अमेरिकाका राज्यहरुबाट रसियन भोड्का बेचविखनमा रोक लगाउने आव्हान
प्रकाशित मिति : फाल्गुन १५, २०७८ आईतबार
रसियाले युक्रेनमाथि हस्तक्षेप गरेको विरोधमा अमेरिकाका राज्यहरुले रसियन मदिरा बेचविखनमा रोक लगाउने आव्हान गरेका छन् । ओहायो, युटाह र न्यु ह्याम्पशायरका अधिकारीहरुले मदिरा पसलहरुलाई रसियन मदिरा हटाउन आव्हान गरेका छन् ।
युटाहका गभर्नर स्पेन्सर कोक्सले शनिबार राज्यभरका मदिरा पसलहरुलाई रसियन मदिरा हटाउन आव्हान गरेका थिए । रसियाले युक्रेनमा गरेको हस्तक्षेपले मानव अधिकारको उल्लंघन गरेको भन्दै रसियन मदिरा बेच्न रोक्नुपर्ने उनले उल्लेख गरेका थिए ।
त्यस्तै न्यु ह्याम्पशायरका गभर्नरले पनि त्यस्तै प्रकारको घोषणा गरेका थिए । उनले पनि मदिरा पसलहरुलाई रसियन ब्राण्डका मदिरा हटाउन आव्हान गरेका छन् । ओहायोका गभर्नरले पनि राज्यका ५ सयभन्दा धेरै मदिरा पसललाई रसियन भोड्काको किनबेच बन्द गर्न आव्हान गरेका छन् ।

अमेरिकामा राज्यहरुले गरेको यो विरोधलाई सांकेतिक रुपमा लिइएको छ । किनभने रसियन ब्राण्डका कैयन मदिराहरु अमेरिका लगायतका अन्य देशमा समेत उत्पादन हुँदै आएका छन् ।
कतिपय बार संचालकहरुले स्टोली भोड्का हटाएपनि यो नामलेमात्र रसियन रहेको छ । यो भोड्का लाटभियामा बन्दै आएको छ भने कम्पनीको मुख्यालय लक्जेम्बर्गमा रहेको छ । लक्जेम्बर्ग नेटो सदस्य राष्ट्र हो, जसले रुसले गरेको हस्तक्षेपको विरोध गर्दै आएको छ । यो भोड्का उत्पादक स्टोली ग्रुपले पनि युक्रेनमाथि भएको रसियन हस्तक्षेपको निन्दा गरेको छ ।
त्यस्तै स्मीर्नअफ भोड्का पनि बेलायती रक्सी उत्पादक कम्पनी डिएगोकोमा माताहतमा उत्पादन हुँदै आएको छ । र, यसको उत्पादन अमेरिकाको इलिनोयमा हुँदै आएको छ । अमेरिकामा रसियामा नै बनेको भोड्काको बेचबिखन भने निकै कम हुँदै आएको छ । रसियामै बनेको भोड्का अमेरिकामा १ प्रतिशतभन्दा पनि कम बेचबिखन हुँदै आएको छ ।
अमेरिकामा खपत हुने आधा प्रतिशतभन्दा धेरै भोड्का अमेरिकामा नै उत्पादन हुँदै आएको छ । रसियाबाटै अमेरिकामा भोड्काको आयात भने ७ बर्षमा निकै कम भएको छ । सन् २०११ को तुलनामा त ७९ प्रतिशतले घटेको छ ।





