हत्यारा पक्राउ गर्ने प्रहरीलाई मृतकका आफन्तले सम्मान


प्रकाशित मिति : असार २३, २०७९ बिहीबार

हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले  प्रहरीलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आउनुभएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न दोषी आफ्नै नाति हरि भनिने नीरकुमार खड्कालाई प्रहरीले समयमै पक्राउ गरेको भन्दै मृतकका आफन्तले प्रहरीलाई सम्मान गरेका हुन् ।

जाहेरी परेको २१ दिनमा हत्यारालाई पक्रन सफल प्रहरीलाई मृतककी भतिजी लक्ष्मी सापकोटाले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

नेपालमा घटेका कतिपय घटनामा संलग्न दोषी पत्ता नलागिरहेको अवस्थामा खोटाङ प्रहरीले चाँडै अपराधी पक्राउ गरेर मृतकको आत्मालाई शान्ति हुने काम गरेकाले हौसलास्वरूप सम्मान गरिएको सापकोटाले बताउनुभयो ।

मृतकका आफन्तले प्रदान गरेको सम्मानपत्र ग्रहण गर्दै प्रहरी नायब उपरीक्षक लम्सालले नागरिक र प्रहरीको राम्रो समझदारी हुने हो भने समाजमा हुने गरेका हरेक घटनाका दोषी चाँडै पत्ता लाग्ने बताउनुभयो । उक्त घटनामा पनि नागरिकको राम्रो साथ मिलेका कारण दोषीलाई चाँडै कानूनी कठघरामा ल्याउन प्रहरी सफल भएको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातिले हजुरआमालाई साथमा लिएर सुनसरीबाट वैशाख २६ गते खोटाङतर्फ हिँडेका थिए । नातिसँगै हिँड्नुभएकी तुलसाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी नदीको बगरमा खाल्डोभित्र शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

घटनापश्चात् फरार रहेका नाति नीरकुमारलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो । लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका नीरकुमारलाई प्रहरीले यही असार ९ गते दिक्तेलस्थित कार्यालयमा ल्याएर सार्वजनिक गरेको थियो ।

हजुरआमाको हत्या गरेको भन्दै नीरकुमारविरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दर्ता भएको थियो । पक्राउ परेका कारण नीरकुमारले हजुरआमाको हत्या पारिवारिक विवादका कारण गरेको बताएपछि उनलाई कानूनी कारवाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com