पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग


प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले बिहीबार पदवहाली गर्दैै तीनवटा निर्णय गर्नुभएको छ । पर्यटकीय नगरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिसका लागि अनुरोध गर्ने उहाँको पहिलो निर्णय छ ।

पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट पर्यटकीय राजधानी घोषणा गराउनका लागि हामीले यहाँ औपचारिक निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेका छौँ । यस निर्णय कार्यान्वयन नहुँदासम्म तदारुकताकासाथ पछि लाग्ने छौँ र कार्यान्वयन गरी छाड्ने छौँ ।”

यस विषयमा पटक–पटक चर्चा र प्रतिबद्धता सङ्घीय सरकारका मन्त्रीहरूबाट भए पनि कार्यान्वयनमा नगएकाले विधिपूर्वक निर्णय गरेर पठाएको आचार्यले बताउनुभयो ।

यसैगरी प्रमुख आचार्यले विपन्न परिवारका बच्चाहरूका लागि पोषण भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ । वडा कार्यालयहरूबाट प्राप्त भएको सिफारिसका आधार गरिब र विपन्न परिवारका बच्चाका लागि सो रकम उपलब्ध गराइने निर्णय छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी प्रमुख आचार्यले पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’को थ्रीडीसहितको डिजाइन बनाई पेश गर्नेसम्बन्धी प्रस्ताव आह्वान गर्ने निर्णय गर्नुभएको छ ।

विश्वका अधिकांश सहरमा आफ्नो अपनत्व महसुस हुने प्रतीक रहेकाले सोहीअनुसार पोखरा चिनाउने प्रतीक बनाउनका लागि देशभरिका सिर्जनात्मक क्षमता भएका युवाका लागि प्रस्ताव आह्वान गरेर एक महिनाभित्र खरिद प्रक्रिया अघि बढाइने प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रतिस्पर्धाबाट प्रतीक छनोट गरी विजेता हुनेलाई रु दुई लाख पुरस्कार प्रदान गरिनेछ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पनि पदबहालीसँगै महानगरका अपाङ्ग बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालनसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

यसैगरी महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने निर्णय उहाँले गर्नुभएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरको अन्तिम मत परिणाम बुधबार सार्वजनिक भएपछि निर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गर्नुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com