दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै


प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार

बाँकेका दुई दुर्गम गाउँपालिकामा देखिने मोबाइल नेटवर्कको समस्या अन्त्य हुने भएको छ । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएपछि सो समस्याको अन्त्य हुने भएको हो ।

यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासीलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नं १ ९क० का प्रदेशसभा सदस्य कृष्णा केसीले जानकारी दिनुभयो ।

थप टावरको जडान र भएका टावरको क्षमता वृद्धिका लागि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसँग माग गरेपछि टावर जडानको निर्णय भएको उहाँले बताउनुभयो । “विभिन्न ठाउँका विभिन्न जङ्गलको राजमार्गमा नै मोबाइलको नेटवर्क देखिँदैन, त्यसैले यस्तो समस्याको अन्त्य गर्न खोजेको हो”, प्रदेशसभा सदस्यमा केसीले भन्नुभयो । अहिले सो क्षेत्रमा नौ थान थप टावर जडान हुनेछ ।

गत वर्ष पनि यसका लागि पहल भएको तर बाँके राष्ट्रिय निकुञ्ज र वन मन्त्रालयका कारण काम नभएको उल्लेख गर्दै उहाँले अहिले त्यस्तो समस्या नदोहोरिने बताउनुभयो ।

नेटवर्कले काम नगर्ने स्थानमा थप टावर स्थापना गर्ने र कम क्षमता भएका टावरलाई क्षमता वृद्धि गर्ने निर्णय गरिएको नेपाल टेलिकमले जानकारी दिएको छ । कोहलपुरको चप्परगौडीदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका धेरै ठाउँमा टावर नहुँदा मोबाइल नेटवर्कको समस्या रहेको बताइएको छ ।

यी क्षेत्रमा टेलिफोनको पहुँच पु¥याउन यस साताबाट सर्भेसमेत सुरु गरिने र भएका टावरमा क्षमता विस्तारको काम तत्काल नै सुरु गरिने प्रदेशसभा सदस्य केसीले बताउनुभयो । उक्त क्षेत्रमा टावर विस्तार भएपछि टेलिकमको फोर जी सेवासमेत सञ्चालन हुने छ ।

कोहलपुर चप्परगौडीदेखि दाङको शिवखोलासम्मको अधिकांश राजमार्गमा नेटवर्कले काम नगर्ने भएकाले विभिन्न भागमा थप टावर राख्नुपर्ने स्थानीयवासीको माग लामो समयदेखि रहेको छ । राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टेलिकम टावरका क्षमता कम भएकाले वृद्धि गर्नुपर्ने र थप जडान गर्नुपर्ने बताइएको छ ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न स्थानमा मोबाइल नेटवर्कका टावर थप गरिने भएपछि ती पालिकाका अध्यक्षले समेत खुसी व्यक्त गर्नुभएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नयाँ टावर जडान र पुरानाको क्षमता विकास गरिएपछि नेटवर्कको समस्या समाधान हुनुका साथै जनताले राहत पाउने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पनि मुख्य राजमार्गलगायत धेरै ठाउँमा मोबाइल नेटवर्कको समस्या रहेकाले अब समाधान हुने सुनेर खुसी लागेको उल्लेख गर्नुभयो ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com