मुद्रास्फीतिका कारण अमेरिकाका विभिन्न राज्यले बासिन्दालाई राहत चेक दिने, कस्ले कति ?
प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार
अमेरिकामा मुद्रास्फीतिका कारण विभिन्न राज्यले आफ्ना राज्यका बासिन्दाहरुलाई राहत चेक पठाउने योजना अगाडि सारेका छन् । हरेक करदातालाई मासिक १ सय डलर र चार जनाको परिवारलाई मासिक ३ सय डलरसम्म प्रदान गर्ने बिल संघीय संसदमा सार्वजनिक भए लगत्तै विभिन्न राज्यहरुले पनि आफ्ना योजनाहरु अगाडि सारेका छन् ।
झण्डै ४ दशककै उच्च मुद्रास्फीतिका कारण झण्डै १२ वटा राज्यहरुले बासिन्दाहरुलाई राहत चेक पठाउने योजना बनाएका छन् । जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पले राज्यका बासिन्दाहरुलाई ५ सय डलरसम्मको राहत चेक पठाउने बिलमा बुधबार हस्ताक्षर गरिसकेका छन् । एकल करदातालाई २५० डलर, घरमूलीलाई ३७५ डलर र संयुक्त फाइल गरेका विवाहित जोडीलाई ५ सय डलर दिइनेछ ।
त्यस्तै मैनका गभर्नर जानेट मिल्सले आफ्नो राज्यका हरेक बासिन्दालाई ८५० डलरसम्मको राहत चेक पठाउने योजना ल्याएका छन् । कुनै पनि राज्यले अगाडि सारेको सबैभन्दा उदार योजना अहिलेसम्म यही हो । यद्यपी हरेक अमेरिकन परिवारले मूल्यबृद्धिका कारण यो बर्ष विगतका बर्षको तुलनामा २ हजार डलर बढी खर्च गर्नुपर्ने अवस्था रहेकाले यो राहतले मूल्यबृद्धिका लागि तिरेको रकम भने कभर नहुने देखिएको छ ।

त्यस्तै भर्मोन्टका गभर्नरले २५० देखि २७५ डलरसम्मको राहत चेक पठाउने प्रस्ताव अगाडि सारेका छन् । क्यालिफोर्नियाका गभर्नरले हरेक गाडीका लागि ४ सय डलरको राहत चेक दिने प्रस्ताव गरेका छन् । एकजनालाई २ वटासम्म गाडीका लागि ८ सय डलरसम्म दिने योजना रहेको छ ।
हवाईका गभर्नरले एकजनालाई १ सय डलरका दरले राहत चेक दिने प्रस्ताव गरेका छन् । जस अनुशार ४ जनाको परिवारले ४ सय डलर पाउनेछ । आइदायोका गभर्नरले एउटा व्यक्तिले ७५ डलरसम्म र ४ जनाको परिवारले ३ सय डलरसम्म करमा छुट पाउने बिलमा हस्ताक्षर गरिसकेका छन् । इन्डियानाका बासिन्दाले सन् २०२२ मा ट्याक्स फाइल गर्दा हरेकले १२५ डलर पाउनेछन् ।
मिनेसोटाका गभर्नरले हरेक दम्पत्तिलाई १ हजार डलरसम्मको आयकरमा राहत प्रदान गर्ने योजना ल्याएका छन् । न्युजर्सीका गभर्नरले १ मिलियन परिवारलाई ५ सय डलरसम्म राहत चेक दिने योजना ल्याएका छन् । न्यु मेक्सिकोका गभर्नरले एकललाई २५० डलर र दम्पत्तिलाई ५ सय डलरसम्म रिबेट चेक दिने बिलमा हस्ताक्षर गरेका छन् ।
न्युयोर्ककी गभर्नरले सम्पत्ति करमा छुट कार्यक्रम अन्तरगत १ बिलियन डलरको कार्यक्रम प्रस्ताव गरेकी छिन् । न्युयोर्क सिटीभन्दा बाहिर बस्नेले सम्पत्ति करमा ९७० डलरसम्म पाउनेछन् । भर्जिनियामा २५० देखि ३ सय डलरसम्म राहत चेक दिने बिल पारित हुने अपेक्षा गरिएको छ ।






