पशुपति क्षेत्रका अस्थायी टहरा व्यवस्थित गर्न १५ दिनको अल्टिमेटम


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

 

पूर्णप्रसाद मिश्र / पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवं टहरा राखिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । जसका कारण विश्वका विभिन्न भागबाट आउने तीर्थयात्री एवं पर्यटकका माध्यमबाट विश्वभर सकारात्मक सन्देश प्रवाह हुनसकेको छैन ।

भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकमासमेत यसले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको छ । पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिइ सञ्चालित पसल एवं बसोबासका लागि बनाइएका अस्थायी टहरा र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजासामग्री पसल, पूजा भाँडा पसल पनि हटाएर व्यवस्थित गर्न कोषले सुचित गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पसल सञ्चालकसँग कोषले यसअघि गरेको सहमति बमोजिम निर्माण गरेको स्थायी संरचनामा गोलाप्रथाबाट छनोट गरी व्यवसाय गर्न दिइने कोषका सदस्य सचिव डा मीलनकुमार थापाले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रबाट व्यवसायीलाई हटाउन नभइ व्यवस्थित गर्न लागेको उहाँले सुनाउनुभयो । पशुपति क्षेत्रलाई आकर्षक धार्मिक गन्तव्यका रुपमा विकास गर्न कोषले अव्यवस्थित संरचना हटाएर व्यवस्थित, सफा सुग्घरस्थलका रुपमा विकास गर्न लागेको हो । पशुपति क्षेत्रलाई प्रदूषणमुक्त बनाउन गत असोज महिनाको पहिलो शनिबारदेखि स्वच्छ पशुपति अभियान सुरु गरिएको छ । अभियानमा कलाकार एवं स्थानीयवासीको सहभागिता जुट्ने गरेको छ ।

स्थायी संरचनामा कोषको सार्वजनिक खरिद महाशाखासँग समन्वय गरेर पसल सञ्चालनका लागि गोलाप्रथाबाट छानिएकाले सामान सारेर व्यवसाय गर्न सक्नेछन् । हाल गोलाप्रथाबाट नछानिनेका लागि आवश्यकता र औचित्यका आधारमा पसल उपलब्ध गराउँदै जाने योजना बनाइएको कोषले जनाएको छ ।

कोषले जारी गरेको सूचनाअनुसार १५ दिनभित्र पसल नसार्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने भएको छ । १५ दिनभित्र नहटाइने पसल एवं सामान कोषले आफै हटाउने तयारी गरेको छ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पनि सम्बन्धित पसल सञ्चालकले नै लिनुपर्ने छ ।

कोषले घर टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्न पैदलयात्रीलाई असर गर्ने गरी राखिएका पाली एवं टहरा, नाङ्ले पसलसमेत १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । यसअघि पनि कोषले यस्तो सूचना प्रकाशन गरेकामा कोरोना महामारी फैलिएका कारण कार्यान्वयन हुनसकेको थिएन ।

यसपटक भने कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले गत हप्ता पशुपति क्षेत्रको अवलोकन गरी व्यवस्थित गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभएकाले कार्यान्वयन हुन लागेको हो ।

पशुपति क्षेत्रमा यसअघि गोलाप्रथाबाट १९९ जनालाई फूलपसल राख्ने अनुमति दिइएको थियो । पछि केही व्यवसायी थपिएपछि हाल त्यहाँ करिब २५० फूलपसल छन् । फूलपसल व्यवस्थित गर्न कोषले ६४ वटा पसल राख्न मिल्ने गरी स्थायी भवन निर्माण गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यो भवनमा गोलाप्रथाबाट ६४ पसल छान्ने तयारी कोषले गरेको छ ।

व्यवस्थित गर्ने क्रममा बाँकीलाई भने नयाँ संरचना निर्माण हुँदा अवसर दिने नीति कोषले लिएको छ । कोषले विसं २०५८ मा पशुपति क्षेत्रबाट विस्थापित भएकाका लागि उपहार पसल सञ्चालनका लागि पनि स्थायी संरचना निर्माण गरेको थियो ।

पशुपति क्षेत्रलाई खुला गर्ने क्रममा जग्गा अधिग्रहण गरेको परिवारलाई उपहार पसल चलाउन प्राथमिकताका साथ राखिएको थियो । उपहार पसलका रुपमा २६ वटा पसल सञ्चालनमा छन् । भत्केका घरका सटरमा पसल चलाउनेलाई पनि उपहार पसल चलाउन प्राथमिकताका साथ राखेको कोषले जनाइएको छ ।

पशुपति क्षेत्रमा सुधार अभियानलाई निरन्तरता दिने तयारीसमेत गरिएको छ । यस क्षेत्रका जीर्ण भवन, पाटी पौवालाई सुधार गरेर अघि बढाइने तयारी भएको छ । भक्तजनलाई पशुपति क्षेत्रमा जाऔँ–जाऔँ लाग्ने गरी व्यवस्थित गर्न लागिएको सदस्य सचिव थापाले सुनाउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com