युक्रेन भन्छ,’रुसले युद्धविरामको उल्लङ्घन गर्यो, एक घण्टा पनि रोकिएन आक्रमण,जनता मारिरहेका छन्’
प्रकाशित मिति : फाल्गुन २१, २०७८ शनिबार
रुस र युक्रेनबीचको युद्ध अहिले ११ औं दिनमा प्रवेश गरेको छ । रुसी सेनाले युक्रेनको राजधानी किभको उत्तरपश्चिमी सहरहरूमा आक्रमण जारी राखेको छ । बीबीसीका अनुसार युक्रेनी अधिकारीहरु नागरिकहरुलाई यहाँबाट सुरक्षित स्थानतर्फ सर्ने प्रयास गरिरहेका छन् । मानिसहरु पैदल या कुनै पनि माध्यमबाट अत्यावश्यक सामान बोकेर बाहिर निस्कन खोजिरहेका छन् ।
कतिपयले रुसी सेनाले राजधानी किभतर्फ अघि बढ्ने प्रयास गरिरहेको र शनिबार राति लगातार गोलाबारी भइरहेको बताएका छन् । इरपिन सहर होस्टोमेल एयरपोर्ट नजिकै छ, जसमा केही दिन अघि रुसी सेनाले आक्रमण गरेको थियो। यो युक्रेनी राजधानीतर्फ बढ्दै गरेको रुसी सेनाको काफिलेको मार्गको नजिक पनि छ।
युद्धविराम उल्लंघनको आरोप
मारिउपोल र भोल्नोभान्खा सहरबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास असफल भएको छ। युक्रेनी अधिकारीहरूले युद्धको दशौं दिन शनिबार अस्थायी युद्धविराम लगाइएको बताएका छन्, तर रुसी सेनाले आधा घण्टाभन्दा कम समयका लागि आक्रमण रोकेर हजारौं मानिसहरूको स्थानान्तरण प्रक्रियामा बाधा पुर्याएको छ।

युक्रेनले रुसले मारियुपोल र भोल्नोभान्खामा युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । मारियुपोलका उपमेयर साग्रेई ओरोभले भने ‘रुसी सेनाले आधा घण्टाभन्दा कम समयको लागि आक्रमण रोके र त्यसपछि फेरि गोलाबारी सुरु गर्यो।’
मानिसहरूलाई बाहिर लैजानका लागि बनाइएका बसहरूमा आक्रमण भएको उनले आरोप लगाए। उनले भने, ‘रुसी सेनाले सहर ध्वस्त पार्दै युक्रेनका जनतालाई मारिरहेका छन्। हामीले सडकमा रहेका सबै शवहरू पनि उठाउन सकेनौं। यो युद्धमा अहिलेसम्म कति मानिस मारिएका छन् भनी सोधेमा म भन्छु। मलाई थाहा छैन। हामी सडकमा परेका सबै शवहरू उठाउन सक्दैनौं, राष्ट्रपति पुटिन र रुसी सेनाले प्रत्येक घण्टा र दिनहुँ शहरलाई क्षति पुर्याइरहेका छन्। त्यहाँ कुनै पनि भवन सुरक्षित छैन।’
‘नर्क जस्तो अवस्था’
मारिउपोलबाट बाहिर निस्कन सफल एक बासिन्दाले भने सहरको अवस्था ‘नरक जस्तो’ थियो।’ मारिउपोल युक्रेनको मुख्य बन्दरगाह सहर हो, जुन रुसी सेनाको घेराबन्दीमा छ। विगत केही दिनदेखि यहाँ न बिजुली छ न खानेकुरा । प्राप्त समाचार अनुसार यहाँ औषधिको पनि ठूलो अभाव छ ।
योसँगै भोल्नोभाङ्खा सहरमा पनि रुसी आक्रमणमा ठूलो क्षति पुगेको खबर प्राप्त भएको छ । रुसले आफ्नो सेना अब पूर्वतर्फ पनि अघि बढेको बताएको छ । सेनाले डोनबासतर्फ सात किलोमिटर अगाडि बढ्न सफल भएको र यसबीच बाटोमा रहेका सहर र सहर कब्जा गरेको बताइएको छ ।






