युक्रेनमा नरसंहारको सङ्केतः स्पेनी प्रधानमन्त्री
प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहारू को सङ्केत देखिएको बताउनु भएको छ। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ।
‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं । मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ।’उहाँले भन्नुभयो।
युक्रेन ‘नरसंहार’को अन्तरराष्ट्रिय छानबिन हुनुपर्छ : पोल्यान्ड प्रधानमन्त्री
पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सोमबार युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई ‘नरसंहार’को संज्ञा भन्दै त्यसबारे अन्तरराष्ट्रिय छानबिनको माग गर्नु भएको छ।
‘हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तरराष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं,’उहाँले राजधानी कीभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरू माथि जारी हत्याको सन्दर्भमा उठाउँदै सो आग्रह गर्नु भएको हो।
रुसी सेनाद्वारा सर्वसाधारणको हत्या
युक्रेनमा रुसले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरु फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।
युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई ‘असहनीय’ भनेका छन् । बेलायती प्रधानमन्त्रीले ‘घृणित आक्रमणहरू’ युद्ध अपराधको प्रमाण भएको बताएका छन् ।
त्यसैगरी अमेरिकाले पनि सामूहिक शव फेला परेको घटनाको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सडकमा शवहरूको दृश्यलाई पाशविक भनेका छन् । यसैबीच रुसी सेनाले रणनीतिक दक्षिणको बन्दरगाह सहर ओडेसामा गोलाबारी तीव्र पारेको छ ।





