गाँउमा विकास थपिँदै बस्ती रित्तिँदै, बसाइँसराइ शहरतिर थपिदै


प्रकाशित मिति : पुस १८, २०७९ सोमबार

बागलुङ नगरपालिका–८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ । अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको छ भने ‘एक घर, एक धारा’ निर्माणलेसमेत तीव्रता पाएको छ ।

सिगानाको उपल्लो भाग बौडैचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन भइरहेको छ भने अबको दुई वर्षमा उक्त स्थानमै सडक कालोपत्र पुग्नेछ । तर सिगानामा विकास निर्माणले तीव्रता पाए पनि बसाइँसराइका कारण बस्ती भने क्रमशः खाली हुँदै गइरहेका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाको उपल्लो लामाचौरमा ३० घरमध्ये १२ घर रित्तै छन् । लामस्चौरको कार्की थर, बाहुन थर र थापाथरका ३० घरमध्ये अधिकांशको सहर बजारमा घरसमेत छ । अधिकांश घर चाडपर्वमा मात्रै खुला हुने गरेका छन् । सिगानामा सबैभन्दा कम बसाइँसराइ लामीचौरको दलित बस्तीमा र बढी बसाइँसराइ उपल्लो लामीचौरमा रहेको स्थानीय शिक्षक कर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

“उपल्लो लामीचौरको कार्की, बाहुन र थापा थरमा ३०/३५ घर छन्, जसमध्ये १०/१२ घर त पूर्णरुपमा नै रित्ता छन्, केही घर चाडपर्वमा मात्रै खुल्छन् भने केही घरमा मात्रै मानिसको बसोबास छ”, कार्कीले भन्नुभयो, “सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपानीका लागि काम थालिएको छ, वडा कार्यालयसम्म कालोपत्र सडक आउने भएको छ तर यहाँको बस्ती भने क्रमशः रित्तिँदै छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिगानाको दूर्गम क्षेत्र मानिएको बौडेचौरले विकासमा मुहार फेरे पनि बसाइँसराइ भने नरोकिएको सिगानाका निर्वतमान वडाध्यक्ष जीतबहादुर जिसीले बताउनुभयो । पाँच वर्षमा बौडैचोरका जम्मा ११ घरमध्ये तीन घर बन्द छन् । तर पछिल्लो समय बौडैचौरमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ । खानेपानीको व्यवस्थापन भएको छ भने दलौमै नर्सिङ सेवासहितको विद्यालयसमेत रहेको छ । विकास थपिँदै जाँदा बस्ती बिस्तार हुनुपर्नेमा बिस्तारै बस्ती खाली हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । “हामीले विकास त भित्र्याएका छौँ तर विकासले बसाइँसराइ नरोकिएको देखियो, यो समग्र बागलुङको चिनारी हो”, जिसीले भन्नुभयो, “हुनेखानेहरु बसाइँसराइ गर्ने नै भए हुँदा खाने अवसर र रोजीरोटीका लागि घर छोड्न बाध्य छन्, अब विकाससँगै गाउँमा उद्यमी बनाउन र गाउँ फर्काउन सकिने योजना ल्याउन आवश्यक देखिन्छ ।”

बागलुङ नगरपालिका मात्रै हैन जिल्लाको गलकोट नगरपालिका–७ टोकरीगाउँ बसाइँसराइको नमुना नै बनेको छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घरपरिवार बस्ने टोकरीगाउँमा बसाइँसराइका कारण अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । बसाइँसराइका कारण रित्तिएको बस्तीबाट अहिले सडक कालोपत्र पुग्नेगरी धमाधम निर्माण भइरहे भए पनि विकासले बसाइँसराइ रोक्न नसक्नु विषय दुःखद् रहेको गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताउनुभयो ।

यहाँका अधिकांश युवा जापान पुगेपछि बसाइँसराइले तीव्रता पाएको छ । यहाँका अधिकांश परिवार गलकोट नगरपालिकाको केन्द्र हटिया, बागलुङ बजार, पोखरालगायतका क्षेत्रमा बसाइँसराइ गर्ने चलन रहेको थापाले बताउनुभयो ।

गलकोट नगरपालिकाले बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा सहजरूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको भए पनि सडकको विकासले मात्रै बसाइँसराइ रोक्न समस्या देखिएको छ । सडकको पहुँच पुगेपनि उच्च शिक्षा, रोजगारी र स्वास्थ्य सेवाका लागि पछिल्लो समय बसाइँ गर्ने कार्यले तीव्रता पाएको छ ।

बसाइँसराइका कारण गाउँ उराठिँदा बाँदरको बिगबिगीलेसमेत सताउने गरेको छ । पछिल्लो समय बसाइँसराइका कारण गाउँका घर खाली हुँदै र जमिन बाँझो हुँदै गएपछि अन्य खेती भइरहेको जग्गामा समेत बाँदरको प्रकोपका कारण गाउँ छोड्नुपर्ने अवस्था रहेको छ । निर्वाचनका समयमा बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालगायतका क्षेत्रका जनताले बाँदर नियन्त्रणको योजना ल्याउन आग्रह गरेको बताउँदै नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बाँदरको समस्यासँग बसाइँसराइ जोडिएको बताउनुभयो ।

“बसाइँसराइका कारण केही घर खाली छन्, त्यहाँ बाँदरको बास हुन्छ, अन्य किसानको खेतबारीमा लगाएको खेतीपाती बाँदरले नाश पार्दा उनीहरुसमेत बाध्यताले बसाइँसराइ गर्नुपर्ने अवस्था छ”, सुवेदीले भन्नुभयो, “सडक चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइँसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनीकरण गराउँदै लैजानुपर्दछ ।” बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाका कारण यहाँको विकासमा मुहारै फेरे पनि बसाइँसराइ रोकिन नसक्नु दुःखद् विषय बनेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका कारण विकासले मुहारै फेरेको भए पनि बसाइँसराइ भने रोकिएको छैन ।

पछिल्लो समय विद्यालय भवन सुविधा सम्पन्न निर्माण हुने तर विद्यार्थीको सङ्ख्या घट्दै जाने, सडक, विद्युत्, सञ्चारलगायतको सुविधा बढ्दै गए पनि बसाइँसराइ रोकिन नसक्नु चिन्ताको विषय बनेको उनीहरुको गुनासो छ । स्थानीय तहले बसाइँसराइ रोक्नका लागि भौतिक विकासलाई तीव्रता दिए पनि औद्योगीकरण र स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको तमानखोला गाउँपालिकाका स्थानीय चूडामणि छन्त्यालले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com