अनेकतामा एकताको विशिष्ट उदाहरणः मिथिलाको मध्यमा परिक्रमा


प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार

– अजयकुमार साह

मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्ने छ ।

अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा फागुन प्रतिपदामा सुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि महात्म्यमा उल्लेख छ ।

नेपालका कुनाकाप्चा तथा भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सहभागी हुने गर्दछन् । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालुहरू श्री मिथिलाबिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जोकोहीलाई मोहित पार्छ । सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारै दिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिन्दू धर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षोडशोपचार पूजाको अङ्ग मानिएको छ । वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ । यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्था अनुरूप मिथिला परिक्रमाअन्तर्गत १ सय ३० किलोमिटरको क्षेत्रमा पदयात्रा गरिन्छ । परिक्रमामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ । अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नाङ्गै खुट्टा पदयात्रामा सामेल हुनेहरू ब्रह्मचर्य जीवन पालन गर्नुपर्ने हुन्छ ।

इतिहासकारका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जङ्गल थियो । हाल बस्ती रहेको छ । अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उहाँका शिष्य लाडली शरणले सो जिम्मेवारी सम्हाले । उहाँ कचुरी मठका महन्त थिए । त्यसैबेलादेखि परिक्रमाको मूल डोला कचुरी मठबाट सुरु हुने परम्पराको थालनी भएको हो । परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द हुन गएकामा विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरितममा उल्लेख गरिएको छ ।

यो परिक्रमाको डोला धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मिथिलाबिहारी मठबाट उठेर हनुमाननगरमा राति बास बस्दछ । त्यहाँ नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान् सीतारामको पूजनपछि हनुमानमूर्तिको दर्शन र आशीष लिने चलन छ । परिक्रमामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ । परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत बिहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ । भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बास बस्ने र अन्य दिनझैँ भक्तिभावमा लीन हुने चलन छ ।

प्राचीन समयमा जानकीमाता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ । गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकीमाताको विवाहमा मटकोर गरिएको ठाउँले ख्यातिप्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाटसमेत श्रद्धालु आउने गर्छन् । मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउँमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ ।

यहाँबाट ध्रुर्वको तपोभूमि धुर्वकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउँ इच्छावती गङ्गा र विरजा गङ्गाको सङ्गमस्थल रहेको छ । इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो । कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ । यो स्थान पाँच पर्वतको सङ्गमस्थल रहेको छ । परवताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ ।

दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालुहरू बास बस्छन् । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ । त्यसपछि औरही, करूणा हुँदै पुनः कल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तगृह परिक्रमा गरी मेला सम्पन्न हुन्छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com