मधेसमै मधेसकेन्द्रित दल किन भए कमजोर?
प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार
नक्सा- निर्वाचन आयाेग
काठमाडाैं-मधेस आन्दोलनताका मधेसका मुद्धामा समग्र मधेस एक भएको थियो। सबै मधेसकेन्द्रित दल एकजुट भएका थिए। मधेस आन्दोलन सकिएको २ वर्षपछि भएको निर्वाचनमा जनतामा मधेसकेन्द्रित दलप्रति ‘क्रेज’ उस्तै थिए। यहीकारण तत्कालीन संघीय समाजवादी फाेरम र राष्ट्रिय जनता पार्टीलाई मधेस/तराईका जनताले जनमत दिए। दुवै मिलेर मधेस प्रदेशमा सरकार बनाए। समयले दुवैलाई एक बनायो। विगतमा टुट–फुट, सत्तालोलुपता र आपसी स्वार्थको चक्रव्युहमा जेलिएका मधेसकेन्द्रित दल एक भएर जनता समाजवादी पार्टी (जसपा) गठन हुँदा सबैभन्दा बढी खुसी तिनै तराई/मधेसका नागरिक भए।
तर, नेताहरुको सत्तालोलुपता, व्यक्तिगत इगो र आपसी स्वार्थले यो खुसी धेरै टिकेन। पुनः जसपा तीन चिरा भयो। महन्थ ठाकुरहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेर अलग भए। केही नेताहरुले महन्थको पूरानै तमलोपा ब्युँताए।
यतिञ्जेलसम्म तराई/मधेसका मुद्धा ओझेल परेजस्तै भएकाे छ। अहिलेको स्थानीय तह निर्वाचनको परिणामलाई नियाल्ने हो भने तराई/मधेसमै मधेसकेन्द्रित दलको ‘क्रेज’ हराईसकेको देखिएको छ। तराई/मधेसमै मधेसकेन्द्रित दल हराईसकेको स्थिति देखिएको छ। जनताले अन्य ठूला दललाई प्राथमिकता दिएका छन्। मधेस प्रदेशमा जसपाले सरकारको नेतृत्व गरिरहेको र प्रदेश सभामा पनि सबैभन्दा ठूलो दल जसपा रहे पनि स्थानीय तह निर्वाचनमा मधेस केन्द्रित दलहरु सफल हुन सकेनन्।
१६३ तह रहेको मधेस प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ। कांग्रेसले १८ अध्यक्ष र २७ प्रमुख गरी ४५ स्थानीय तहमा जित हासिल गरेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले मधेसबाट ४० स्थानीय तह जितेको थियो। यसबाट अहिले मधेसमा कांग्रेस झन् बलियो भएको देखिएको छ।
यस्तै, एमालेले ११ अध्यक्ष र १८ प्रमुख गरी २९ तह जितेर दोस्रो भएको छ। एमालेले यसपटक आफ्नो स्थिति सुधार गरेको छ। अघिल्लो पटक एमालेले यहाँबाट १८ स्थानीय तहमात्र जितेको थियो।
स्थानीय तह निर्वाचनमा देशभर तेस्रो स्थानमा रहेको माओवादी तराईमा कमजोर देखिएको छ। अघिल्लो निर्वाचनमा २१ तह जितेको माओवादी यसपटक प्रमुख ७ र अध्यक्ष २ गरी ९ तहमा मात्र सीमित भएको छ।
२०७४ मा २६ तह जितेको तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) ले यसपटक पनि १८ अध्यक्ष र ८ प्रमुख गरी २६ वटा तह जितेको छ। महन्थ ठाकुर नेतृत्वको लोसपाले ७ अध्यक्ष र ७ वटै प्रमुख गरी १४ स्थानीय तह जितेको छ। लोसपाले सिरहा, धनुषा र सर्लाहीमा कुनै पनि स्थानीय तह जित्न सकेन। तमलोपा महोत्तरीको महोत्तरी गाउँपालिकामा मात्र सीमित भएको छ। यस्तै, विगतमा अलग्गै नेपालको नारा लगाउँदै शान्तिपूर्ण राजनीतिमा आएका सीके राउतको जनमत पार्टीले २ वटा तह जितेको छ।
मधेसकेन्द्रित दल कहाँ प्रभावशाली?
स्थानीय तह परिणाम हेर्दा जसपा सिरहा, महोत्तरी र बारामा बढी प्रभावशाली देखिएको छ। जसपाले सिरहाको औरही, नवराजपुर, अर्नमा र वरियारपट्टी, महोत्तरीको पिपरा, साम्सी र एकडारा तथा बाराको करैयामाई, देवताल र बारागढी गाउँपालिका अध्यक्ष जितेको छ।
यस्तै, सप्तरीको बोदेबरसाइन र राजविराज, महोत्तरीको गौशाला र जलेश्वर, पर्साको बहुदरमाई र वीरगन्ज धनुषाको सहीदनगर र रौतहटको गुजरा नगरपालिकामा जित हासिल गरेको छ। जसपाले रौतहटको गुजराबाहेक कुनै पनि स्थानीय तह जित्न सकेन।
सप्तरीको विष्णुपुर, धनुषाको जनकनन्दिनी र मुखियापट्टी मुसहरिनिया, पर्साको धोबिनी र कालिकामाई, सर्लाहीको चक्रघट्टा र बसबरियामा पनि जसपाले जितेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले जितेको सप्तरी २ मा पार्ने चार पालिकामध्ये ३ पालिकामा जसपाले हार बेहोर्नु परेको छ। तिलाठी कोइलाडीमा कांग्रेस तथा महादेवा र छिन्नमस्ता गाउँपालिकामा लोसपाले जितेको छ।
लोसपाको प्रभाव क्षेत्रका रुपमा सप्तरी र महोत्तरी देखिएको छ। लोसपाले सप्तरीको छिन्नमस्ता, महादेवा र रुपनी जितेको छ।
महोत्तरीको औरही, भंगहा, बलवा र मटिहानी नगरपालिका तथा सोनमा गाउँपालिका, सर्लाहीको गोडैटा, रौतहटको इसनाथ नगरपालिका र यमुनामाई गाउँपालिका, बाराको विश्रामपुर तथा पर्साको विन्धवासिनीमा लोसपा आएको छ।
सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमान कंकालिनी र बलानबिहुलमा जित हासिल गरेको छ भने सप्तरीका विभिन्न तहमा ७ वटा वडाध्यक्ष जितेको छ। सिरहामा ३ वडाध्यक्ष र धनुषामा एक वडाध्यक्ष जनमत पार्टीले जितेको छ।
स्वतन्त्रले जनकपुरधाम उपमहानगर र बर्दिवास नगरपालिकामा जित हासिल गरेका छन्।






