२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
इमिग्रेशन

अबुधाबीबाट अमेरिका आउँदा ल्यापटप बोक्न नपाइने प्रतिबन्ध फुकुवा

अबुधाबीहुँदै अमेरिका आउँदा यात्रुले ह्याण्डकारीमा स्मार्टफोनभन्दा ठूला ल्यापटप जस्ता उपकरण बोक्न नपाइनेगरी अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । अबुधावी इन्टरनेशनल एयरपोर्टमा अमेरिका आउने यात्रुका लागि सुरक्षाजाँचमा थप कडाई गरिदै ल्यापटप बोक्नमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको इतिहाट  एयरलाइन्सले जनाएको छ ।

गत मार्चमा अमेरिकाले विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका आउदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने नियम लगाएको थियो । आतंककारी आक्रमणको खतरा रहेको भन्दै त्यस्तो प्रतिबन्ध लगाइएको थियो ।

विश्वका विभिन्न १० वटा विमानस्थलहरुबाट अमेरिका जाँदा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु झोलामा लैजान नपाइने भएपछि अमेरिका जाने नेपालीहरु पनि प्रभावित भएका थिए ।

कतारमा रहेको हमाद इन्टरनेशनल एयरपोर्ट, युएईमा रहेका दुबई इन्टरनेशनल एयरपोर्ट, अबुधावी इन्टरनेशनल एयरपोर्ट, टर्कीको इस्तानबुल एयरपोर्ट, जोर्डनको क्वीन एलिया इन्टरनेशनल एयरपोर्ट, इजिप्टको कायरो इन्टरनेशन एयरपोर्ट, साउदी अरेवियाका किंग अब्दुल्लाजिज इन्टरनेशनल एयरपोर्ट, किंग खालिद इन्टरनेशनल एयरपोर्ट, कुवेतको कुवेत इन्टरनेशनल एयरपोर्ट र मोरक्कोमारहेको मोहमम्द इन्टरनेशनल एयरपोर्टबाट यात्रा गर्ने यात्रुहरुलाई ह्याण्ड क्यारीमा ल्यापटप, ट्ब्यालेट र अरु व्यक्तिगत विद्युतीय उपकरणहरु बोकेर लैजान प्रतिबन्ध लगाउँदा
इमिरेट्स, इतिहाट एयरवेज, कतार एयरवेज, कुवेत एयरवेज, रोयल जोर्डनियन, साउदी अरेबियन एयरलाइन्स, इजिप्ट एयर, टर्किस एयरलाइन्स र रोयल एयर मरोक प्रभावित भएका थिए ।

बुधबारदेखि अमेरिकाले १०५ देशबाट अमेरिका आउने यात्रुहरुको जाँचबुझको मापदण्डमा कडाई गरेपछि ल्यापटप बोक्नमा लगाएको प्रतिबन्ध हटाएको हो । नयाँ मापदण्ड अनुशार अब विश्वका १०५ वटा देशबाट अमेरिका आउने यात्रुहरुका ल्यापटप, मोबाइल, क्यामेरा जस्ता सामाग्रीहरुको विमानस्थलमा नै कडा जाँच गरिनेछ । ती देशबाट आउने यात्रुहरुलाई पनि छानविनका लागि नयाँ र कडा मापदण्ड बनाइएको छ ।

नयाँ मापदण्ड अनुशार यात्रु र विद्युतीय उपकरणको छानविनमा कडाईमात्र गरिएको छैन, एयरक्राफ्ट र यात्रुका क्षेत्रमा सुरक्षा प्रोटोकल बढाइएको छ । नयाँ मापदण्ड अनुशार कुकुरमार्फत गरिने जाँचबुझ पनि कडा बनाइएको छ ।

बुधबारदेखि लागु नयाँ नियमबाट विभिन्न १०५ देशका २८० विमानस्थलबाट १८० एयरलाइन्सहुँदै अमेरिका आउनेहरु प्रभावित हुनेछन् । ती देशहरुबाट औषतमा हरेक दिन २१ सय उडान हुने गरेको र ३ लाख २५ हजार यात्रु अमेरिका आउने गरेको अमेरिकी सरकारले जनाएको छ ।

आतंकवादी समुहहरुले लगातार विमानबाट यात्रा गर्नेहरुलाई निशाना बनाइरहेको सुचनाका आधारमा सुरक्षा प्रबन्ध बढाउन यसो गरिएको अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जोन केलीले जनाएका छन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →