारहरुले साहित्यले समाज, समसामयिक परिवेश, प्रेमलाई छर्लङ्ग पार्ने हुनाले हरेक कृतिका रचनाकार समाजको आँखा भएको धारणा व्यक्त गरे ।

उनीहरुले उपन्यासकार भुसालको पहिलो कृति नै पठनीय भएकोले निरन्तर कलम चलाउनु सुझाव दिए । लुम्बिनी वाङमय प्रतिष्ठान, रूपन्देहीद्वारा बुटवलमा आयोजित कृति विमोचन समारोहमा बोल्दै प्राध्यापाक डाक्टर कुसुमाकर न्यौपानेले रचना गर्नु वा कृति निकाल्नु मात्र साहित्य नभएर यो विधामा अध्ययनका साथ निरन्तर लाग्न सकेमात्र असल साहित्यकार हुन सकिने बताए ।

अग्रज साहित्यकारहरु न्यौपाने, प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष देवेन्द्र घिमिरे, प्राध्यापक डाक्टर कपिलदेव लामिछाने, प्राध्यापक डा हिरण्यलाल ज्ञवाली, बुँद राना, ऋषिराम भुसाल बालकृष्ण भट्टराई, बाबुराम ज्ञवाली, जंगबहादुर शाह, अर्जुन ज्ञवाली, दुर्गा पौडेल, प्रा डा रामचन्द्र आचार्य, डिल्लीराज भट्टराईलगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।

कृतिको समीक्षा गर्दै साहित्यकार डा। शिव पौडेलले शिखा उपन्यासले समाज, युवापुस्ताको दृष्टिकोण, विदेश र विदेशी संस्कृतिप्रतिको मोह, साइबर संस्कृतिलगायतका विषयलाई राम्रोसित उठाएकोले पाठकले मन पराउने बताए ।

अर्का समीक्षक राजेन्द्रकुमार आचार्यले आदर्श प्रेम, मीठो व्यञ्जनाको प्रस्तुति र यौन सम्बन्धलाई शिष्ट बनाउन खोज्नु लेखकको विशेषता भएको औल्याए । त्यस्तै अर्का समीक्षक युवा साहित्यकार रामचन्द्र श्रेष्ठले साहित्यमा राम्रा आख्यानकारहरुको खडेरी लागिरहेको बेला शिखा उपन्यास आउनु सकारात्मक भएको बताए ।

सो अवसरमा बोल्दै कृतिकार अमृत भुसालले आफू दन्तचिकित्सा क्षेत्रमा रहे पनि समाजसेवा र गरिब, विपन्नलाई सेवा गर्दा आफूलाई आनन्द आउने गरेको बताए । समाजका केही घटनाले आफूलाई छोएकाले पनि कृकिो रचना गर्न हौसला मिलेको उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठान रुपन्देहीका उपाध्यक्ष बालकृष्ण भट्टराई, प्रष्ठिानका सचिव ऋषि आजाद, बुटवल साहित्य, कला संस्कृति प्रष्तिठानका अध्यक्ष दीपक ज्ञवाली, डा कपिलदेव लामिछाने, बुद राना, ऋषिराम भुसाल, जंगबहादुर शाह, दुर्गा पौडेल, डिल्लीराज भट्टराई, सोनु गुरुङ, गंगा अभिलाषी, भुवनसिंह विश्वकर्मालगायतले साहित्यबारे चर्चा गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com