डोजर र स्काभेटरले नासिँदै प्राकृतिक सम्पदा, उजाडिँदै बस्ती !


प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार

डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् ।

एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती,गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का नासिएर अहिले देखिन/भेटिन छोडेका छन् । गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इन्जिनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौं पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएर गए पनि यिनको संरक्षणका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयको भनाइ रहेको छ ।

विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्क नगरिकन जथाभावी खनिएका मोटरबाटोका कारण म्याग्दीको बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिएका पाइएको छ ।यस्ता प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क अध्यावधिक गर्ने कुनै निकाय नभएता पनि स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा पहिला भएका र अहिले नरहेका यस्ता सम्पदाको बल्ल जानकारी लिन सुरु गरेका छन् ।

स्थानीय तहका अनुसार ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर, सत्तल, देवल, थुम्का, चौतारी, पोखरी, पाटीपौवा र धारा कुवाजस्ता सम्पदा विगत १० वर्षयता नामेट हुने अवस्थामा पुगिसेका छन् । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय पाटी, पौवा, सत्तल, देवल, धारा, कुवा र चौतारी पोखरी भत्काइएको वा पुरिएको बेनीका दण्डपाणि उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको नामबाट जुन विनास भएको छ त्यसले दीर्घकालसम्म अपूरणीय क्षति पु¥याइरहने छ । सडकको नाममा डोजरले खेतका गरा,कान्ला र उर्बर जमिन मात्रै भत्काएको छैन आफ्ना पुर्खाको कीर्ति, संस्कृति, सभ्यता र हाम्रो परम्पराको जग पनि हल्लाएको छ, यसले हाम्रो ग्रामीण सौन्दर्य पनि खोसिदिएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइसे चौबिसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देवल, मठ, थुम्का, सत्तल, चौतारी, पोखरी, कुवा र इनार अहिले खण्डहरमा परिणत भएका स्थानीयले बताएका छन् । ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले बनाएको फूलपाती चौतारी, डम्मरा चौतारी, गौडालाउने चौतारी, लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल, हाँडेभिर पश्चिमको पाती चढाउने थुम्कोलगायत दर्जनौँ ऐतिहासिक, पुरातात्विक र प्राकृतिक सम्पदा नासिएका बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्यायले बताउनुभयो ।

त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरीको पनि अस्तित्व सङ्कटमा परेको छ । मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com