चीनले एमसीसीविरुद्ध हौवा फैलाएको नेपालका लागि प्रस्तावित अमेरिकी राजदूतको भनाईमा चीन रुष्ट
प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार
नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन टम्पसनले गरेको टिप्पणीको चीनले खण्डन गरेको छ । सिनेटको वैदेशिक सम्बन्ध समितिमा सुनुवाईका क्रममा टम्पसनले अफवाह फैलाउने चीनको अभियानका बाबजुत नेपालले ५ सय मिलियन डलरको एमसीसी पारित गरेको बताएका थिए । उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै चीनले त्यसलाई निराधार भनेको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट एमसिसीलाई लिएर भएको उक्त टिप्पणीको प्रतिवाद गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले टम्पसनको भनाइले चीनको निन्दा मात्र नभइ नेपाल र नेपालीलाई अपमानित गरेको बताएको छ ।
‘यो नेपाल सरकार र जनताले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न तथा राष्ट्रिय हितको रक्षाका निम्ति गरेको काम हो । अन्तर्राष्ट्रिय विकास सहयोग लिँदा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ भन्ने चीनको दृढ विश्वास रहेको छ,’ दूृतावासले जारी गरेको वक्तव्यमा भनिएको छ ।
सिनेटको सुनुवाईमा चीनबारे कस्ले के भने ?
नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन टम्पसनको सुनुवाईका क्रममा अमेरिकी सिनेटरहरुले चीनले अफवाह फैलाएपछि नेपाल स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबाट पछाडि हटेको बताएका थिए । साथै चीनको हौवा अभियानका बाबजुत नेपालले एमसीसी पारित गरेको बताएका थिए ।
सिनेटको इन्डियन अफेयर्स कमिटीका अध्यक्ष तथा सिनेटमा डेमोक्रेटिक चिफ डेपुटी ह्वीप समेत रहेका हवाईका सिनेटर ब्रायन शाट्सले चीनिया सरकारको हौवा अभियानपछि गत महिना नेपालको सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राममा सहभागिता रद्द गरेको बताएका थिए । प्रस्तावित राजदूतलाई नेपालको कुटनीतिक परिदृश्य बताउने क्रममा उनले यो विषय उल्लेख गरेका थिए ।
रसियन हस्तक्षेपको निन्दा गर्नेमा नेपाल उक्त क्षेत्रका केही देशहरुमध्ये रहेको उल्लेख गर्दै शाट्सले यसैबर्षको सुरुमा आफ्नो देशमा अमेरिकाको प्रभावबारे चासो राखेका नेपालीहरुले विरोध प्रदर्शनका बाबुजत नेपालको संसदले ५ सय मिलियन डलरको एमसीसी पारित गरेको सन्दर्भ पनि उल्लेख गरेका थिए ।

त्यस्तै सिनेटर कोरी बुकरले चीनले अफवाहहरु फैलाएर अमेरिकासँगको नेपालको आर्थिक सम्बन्धलाई कमजोर पार्न खोजेपनि नेपालले अमेरिकासँगको सम्बन्ध पनि गहिरो बनाउन चाहेको बताएका थिए । सिनेटर बुकरले नेपाललाई भारत र चीनबीचको सम्बन्धलाई सन्तुलनमा गाह्रो भइरहेको र चीनको प्रभाव नेपालमा उल्लेख्य रहेको बताएका थिए । न्युजर्सीका सिनेटर बुकरले हालै नेपालको भ्रमण समेत गरेका थिए ।
सुनुवाईमा आफ्नो बयान दिदै प्रस्तावित राजदूत टम्पसनले अमेरिका नेपालसँगको सम्बन्धको महत्वपूर्ण मोडमा रहेको तथा नेपाललाई ‘दुई ढुङ्गा बीचको तरुल भनिने उल्लेख गर्दै ती ढुङ्गाहरु चीन र भारत रहेको बताएका थिए । चीन र भारतसँगको नेपालको महत्वपूर्ण सम्बन्ध रहेको भएतापनि अमेरिको नेपालको सार्वभौमसत्ता र अमेरिकासँगको साझेदारीलाई सुदृढ गर्नमा नेपालको चासो राख्ने उनले बताए ।
अफवाह फैलाउने चीनको अभियानका बाबजुत नेपालले ५ सय मिलियन डलरको एमसीसी पारित गरेको बताउँदै उनले संयुक्त राष्ट्र संघको महासभा र संयुक्त राष्ट्र मानवअधिकार परिषदमा युक्रेनको प्रस्तावमा नेपालको समर्थनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था र क्षेत्रीय अखण्डताको आधारमा नेपाल अगाडि बढ्न प्रतिवद्ध रहेको देखिएको बताएका थिए ।
