टीनएजतिर एनआरएनए, बदलिंदै प्राथमिकता


प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार

 

किशोर पन्थी

आगामी अक्टोबर ११ मा १३ बर्षको हुँदैछ गैर आवासीय नेपाली संघ । अर्थात् बाल्यअवस्था पूरा गरेर एनआरएन अब टीनएजमा प्रवेश गर्दैछ । एनआरएन टीनएजमा प्रवेश गर्दै गर्दा यसका प्राथमिकताहरु  बदलिदै गएका छन् । अहिलेसम्म विशेषत मातृभूमिसँग माग्दै आएको थियो एनआरएनले । नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण लगायत कैयन मागहरु थिए एनआरएनका । ती अब एकहदसम्म पूरा भइसकेका छन् । एनआरएनए संगठन टीनएजर बन्दै गर्दा अब मातृभूमिका लागि दिने बेला आइसकेको छ । त्यसैले अब यो संगठन मातृभूमिबाट लिनेभन्दा धेरै मातृभूमिलाई दिने विषयमा केन्द्रीत हुँदै गएको छ । अमेरिकाको न्युजर्सीको क्षेत्रीय सम्मेलन यसै विषयमा केन्द्रीत छ ।

सन् २०२० र त्यसपछिको एनआएन

सन् २०२०मा अर्थात् अबको चारबर्षमा एनआरएनए १७ बर्ष पूरा गरेर १८ बर्ष लाग्नेछ । अर्थात् परिपक्व हुनेछ । १८ बर्ष लाग्नासाथ नेपालका लागि ठोस रुपमा के दिन सकिन्छ ? भन्ने सन्दर्भ नै यतिबेलाको एनआरएनएको जल्दोबल्दो सन्दर्भ हो । १८ बर्ष पुग्नासाथ मातृभूमिका लागि ठोसरुपमा काम गर्नका लागि यो चारबर्षमा तर्जुमा गर्नुपर्ने योजनाका बारेमा यतिबेला एनआरएन नेताहरु ब्रेनस्ट्रोमिङ गरिरहेका छन् । फलस्वरुप न्युजर्सी सम्मेलनको नारा नै भिजन २०२० एण्ड वियोण्ड तय गरिएको छ ।

एनआरएनए संगठन स्थापना गर्दा जुन अवस्थामा थियो, अब त्यो अवस्थामा छैन । केही उपलब्धीहरु हासिल भएका छन् भने केही चुनौतीहरु थपिएका छन् । प्राप्त उपलब्धीहरुको रक्षा, चुनौतीको सामना र आगामी दिनका लागि ठोस कार्ययोजना तय गर्नु नै एनआरएनएको अहिलेको मुख्य जिम्मेबारी बनेको छ ।

एनआरएनका चुनौती

एनआरएनका पूर्व अध्यक्ष जीबा लामिछानेले खसोखाससँग भन्नुभयो –‘बिश्वभरि छरिएर रहेका नेपालीहरु बीच बिस्वब्यापी संजालको निर्माण गर्नु र यसबाट नेपालको समग्र विकासमा गैरआवासीय नेपालीहरुले सामुहिक रुपमा योगदान गर्न सक्ने सम्भावनालाई उजागर गर्नु एनआरएनएको मुख्य उपलब्धी हो । त्यस्तै स्वदेशमा सबै बर्गबाट हामीले प्राप्त गरेको रिकग्निसन अर्को उपलब्धी हो । यसबाट हाम्रो जिम्मेवारी झन् थपिएको छ । तर यसका साथसाथै चुनौतिहरु पनि थपिएका छन् । संस्थामा व्यक्तिगत स्वार्थका लागि लाग्नेहरुको प्रवेशबाट बचाउनु पर्ने , सबै जाती, भाषा, राजनैतिक आस्थाका मानिसहरुको साझा संगठनको रुपमा यसलाई निरन्तरता दिने, संस्था भित्र कै गुट उपगुटलाई रोक्नु पर्ने लगायतका चुनौतीहरु छन् । साथै संस्थाको आर्थिक स्थायित्व अर्को महत्वपूर्ण चुनौती हो ।’

