चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर


प्रकाशित मिति : जेष्ठ २२, २०७९ आईतबार

नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ । तीनवर्षे अभियानमा यो पटक (सन् २०२२ मा) सबैभन्दा बढी फोहर सङ्कलन गरिएको हो । यसअघि सन् २०१९ मा १० टन र सन् २०२१ मा २७.६ टन फोहर निकालिएको थियो ।

प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत चैत २२ गते यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो । विश्व वातावरण दिवसका अवसरमा आज अभियान टोलीले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष झन्डा फिर्ता गरी अभियानको समापन भएको घोषणा गरिएको थियो ।

हिमाली क्षेत्रमा देखिएको फोहरले नेपालको पहिचान धमिल्याउने जोखिम बढ्दो छ । बहुपक्षीय महत्व बोकेको नेपालको हिमशृङ्खलालाई भविष्यसम्म जोगाउन सन् २०१९ देखि नेपाली सेनाले उक्त साहसिक अभियान थालेको हो । त्यस अभियानमा नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेको छ ।

यस वर्ष सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रमा अभियान चलाइएको थियो । ती हिमाली क्षेत्रबाट कुहिने फोहर सात हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो गरी कूल ३३ हजार ८७७ किलो (३३.८ टन) फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले कञ्चनजङ्घा हिमालबाट दुई मानव अस्थिपञ्जरसमेत सङ्कलन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक तथा सफा हिमाल अभियानका निर्देशक हिमांशु खड्काले नेपाली सेनाका ३० र शेर्पा सहयोगी ४८ गरी ७८ जनाको सहभागितामा अभियान चलाइएको जानकारी दिनुभयो । सङ्कलित फोहमध्ये कुहिने फोहरलाई तत्तत् स्थानीय तहमा हस्तान्तरण गरिएको छ भने नकुहिने केही फोहरलाई पुनः प्रशोधनका लागि सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको र केही हस्तान्तरण गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

अभियानको नेतृत्व गर्नुभएका सेनानी किशोर अधिकारीले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्यटन प्रवद्र्धन र भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । समारोहमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले हिमाल संरक्षणका लागि नेपाली सेनाको छुट्टै गुल्म वा गणको आवश्यकता महसुस भएको बताउनुभयो ।

सन् २०१९ मा सर्वाेच्च शिखर सगरमाथाको उचाइ मापनको नेतृत्व गर्नुभएका नापी अधिकृत खिमलाल गौतमले नेपालका हिमाल जोगाउन यो अभियान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वातावरणलाई प्राकृतिक रुपमा सफा राख्न हिमालको ठूलो भूमिका हुने उल्लेख गर्दै प्राकृतिक हिमाललाई अप्राकृतिक नबनाउन आग्रह गर्नुभएको छ ।

मानिसको दिगो जीवनका लागि स्वच्छ हिमालको खाँचो रहेको औँल्याउँदै उहाँले बढ्दो क्रममा रहेको हिउँ पग्लने अवस्थालाई रोक्नुपर्ने आश्यकता औँल्याउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले नेपाली सेनाको अभियानको प्रशंसा गर्दै हिमाल संरक्षणका लागि प्रभावकारी नियमनको खाँचो रहेको उल्लेख गर्नुभयो ।

हिमाल आरोहणमा सेनाको सफलता

अभियानका क्रममा कञ्चनजङ्घा हिमालमा नेपाली सेनाले पहिलोपटक झन्डा फहराउन सफल भएको छ । प्राप्त विवरणअनुसार मे ७ मा संसारकै तेस्रो अग्लो (आठ हजार ५८६ मिटर अग्लो) उक्त हिमालमा सहसेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले मा सफल आरोहण गरी नेपाली सेनाको झन्डा फहराउन सफल हुनुभयो ।

यस्तै १२ मेमा सर्वाेच्च शिखर सगरमाथामा नेपाली सेनाका क्याप्टेन गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले तथा १२ मेमा विश्वको चौथो अग्लो ल्होत्से हिमालमा क्याप्टेन जितेन्द्र कार्की, सिपाही खिमलाल ओली र कविराम घर्ती मगर पुग्न सफल भएको जनाइएको छ ।

वातावरणलाई सन्तुलन राख्नु मानवको परम कर्तव्य : प्रधानसनापति

समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले बढ्दै गएको पर्यावरणीय जटिलतामा वातावरणलाई सन्तुलन राख्नु मानवको परम कर्तव्य भएको बताउनुभयो । उहाँले सरकारको वातावरण संरक्षणको प्रयास अनुरुपका कार्यक्रममध्येको एउटा स्वरुप सफा हिमाल अभियान रहेको स्मरण गर्दै सेनाले अभियानको अगुवाइको भूमिका मात्रै निर्वाह गरेको जानकारी दिनुभयो । उहाँले सबैको साथ र सहयोगले मात्रै यस्ता कार्यक्रम सफल बनाउन सकिने उल्लेख गर्नुभयो ।

प्रतिकूल मौसमबीच अभियान टोलीले सफलताका लागि कार्यक्रम सम्पन्न गरेकामा उहाँले प्रशंसा गर्नुभयो । उक्त अभियानको अहिले नै प्रतिफल नदेखिए पनि दीर्घकालीन नतिजा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । समारोहमा उहाँले सफलतापूर्वक विभिन्न हिमाल आरोहण गर्ने नेपाली सेना, सहयोगी संस्थाका प्रतिनिधि तथा शेर्पा आरोहीहरुलाई प्रशंसापत्रसमेत वितरण गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com