अब म्याद सकिएको ग्रिनकार्डले २ बर्ष काम गर्ने


प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार

अमेरिकामा म्याद सकिन लागेको वा सकिएको ग्रिनकार्डको नविकरणका लागि आवेदन दिएको खण्डमा म्याद सकिएको ग्रिनकार्डले पनि २ बर्ष काम गर्ने भएको छ । सोमबारदेखि लागु हुनेगरी युएससीआईएसले ग्रिनकार्ड नविकरण वा पुनस्र्थापनका लागि आवेदन दिएका आवेदकहरुको ग्रिनकार्डको अवधि स्वत २४ महिना थप्न सुरु गरेको छ ।

ग्रिनकार्डको म्याद सकिएका वा सकिन लागेका आवेदकहरुले नविकरणका लागि फर्म आई ९० फाइल गरेपछि रिसिप्टका रुपमा ग्रिनकार्डको अवधि थपिएको प्रमाण प्राप्त गर्नेछन् । विगतमा आई ९० को रिसिप्टले १२ महिनासम्ममात्र ग्रिनकार्डको म्याद थप्ने प्रावधान रहदै आएको थियो ।

युएससीआईएसले अब आई ९० रिसिप्टको भाषा परिवर्तन गरेर २४ महिना बनाएको छ । सेप्टेम्बर २६ देखि लागु हुने गरी युएससीआईएसले पेन्डिङ रहेका नविकरण आवेदनका सन्दर्भमा पनि २४ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले काम गर्ने सुचनाहरु प्रिन्ट गर्न सुरु गरेको छ ।

उक्त रिसिप्ट म्याद सकिएको ग्रिनकार्डको साथमा पेश गरेको खण्डमा २४ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले पनि काम गर्नेछ । ग्रिनकार्ड नविकरण वा हराएको ग्रिनकार्ड प्राप्त गर्नमा लामो समय लागेपछि युएससीआईएसले २४ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले नै काम गर्ने व्यवस्था गरेको हो ।

यही रिसिप्ट नोटिसले ग्रिनकार्डवाहक भएको प्रमाणका रुपमा मात्र काम गर्ने नभई अमेरिकामा काम गर्नका लागि वर्क परमिटका रुपमा समेत काम गर्नेछ । साथै अमेरिकाबाहिर यात्रा गरेर अमेरिका फर्कनका लागि समेत प्रमाणका रुपमा काम गर्नेछ । तर अमेरिकाबाहिरबाट अमेरिका फर्कदा भने यो रिसिप्टका साथमा एक्सपायर भएको ग्रिनकार्ड समेत पेश गर्नुपर्नेछ ।

यदि कसैको पूरानो ग्रिनकार्ड हराएको छ र त्यसको साटोमा नयाँ ग्रिनकार्डका लागि दिएको आवेदन पेन्डिङ अवस्थामा छ भने आवेदकले युएससीआईएसको सम्पर्क केन्द्रमार्फत फिल्ड अफिसमा सम्पर्क गरेर अप्वाइन्टमेन्ट लिन सक्नेछन् । उक्त अप्वाइन्टमेन्टमा युएससीआईएसले २४ महिना ग्रिनकार्डका रुपमा काम गर्ने छाप र आवश्यक कागजात उपलब्ध गराउनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com