न्युयोर्कमा नेपालीबाट संचालित मनी ट्रान्सफर लुटपाट गर्ने व्यक्ति अझै फरार, अनुसन्धान जारी


प्रकाशित मिति : पुस १४, २०७८ बुधबार

न्युयोर्कमा नेपालीबाट संचालित मनी ट्रान्सफरमा हजारौं डलर लुटपाट गर्ने व्यक्ति अझै फरार रहेको न्युयोर्क प्रहरीले जानकारी दिएको छ । डिटेक्टिभ एनेट शेल्टनले खसोखासलाई दिएको जानकारी अनुशार अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । शेल्टनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

पब्लिक इन्फर्मेशन डेपुटी कमिश्नर डिटेक्टिभ एनेट शेल्टनले भनेका छन् – ‘डिसेम्बर २७ सोमबार दिउसो २ बजेर १० मिनेटजाँदा ७२८० ब्रोडवेमा डकैतीको उजुरी रिपोर्ट फाइलमा रहेको छ । अपरिचित व्यक्तिले उक्त स्थानमा पसेर हतियार देखाएर रकम मागेको तथा नगद, वालेट, फोन र अन्य सामानहरु लिएर फरार भएको प्रहरीमा रिपोर्ट गरिएको छ । अहिलेसम्म कोही पक्राउ परेका छैनन् भने अनुसन्धान जारी छ ।’

एक प्रत्यक्षदर्शीले खसोखासलाई बताए अनुशार बन्दुकसहित प्रवेश गरेको लुटेराले मनी ट्रान्सफरमा रहेको रकम र त्यहाँ पुगेका ग्राहकको रकम समेत लुटेको थियो ।

मनी ट्रान्सफरमा रहेको झण्डै २१ हजार डलर र त्यहाँ पुगेका ग्राहकहरुको झण्डै २ हजार डलर गरी कम्तीमा २३ हजार डलर लुटपाट भएको प्रत्यक्षदर्शीले बताएका थिए । उनका अनुशार लुटेराले स्टोरमा प्रवेश गर्ने बित्तिकै बन्दुक निकालेर सबैलाई तल झुक्न भनेको र एकजना नेपालीले राम्रोसँग नबुझ्दा उनको टाउकोमा बन्दुकको कुन्दाले हानेको थियो ।

लुटेरा झण्डै ५ मिनेटसम्म घटनास्थलमा उपस्थीत थियो । लुटेरा बाहिर निस्केको केहीबेरपछि प्रहरीलाई खबर गरिएको थियो । उक्त तलामा अरु स्टोरहरु समेत रहेपनि लुटेराले मनी ट्रान्सफरलाईमात्र निशाना बनाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com