टम्पसनले सुनुवाईका क्रममा दिएको बयानको पूर्ण पाठ
नेपालका लागि अमेरिकी राजदूतमा आफ्नो नियुक्ती स्वीकृत भएको खण्डमा आफूले दलित, सिमान्तकृत समुदाय लगायतका नेपाली नागरिक र बासिन्दाको अधिकारको लागि जोड दिने टम्पसनले बताए । उनले नेपालमा रहेका तिब्बती शरणार्थीहरू, दलित, सीमान्तकृत समुदाय र शरणार्थी समुदायहरूसहित नेपाली नागरिक र नेपालबासीको अधिकारमा जोड दिने बताए ।
नेपाल सरकारलाई अर्थपूर्ण समावेशी, आर्थिक अवसर र मानवीय सहयोगलाई प्रवर्द्धन गर्ने नीतिहरू कार्यान्वयन गर्न प्रोत्साहन गर्ने उनले बताए । यदि आफ्नो नियुक्ती सदर भएमा नेपालको आर्थिक वृद्धिलाई सहज बनाउनु र हाम्रा देशहरूबीचको व्यापारिक सम्बन्धलाई सुदृढ गर्नु मुख्य प्राथमिकता दिने उनले बताए ।
युएसएआईडीले आगामी पाँच वर्षमा नेपालको विकासमा योगदान पुर्याउन नेपालसँग ६५९ मिलियनको सम्झौतामा हस्ताक्षर गरेको गर्दै उनले यो नेपालसँग संयुक्त राज्य सरकारको लामो समयदेखिको विकास सम्बन्धको नयाँ अध्याय भएको बताए ।
राष्ट्रपति बाइडेनले लोकतन्त्रको शिखर सम्मेलनमा गरेको प्रतिबद्धतामा नेपालको प्रगतिले नेपालको युवा लोकतन्त्र आफ्ना जनताका लागि कत्तिको महत्त्वपूर्ण छ र यसले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा कत्तिको महत्त्व राख्छ भन्ने देखाउने टम्पसनले बताए । संयुक्त राष्ट्र संघको महासभा र संयुक्त राष्ट्र मानवअधिकार परिषदमा युक्रेनको प्रस्तावमा नेपालको समर्थनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था र क्षेत्रीय अखण्डताको आधारमा अगाडि बढ्न नेपाल प्रतिवद्ध रहेको देखायने उनले बताए । उनले भने -‘नेपाल विश्व मञ्चमा प्रतिबद्ध द्विपक्षीय साझेदार र प्रतिबद्ध साझेदार हो।’
राजदूत नियुक्त भएमा आफूले नेपालको लोकतान्त्रिक संस्थालाई बलियो बनाउन काम गर्ने उनले बताए । नेपाल र अमेरिकाबीचको सम्बन्ध सुदृढ गर्न यो महत्वपूर्ण अवशर हुने उनले बताए । उनले भने – ‘१६ वर्षअघिको गृहयुद्धपछि नेपालले लामो यात्रा तय गरेको छ । अन्य लोकतन्त्र जस्तै नेपालको राजनीति पनि कहिलेकाहीं विवादित र अव्यवस्थित हुन सक्छ, तर नेपालको लोकतन्त्रलाई समर्थन गर्नु हाम्रो हितमा छ र राजदूत नियुक्त भएमा यो मेरो प्राथमिकता रहनेछ।’
सिनेटर मिट रोम्नीले अमेरिका चीनको विकल्प हुनसक्छ र अमेरिका नै चाहिन्छ भन्ने सन्देश कसरी दिनुहुन्छ? भन्ने प्रश्न सोधेका थिए । यसको जवाफ प्रस्तावित राजदूत टम्पसनले चलाखीपूर्वका दिएका थिए । अमेरिका सधै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, नेपालको समृद्धिका पक्षमा रहेको र आफ्नो भविश्यका बारेमा आफै निर्णय गर्नसक्ने नेपालको क्षमताको पक्षमा आफू रहेको सन्देश दिने टम्पसनले बताए ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले यस अगाडि अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरेका छन् । सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुमा काम गरेका थिए ।
त्यसअघि टम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका थिए । रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका उनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। उनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्।
मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्। उनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए ।








