बिहिबार र शुक्रबार न्युयोर्कमा अत्याधिक गर्मी, ‘हिट एड्भाइजरी’ जारी
प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार
न्युयोर्क शहरको आपतकालीन व्यवस्थापन विभाग र स्वास्थ्य विभागले न्युयोर्कबासीहरुलाई अत्याधिक गर्मीबाट बच्नका लागि सावधानी अपनाउन सुझाव दिएको छ । राष्ट्रिय मौसम सेवाले न्युयोर्क शहरको लागि बिहीबार विहान ११ बजेदेखि शुक्रबार बेलुका ८ बजेसम्मका लागि हिट एड्भाइजरी जारी गरेको छ ।
बिहिबारका लागि उच्च गर्मी र आर्द्रता पूर्वानुमानमा गरिएको छ । बिहिबार तापक्रम १ सय डिग्री फरेनहाइट भन्दा माथि पुग्ने अनुमान गरिएको छ भने शुक्रबार पनि अत्याधिक गर्मी हुने अनुमान छ । खतरनाक गर्मी र उच्च आर्द्रता हुने भएकाले न्युयोर्कवासीहरूलाई चरम परिस्थितिको जोखिमबाट बच्न सावधानी अपनाउन प्रोत्साहित गरिएको न्युयोर्क शहर आपतकालीन व्यवस्थापन आयुक्त जैच इस्कोलोले बताएका छन् ।

प्रयाप्त पानी पिउन र बाहिर निस्कनु परेमा हल्का कपडाहरू लगाउन सुझाव दिइएको छ । लगातार दुई वा सोभन्दा बढी दिन तापक्रम ९५ डिग्री वा सोभन्दा माथि रहने अनुमान हुँदा न्युयोर्क शहरले शीतलता केन्द्रहरू खोल्ने गरेको छ । यदि गर्मी १ सय डिग्री फरेनहाइटभन्दा माथि हुने अनुमान भएमा पनि शीतलता केन्द्रहरू खोल्ने गरिएको छ ।
कतिपय शीतलता केन्द्रहरू ६० वर्ष र माथिका वृद्ध न्युयोर्कवासीहरूका लागि आरक्षित रहेका छन् । यदि बिरामी महसुस भएमा वा लक्षण देखिएमा कोरोनाको फैलावट रोक्नको लागि घरमै बस्न सुझाव दिइएको छ । नजिकैको कुलिङ सेन्टर फेला पार्न ३११ मा कल गर्न वा यहाँ क्लीक गर्न सक्नुहुनेछ ।
न्युयोर्कवासीहरूले अब पाँचवटा बरोहरूमा घरपालुवा जनावरहरूलाई समेत अनुमति दिने कूलिङ सेन्टरहरू पनि फेला पार्न सक्छन्। न्युयोर्कवासी र उनीहरूका घरपालुवा जनावरहरूलाई गर्मीबाट राहत पाउन थप ठाउँहरू उपलब्ध गराउनका लागि सिटीले पेटकोसँग सहकार्य गरेको छ। कुलिङ सेन्टरहरु बुधबार राती ८ बजेदेखि नै सकृय रहेका छन् ।
सबै न्यूयोर्कवासीहरूलाई गर्मीमा आफ्नो र अरूको ख्याल गर्न स्वास्थ्य आयुक्त डा अश्विन वासन आग्रह गरेका छन् । चिसो रहने सबैभन्दा राम्रो तरिका वातानुकूलित ठाउँहरूमा बस्नु रहेको उल्लेख गर्दै उनले हल्का लुगा लगाउन, पानी पिउन, बढी उमेरका लगायत गर्मी सम्बन्धित रोगको जोखिममा हुनसक्ने साथीहरू, परिवारका सदस्यहरू र छिमेकीहरूलाई जाँच गर्न सुझाव दिएका छन् ।
न्युयोर्क शहरमा अधिकांश गर्मी सम्बन्धी मृत्यु एसी नभएका घरहरूमा गर्मीका कारण हुने गरेको छ । न्यूयोर्क शहरको आपतकालीन व्यवस्थापन विभाग र स्वास्थ्य विभागले न्युयोर्कवासीहरूलाई आफूलाई बचाउन र गर्मीबाट बढ्दो जोखिममा पर्न सक्ने अरूलाई मद्दत गर्न कदम चाल्न आग्रह गरेको छ ।








