यो महिना जनतालाई राहतमा १७ सय डलरसम्म पठाउँदै अमेरिकाका यी ६ राज्य


प्रकाशित मिति : श्रावण २२, २०७९ आईतबार

अमेरिकामा महँगी बढिरहँदा लाखौं अमेरिकनहरुले अगस्तमा केही राहतको अनुभव गर्ने भएका छन् । अमेरिकाका विभिन्न राज्यहरुले आफ्ना राज्यका बासिन्दाहरुलाई आर्थिक सहायतामा राहत चेक वा बैंक एकाउन्टमा नगद प्रदान गरिरहेका छन् ।

पछिल्लो चरणमा कनेक्टिकट र न्यु मेक्सिकोले राज्यका बासिन्दाहरुलाई एकपटकको राहत रकम उपलब्ध गराउँदैछन् । यो रकम अगस्तमा जारी गरिने जनाइएको छ । कतिपय राज्यले ट्याक्स राहतका रुपमा समेत आर्थिक सहायता प्रदान गरिरहेका छन् ।

त्यसका अतिरिक्त थप १७ राज्यहरुले ट्याक्स छुट्टी प्रदान गरिरहेका छन् । जस अनुशार ग्यास, खाद्यपदार्थ, शैक्षिक सामाग्री लगायतका कैयन सामानमा ग्राहकले तिर्ने करमा राज्यस्तर र स्थानीयस्तरमा छुट प्रदान गरिएको छ ।

यो महिना इलिनोयको शिकागोले ट्रान्जिट र ग्यास कार्ड फण्डमा १५० डलरसम्म राहत दिइदैछ । हरेक महिना १५० डलर प्रदान गरिने यो राहतमा आगामी १५० डलरका लागि आवेदन दिने मिति अगस्त १ सम्म थियो । गाडीको करेन्ट स्टीकर भएका १८ बर्ष नाघेका शिकागोको बासिन्दा यो राहतका लागि योग्य छन् ।

त्यस्तै यो राहत पाउनका लागि आफ्नो बस्ने क्षेत्रको औषत आम्दानीको १०० प्रतिशत वा त्योभन्दा कम आम्दानी भएको हुनुपर्छ । जस अनुशार ९३ हजार डलरभन्दा कम आम्दानी भएको ४ जनाको परिवार राहतका लागि योग्य हुन्छन् । सेप्टेम्बरसम्म हरेक महिनाको दोश्रो साता लोटरी गरेर छानिएकाहरुलाई सुचित गरिनेछ ।

यो कार्यक्रम अन्तरगत शिकागोले ५० हजारवटासम्म १५० डलरका र १ लाखसम्म ५० डलरका प्रिपेड कार्ड जारी गर्ने योजना छ । अगस्त १ सम्म आवेदन नदिएकाहरुले अर्को महिनाका लागि हुलाकबाट पत्र पठाएर वा कुनै पनि सार्वजनिक लाइब्रेरीमा गएर अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै कोलोराडाको बासिन्दाले ट्याक्स फाइल गरेर दम्पत्तिले १५ सय डलर र एकलले ७५० डलर थप रिफण्ड लिने डेडलाइन समाप्त भएपनि अहिले दावी गरेका समेत उक्त रकम केही पछि प्राप्त गर्न सक्नेछन् । तर त्यसका लागि अक्टोबर १७ भित्र भने फाइल गरेको हुनुपर्नेछ । जुन ३० भित्र फाइल गरिसकेकाहरुले अगस्तमा रकम प्राप्त गर्नेछन् । कोलोराडाको ३१ लख बासिन्दाहरुले यो रकम पाउनेछन् ।

फ्लोरिडाका ६० हजार बासिन्दालाई ४५० डलरको चेक स्वत पठाइने भएको छ । तर उक्त रकम पाउनका लागि फोस्टर प्यारेन्ट, आफ्न्त हेरचाह गर्ने, आफन्त बाहेकका हेरचाह गर्ने, नगद सहायता प्राप्त परिवार लगायतका मापदण्डहरु पूरा गरेको हुनुपर्छ ।

त्यस्तै हवाईका हजारौं बासिन्दाले अगस्तको अन्तिम समय एकपटकको ट्याक्स रिफण्ड वापत ४ जनाको परिवारले १२ सय डलर प्राप्त गर्दैछन् । १ लाख भन्दा कम आम्दानी भएकाहरुले हरेकले ३ सय डलर र २ लाखभन्दा कम आम्दानी भएकाहरुले १ सय डलर पाउनेछन् । अगस्तको अन्तिम साताबाट उक्त रकम पठाइने भएको छ ।

न्यु मेक्सिकोका हजारौंले १ हजार डलरको दोश्रो चरणको ट्याक्स राहत प्राप्त गर्दैछन् । एकलले २५० डलर र दम्पत्तिले ५ सयडलरसम्म प्राप्त गर्ने यो रकमका लागि २०२१ को ट्याक्स फाइल गरेकाहरु स्वत योग्य हुनेछन् । तर विवाहितको बार्षिक आम्दानी १ लाख ५० हजारभन्दा कम र एकलको ७५ हजारभन्दा कम हुनुपर्छ ।

कनेक्टिकटले हरेक बच्चाका लागि २५० डलर चाइल्ड ट्याक्स क्रेडिट स्वीकृत गरेको छ । जस अनुशार एउटा परिवारले ७५० डलरसम्म पाउनेछन् । त्यसका लागि आवेदन दिने म्याद जुलाई ३१ मा सकिएको छ । १ लाखभन्दा कम आम्दानी भएका एकल, २ लाखभन्दा कम आम्दानी भएका दम्पत्ति र १ लाख ६० हजारभन्दा कम आम्दानी भएका घरमूलि यो रकमका लागि योग्य हुन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com