प्राइमरीबाट मेरिल्याण्ड राज्य सांसदमा ह्यारी भण्डारीको उम्मेदबारी सुरक्षित, अन्तिम लडाई नोभेम्बरमा


प्रकाशित मिति : श्रावण ६, २०७९ शुक्रबार

मेरिल्याण्ड राज्य संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका लागि डिस्ट्रिक्ट ८ बाट नेपाली मूलका अमेरिकन ह्यारी भण्डारीको उम्मेदबारी सुरक्षित भएको छ । मंगलबार भएको डेमोक्रेटिक प्राइमरीमा भण्डारीको उम्मेदबारी सुरक्षित भएपछि अब उनले अन्तिम चुनावी लडाई आगामी नोभेम्बरमा हुने चुनावमा लड्नुपर्नेछ ।

भण्डारी दोश्रो कार्यकालका लागि चुनावी अभियानमा रहेका छन् । मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट अहिले ३ जना राज्य सांसदहरुले हाउस अफ डेलिगेट्समा प्रतिनिधित्व गरिरहेका छन् । जसमा डेमोक्रेटिक पार्टीबाट ह्यारी भण्डारी र कार्ल ज्याक्सन रहेका छन् भने रिपब्लिकनबाट जोसेफ सी बोटलर तृतीय रहेका छन् । भण्डारी अमेरिकी राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने नेपाली मूलका पहिलो जनप्रतिनिधि हुन् ।

२०१८ को चुनावमा एरिक बु्रमवेलले समेत जितेपनि उनले २०१९ मा राजिनामा दिएपछि उनको स्थानमा कार्ल ज्याक्सनले प्रतिनिधित्व गरिरहेका छन् । यसपटक भण्डारीका साथमा कार्ल ज्याक्सनले पनि उम्मेदबारी सुरक्षित गरेका छन् भने निक एलनपनि डेमोक्रेटिक पार्टीका तर्फबाट नोभेम्बरमा हुने चुनावमा भीड्नेछन् ।

मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा ४७ डिस्ट्रिक्टबाट १४१ जनाले प्रतिनिधित्व गर्छन् । सन् २०२० को जनगणना अनुशार मेल्यिाण्डको राज्य संसदका जनप्रतिनिधिहरुले औषतमा एकजनाले ३८ हजार १ सय ३१ जनताको प्रतिनिधित्व गर्छन् । हाउस अफ डेलिगेट्सको कार्यकाल ४ बर्षको हुन्छ । भण्डारीले पहिलोपटक २०१८ को निर्वाचनमा विजयी भएर सन् २०१९ को जनवरी ९ बाट कार्यकाल सुरु गरेका थिए ।

मेरील्याण्ड राज्य संसदमा स्वास्थ्य र सरकार सञ्चालन समितिको सदस्य समेत रहेका भण्डारी मेरील्याण्ड लेजिस्लेटिभ एशियन अमेरिकन र प्यासिफिक आइल्याण्डर ककसका पूर्व सचिव र वर्तमन उपाध्यक्ष पनि हुन् । उनी सन् २०१८ बाल्टिमोर काउन्टीको स्थानीय डेमोक्रेटिक केन्द्रीय समिति सदस्यको रूपमा पनि रहेका छन् ।

नोभेम्बरमा न्युयोर्कबाट सराहना श्रेष्ठ

आगामी नोभेम्बरमा हुने निर्वाचनमा न्युयोर्कको राज्य संसदमा नेपाली मूलकी अमेरिकन सराहना श्रेष्ठ पनि भिड्दैछिन् । न्युयोर्क राज्यको संसदको तल्लो सदनका १०३ नम्बर एसेम्ब्ली डिस्ट्रिक्टको डेमोक्रेटिक प्राइमरी चुनावमा विजयी श्रेष्ठ न्युयोर्क राज्यको संसदमा उम्मेदबारी दिने र प्राइमरी चुनाव जित्ने नेपाली मूलकी पहिलो अमेरिकन हुन् । उनी नोभेम्बरको निर्वाचन पछि अमेरिकाको राजनीतिमा सबैभन्दा उच्च तहमा पुग्ने  नेपाली मूलकी पहिलो महिला हुनेछिन् ।

उनले प्राइमरीमा २३ बर्षदेखि लगातार र सन् १९९३ मा एक कार्यकाल गरी १३ कार्यकाल न्युयोर्क संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्दै आएका ६६ बर्षका डेमोक्रेटिक उम्मेदबार केभिन काहिललाई पराजित गरेकी थिइन् । डेमोक्रेटिक बाहुल्य रहेको उक्त क्षेत्रबाट उनले नोभेम्बरमा हुने चुनाव जित्ने लगभग निश्चित छ ।

४० बर्षभन्दा लामोसमयदेखि राजनीतिमा सकृय रहदै आएका काहिललाई ३ बर्ष अगाडि अमेरिकी नागरिकता लिएकी ४१ बर्षकी सराहना श्रेष्ठले पराजित गरेकी हुन् । सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठले सन् २०१९ मा मात्र अमेरिकन नागरिकता प्राप्त गरेकी थिइन् । नोभेम्बरमा हुने चुनावमा सन् १९९९ पछि पहिलोपटक काहिलको नाम मतपत्रबाट हट्ने भएको छ भने उक्त स्थानमा श्रेष्ठको नाम हुनेछ ।

न्युयोर्क राज्यको तल्लो सदनमा हरेक सांसदले झण्डै १ लाख ३० हजार बासिन्दाको प्रतिनिधित्व गर्दै आएका छन् । न्युयोर्क राज्य संसदको तल्लो सदनमा प्रतिनिधित्व गर्ने सांसदको कार्यकाल २ बर्षको हुने गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com