पेपल चलाउनेलाई ट्याक्सको नयाँ नियम, ६ सय बढीको कारोबार आइआरएसमा रिपोर्ट
प्रकाशित मिति : कार्तिक २४, २०७८ बुधबार
पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमार्फत भएको आम्दानी पनि अब आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएको छ । जनवरीदेखि लागु हुने नयाँ नियम अनुशार अब विद्युतीय पेमेन्ट नेटवर्क मार्फत भएका आम्दानीबारे आईआएसमा रिपोर्ट गर्नुपर्नेछ ।
बर्षमा ६ सय वा त्योभन्दा बढी कारोबार भएको खण्डमा पेपलले प्रयोगकर्ताको व्यवसायिक कारोबार आईआरएसलाई जानकारी दिनेछ । कुनै बस्तु वा सेवामार्फत लेनदेन गरिएको रकमलाई व्यवसायिक कारोवारका रुपमा परिभाषित गरिएको छ ।
यस अगाडि पेपल प्रयोगकर्ताको व्यवासयिक कारोबार बर्षमा २ सयपटक भन्दा बढी भएमा र २० हजार डलरभन्दा धेरै भएमा पेपलले फर्म १०९९ के आईआरएसलाई पठाउनुपर्ने प्रावधान रहेको थियो । अमेरिकन रेस्क्यु प्लानमा भएको प्रावधान अनुशार जनवरीबाट नयाँ नियम लागु गर्न लागिएको हो ।

कर तिर्नुपर्ने आम्दानी आईआरएसमा रिपोर्ट हुनबाट छुट्न नदिन यो प्रावधान ल्याइएको हो । यसअगाडि पनि पेपल लगाएका एप्लीकेशनले कारोबारबारे आईआरएसलाई जानकारी नगराएपनि करदाताले सबै आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने प्रावधान रहेको थियो ।
नयाँ प्रावधानले कसैले पेपल वा भेन्मोमा पठाएको उपहार लगायतका रकमलाई भने करको दायरामा राख्दैन । उदाहरणका लागि कुनै रेष्टुरेण्टमा डिनर गर्दा तपाईले बिल तिर्नुभयो र त्यसको आधा रकम साथीले तपाईलाई पेपल वा भेन्मोमा पठाएको खण्डमा पनि त्यसको कर तिर्नुपर्दैन । तर कुनै कम्पनीबाट सेवा र सामाग्रीवापत रकम आएको छ भने त्यसको कर तिर्नुपर्नेछ ।
आगामी केही महिनामा पेपलले आफ्ना प्रयोगकर्ता समक्ष उनीहरुको सोसल सेक्युरिटी नम्बर, व्यक्तिगत ट्याक्स आईडी नम्बर वा कम्पनी भएको खण्डमा कम्पनीको एनआईएन नम्बर माग्नसक्ने जनाएको छ । उक्त विवरण पहिले नै नबुझाएका प्रयोगकर्ताले यो विवरण पेपल लगायतका पेमेन्ट एप्लीकेशनलाई बुझाउनुपर्नेछ ।





