विश्वव्यापीरूपमा देखापरेको आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभएको छ । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको सङ्केत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनुभयो ।

मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी समृृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौँ ।”

आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रु पाँच खर्ब ८५ अर्ब वित्तीय अभाव भएको उहाँको भनाइ छ ।

“सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२।८ प्रतिशत हुन्छ । यो कोभिड–१९ महामारीपूर्वको अनुमान भएकोले हाल यो वित्तीय अभाव बढ्न सक्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रूपमा वित्तीय स्रोतका विभिन्न स्वरूपको सम्मिश्रण गर्नुपर्दछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्दै उहाँले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको बताउँदै उहाँले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।

समिटमा नेपाल, भारत, श्रीलङ्का, कोलम्बियालगायत १५ देशका अर्थमन्त्रीहरूको सहभागिता रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com