त्यस्तै एनआरएनका वर्तमान अध्यक्ष शेष घले भन्नुहुन्छ –‘आजसम्म हामीले जेजति उपलब्धी हासिल ग¥यौं । त्यसैमा चित्त बुझाएर, विगतका उपलब्धीहरुप्रति गौरवमात्र गरेर बस्ने अवस्था छैन । हाम्रा अगाडि अथाह सम्भावना र विशाल चुनौती दुबै छन् । त्यसैले हाम्रा आगामी कदम पनि विगतमा जस्तै बुद्धिमतापूर्ण हुनुपर्छ । महत्वकांक्षी हुनुपर्छ । र विवेकशिल हुनुपर्छ । संस्थाप्रतिको अपेक्षा र भरोसा कैयन गुणा बढेको छ । परोपकारी काम र लगानीको विषय होस् वा कम्युनिटीको सेवाका सन्दर्भमा होस्, यसलाई हल्का रुपमा लिइयो भने दुर्घटना हुनसक्छ । त्यसैले अब गैरआवासीय नेपाली संघलाई पुनसंरचना गर्न जरुरी छ । जे लक्ष्य र जिम्मेबारी लिन खोजिएको छ । त्यसलाई पूरा गर्न चुनौती बाँकी नै छ ।’

के थिए विगतका लक्ष्य ?

नेपालीका लागि नेपाली भन्ने नारासहित अगाडि बढीरहेको छ एनआरएनए संगठन । त्यसका लागि एनआरएनले केही रणनीतिक लक्ष्यहरु तय गरेको थियो । नेपालबाहिर रहेका नेपालीका अधिकार र रुचीका विषयलाई संरक्षण र प्रबद्र्धन गर्नु, नेपाली डायस्पोराका लागि साझा प्लेटफर्म र विश्वब्यापी संजालको निर्माण गर्नु, नेपालको आर्थिक र सामाजिक विकाशका लागि वैदेशिक लगानी लगायत एनआरएनको लगानीलाई आकर्षित र सहजिकरण गर्नु, नेपालको पर्यटन प्रवद्र्धन एवं नेपाली संस्कृति र सम्पदालाई विश्वब्यापी रुपमा संरक्षण गर्नु, नेपालको सामाजिक आर्थिक विकाशका लागि ज्ञान, क्षमता, पूजी लगायत अरु श्रोतहरुको परिचालन गर्नु नै एनआरएनका मुख्य रणनीतिक लक्ष्यहरु थिए ।

त्यो बाहेक एनआरएनएले अन्य केही उद्देश्यहरु पनि तय गरेको थियो । एनआरएनए संगठनलाई आर्थिक रुपमा समृद्ध बनाउने र संस्थागत गर्ने, नेपाली नागरिकताको निरन्तरता, नेपाली कामदारहरुको अधिकारका लागि सघाउने, सामाजिक गतिविधिमा संलग्नता बढाउने, एनसीसीहरुको संजाल बढाउने, विदेशमा रहेका नेपाली युवाबीच नेटवर्क र सम्बन्ध विस्तार गर्ने, नेपालमा लगानीको विषयलाई प्रवद्र्धन गर्ने, नेपालमा लगानीमैत्री वातावरण र नीति बनाउनका लागि सरकारसँग समन्वय कायम गरेर अगाडि बढ्ने, नेपाललाई एनआरएनमार्फत विश्वब्यापी रुपमा प्रचार गर्ने लगायत रहेका थिए ।

एनआरएन अध्यक्ष घलेले खसोखाससँग भन्नुभयो –‘हाम्रा उद्देश्यहरुमा परिवर्तन ल्याउन जरुरी छ । कतिपय ठाउँमा हटाउन पर्ने कुराहरुलाई हटाउन जरुरी छ । परिवर्तन गर्नुपर्ने कुराहरुलाई परिवर्तन गर्न जरुरी छ । थप्न पर्ने कुराहरुलाई थप्न जरुरी छ । १३ बर्ष अगाडि तय गरिएका कतिपय लक्ष्य पूरा भइसकेका छन् । पूरा भइसकेका लक्ष्यलाई टिकमार्क गरेर अर्को स्टेपमा अगाडि बढ्न जरुरी छ । अब एनआरएनएका लक्ष्यहरु पुनरावलोकन गर्न जरुरी छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com