कोरोनाविरुद्धको खोप लगाउन मान्दैनन् चेपाङ


प्रकाशित मिति : पुस २८, २०७८ बुधबार

नारायण अधिकारी/  कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । चितवन जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ ।

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ । त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन् ।

राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो । चेपाङ समुहदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने उहाँको भनाइ छ ।

अठार वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन् । यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरु गर्ने गरेका छन् । उहाँले भन्नुभयो “पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।”

यस्तै इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ । विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ । ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन् । यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो सङ्ख्या बढ्ने छ । चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो ।

यस्तै खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो सङ्ख्यामा चेपाङ समुदाय रहेको बताउनुभयो । यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरु सहभागी नभएको सकेको कार्यालयले जनाएको छ । महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको सङ्ख्या ठूलो छैन । उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो ।

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन् । छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम भएको हो । उहाँले भन्नुभयो, “चेपाङको बसोबास बढी सङ्ख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन् ।”

चेपाङ सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् ।” कोरोना खोप लगाएपछि प्रजनन्मा समस्या हुने डर चेपाङमा देखिएको उहाँले बताउनुभयो । कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको उहाँले बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ । विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् ।

चेपाङ सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको बताउनुभयो । खोप केन्द्र आसपास बसोबास गर्नेहरुले मात्रै खोप लगाएको जनाउँदै उहाँले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको बताउनुभयो । यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरुपमा सम्पर्कमा नआउने भएकाले पनि सङ्ख्यामा कमी आएको हुनसक्ने उहाँको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उहाँको भनाइ छ । तिवारीले भन्नुभयो, “हरेक वडामा स्वास्थ्य सङ्स्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहानु समुदायको कमजोरी हो ।”

कार्यालयका अनुसार जिल्लामा हालसम्म तीन लाख ७० हजार ५४४ ले खोप लगाएका छन् । पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ ले, भेरोसेल दुई लाख ३७ हजार ६०२ ले, एष्ट्राजेनिका ५१ हजार ९६२ ले, फाइजर बायोएनटेक एक हजार ८६७ ले र जोन्सन ३८ हजार ६७० ले लगाएका छन् ।

यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ ले, भेरोसेल एक लाख ९६ हजार ७२९ ले, जोन्सन ३८ हजार ६७० जले र फाइजर बायोएनटेक एक हजार ७५७ ले लगाएका छन् । पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com